चर्चित सिरियल 'सक्किगोनि' समूहद्वारा निर्माण गरिएको पहिलो कथानक फिल्म 'लाज शरणम्' को अन्तर्राष्ट्रिय वितरण अधिकार (इन्टरनेशनल राइट्स) बिक्री भएको छ। यो फिल्मको भारत बाहेकको अन्तर्राष्ट्रिय वितरण अधिकार सेभेन सिज इन्टरनेशनलले खरिद गरेको हो।
मंगलबार निर्माण कम्पनी जेपिटी क्रिएसनका तर्फबाट अर्जुन घिमिरे ‘पाँडे’ र वितरण कम्पनीका तर्फबाट प्याट्रिक सुवेदीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।
सम्झौताअनुसार, सेभेन सिज इन्टरनेशनलले 'लाज शरणम' लाई दुई चरणमा विभाजित गरी अन्तर्राष्ट्रिय बजारमा वितरण गर्ने योजना बनाएको छ।
वितरक प्याट्रिक सुवेदीले 'लाज शरणम' आगामी फेब्रुअरी २८ र मार्च ७ तारिखमा विभिन्न देशहरूमा प्रदर्शन गरिने जानकारी दिए। कुन–कुन देशमा प्रदर्शन हुने भन्ने विस्तृत जानकारी भने चाँडै सार्वजनिक गरिने सुवेदीले बताएका छन्।
शिवरात्रिको अवसर पारेर आगामी फागुन १४ गते प्रदर्शन हुने तयारीमा रहेको फिल्म नेपालमा भने ब्यांकटेस इन्टरटेनमेन्टले वितरण गर्नेछ।
कुमार कट्टेल 'जिग्री ब्रो' को निर्देशन रहेको फिल्ममा विजय बराल, मुकुन्द श्रेष्ठ, महेश त्रिपाठी, अर्पण थापा, रेणु योगी, विजय लामासँगै सक्किगोनि टिमबाट र्जुन घिमिरे (पाँडे), सागर लम्साल (बले), हरिष निरौला (कक्रोज), प्रियाना आचार्य (मुन्नी), कमलमणी नेपाल (खुपीका बाउ) लगायतका कलाकारको अभिनय छ।
नवीन श्रेष्ठ निर्माता, राम नरेश शाह र श्रीजना खड्का सह–निर्माता रहेको फिल्म सुदीप बरालले छायांकन गरेका हुन्।