पछिल्लो समय थुप्रै नेपाली फिल्मले राम्रो कमाइ गरेका छन्।
दसैंमा प्रदर्शनमा आएका फिल्मले आक्रामक व्यापार गरे। तिहारको अवसर पारेर रिलिज 'पूर्ण बहादुरको सारंगी' अझै हलमा प्रदर्शनरत छ। मंसिर ७ गते रिलिज 'तेल भिसा' पनि हलमा अझै लागिरहेको छ।
तर गत शुक्रबार रिलिज सौगात मल्ल अभिनीत फिल्म 'बम बहादुर' भने एक साता नहुँदै धेरै हलबाट उत्रिसकेको छ। मल्टिप्लेक्स चेन क्युएफएक्सले काठमाडौंभित्रका हलमा फिल्म उतारिसकेको छ। आईएनआई, विग मुभिज, वान सिनेमाजले पनि फिल्म उतारेका छन्।
वितरकका अनुसार बिहीबारसम्म देशभरबाट फिल्मको कमाइ ९ लाख रूपैयाँ हाराहारी मात्रै छ।
जोन राई निर्देशित 'बम बहादुर' दार्जिलिङ क्षेत्रमा बस्ने नेपालीभाषीको कथामा बनेको फिल्म हो। सन् १९८६ मा दार्जिलिङमा भएको गोर्खाल्यान्ड आन्दोलनको पृष्ठभूमिमा रहेर कथा बुनिएको थियो।
फिल्ममा सौगातका साथमा प्रशान्त राई, अनिशा रसाइली, शान्तिला तामाङ लगायत कलाकारहरुको अभिनय छ।