अमेरिकाका विभिन्न सहरमा नेपाली कला र संस्कृति प्रर्वद्धन गर्ने उद्देश्यले सांगीतिक तथा हास्य व्यङ्यात्मक कार्यक्रम हुने भएको छ।
आइतबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा 'अब गाउँछ अमेरिका', 'अब हाँस्छ अमेरिका' र 'अब सुन्छ अमेरिका' कार्यक्रम आउँदो वर्ष सन् २०२५ को फेब्रुअरी तथा अप्रिल महिनामा हुन लागेको जानकारी दिइएको हो।
आयोजक फ्लाइ नेपाका अध्यक्ष विनोद अधिकारीले अमेरिकाका विभिन्न सहरमा कार्यक्रम गरिने बताए।
उनले भने,'यस अगाडि गरिएको कार्यक्रमले हामीलाई हौसला मिलेको हो। हामी यसलाई अझै सभ्य र भव्य रुपमा गर्ने तयारीमा छौं।'
'अब गाउँछ अमेरिका' अन्तर्गत गायक बद्री पंगेनी, प्रताप दास, गायिका कला लम्साल, एलिना चौहान, 'अब सुन्छ अमेरिका' अन्तर्गत कवि प्रदीप रोदन र साइग्रेस पोखरेलले आफ्नो प्रस्तुति दिनेछन्। यस्तै, 'अब हाँस्छ अमेरिका २' मा मिस पवि, पवन खतिवडा, सुजिता श्रेष्ठ लगायतले प्रस्तुति दिने आयोजकले जनाएको छ।
गायिका लम्सालले आफू लगायत सम्पूर्ण कलाकारहरूले प्रस्तुतिको तयारी गरिरहेको बताइन्। उनले भनिन्, 'हामीले अन्य स्थानमा गरिरहेको प्रस्तुति भन्दा फरक तयारी गरिरहेका छौं। यसपटक हामीसँगै दर्शकलाई नचाउन तयारी गरिरहेका छौं। यो सांगीतिक यात्रा रमाइलो र रमणीय हुनेमा विश्वस्त छौं।'
आयोजकका अनुसार अमेरिकाका न्युयोर्क, वासिङ्टन डिसी, ओहायो, कोलोराडो, बोस्टन, पेन्सेल्भेनिया, सिकागो र क्यालिफोर्निया लगायतका सहरमा कार्यक्रम हुनेछ।
फ्लाइ नेपाले यसअघि पनि 'अब नाच्छ अमेरिका' र 'अब हाँस्छ अमेरिका' कार्यक्रम सम्पन्न गरिसकेको छ।