अभिनेता सलोन बस्नेतको फिल्म 'रंगी' जापानमा पनि प्रदर्शन हुने भएको छ।
सान्भी इन्टरटेन्मेन्ट प्रालिको व्यानरमा निर्मित फिल्मको जापान अधिकार बिक्री भएको हो।
सलोन बस्नेत प्रस्तुतकर्ता रहेको फिल्मलाई युना इन्टरटेन्मेन्टका लागि उज्जवल गुरागाईंले जापान अधिकार किनेका हुन्। फिल्म आगामी फागुन २ गते भ्यालेन्टाइन डेको अवसर पारेर रिलिज हुँदैछ।
सुरेश न्यौपाने निर्देशित फिल्ममा सलोन बस्नेत, नम्रता श्रेष्ठ, दिलीप रायमाझी, आयुषी ढकाल, उत्तम केसी, सुमिन गुरूङ, विशाल पहारी लगायतको अभिनय छ।
प्रस्तुतकर्ता सलोनका अनुसार फिल्मले बाबुछोरीको कथा देखाउनेछ। यो फिल्मबाट सलोनले पहिलो पटक निर्माणमा हात हालेका हुन्।
निर्देशन न्यौपानेले भने 'छक्का पन्जा', 'ए मेरो हजुर २', 'यात्रा', 'म यस्तो गीत गाउँछु २', 'कृ' लगायतका फिल्ममा मुख्य सहायक निर्देशनको रूपमा काम गरिसकेका छन्।
सक्षम सुवेदी र करिश्मा केसी बस्नेतको निर्माण रहेको फिल्ममा सुमन गजमेरको लेखन, सौरभ लामाको छायांकन रहेको फिल्ममा कविराज गहतराज र शिशिर खातीको कोरियोग्राफी छ।