दयाहाङ राई र आँचल शर्मा अभिनीत फिल्म 'दुःखी आत्मा' को जापान वितरण अधिकारी बिक्री भएको छ।
यो फिल्मलाई जापान प्रदर्शनका लागि युएनए इन्टरटेन्मेन्टले राइटस् खरिद गरेको हो। युएनएका प्रमुख उज्ज्वल गुरागाईंले 'दुःखी आत्मा' को जापानमा माग भएकाले खरिद गरेको बताए।
निर्माण टिमले कति रकममा फिल्मको जापान प्रदर्शन अधिकार बिक्री गरेको भन्नेबारे खुलाएको छैन।
दिपेन्द्र लामाको लेखन तथा निर्देशन रहेको 'दुःखी आत्मा' मा दयाहाङ र आँचलसहित अनुप विक्रम शाही, बुद्धि तामाङ, रेअर राई, लोकेन्द्र लेखक, आशान्त शर्मा लगायत कलाकारहरूको अभिनय छ।
नेपालमा फागुन २ गते रिलिज हुन लागेको फिल्मलाई जापानमा पनि सोही मितिमा रिलिज गरिने युएनएले जनाएको छ। क्लक वर्क क्रियशनको ब्यानरमा बनेको फिल्मको निर्माता हिमाल कडरिया हुन्। सुदीप ढकाल कार्यकारी निर्माता रहेको फिल्म आलोक शुक्लाले खिचेका हुन् भने निमेष श्रेष्ठले सम्पादन गरेका हुन्।
फिल्मको अन्य देशबाट पनि माग भइरहेको निर्माता कडरियाले जानकारी दिए। यो फिल्मको केही दिनअघि मात्रै फस्टलुक पोस्टर सार्वजनिक गरिएको थियो।