दयाहाङ राई र विजय बरालको मुख्य अभिनय रहने फिल्म 'वरिष्ठ बलराम' को प्रदर्शन मिति तय गरिएको छ।
निर्माताले टाइटल टिजर सार्वजनिक गर्दै रिलिज मिति घोषणा गरेका हुन्।
सुरेन्द्र पौडेलको निर्देशन रहने फिल्म तिहारको लक्ष्मीपूजाका दिन (कात्तिक ३) मा रिलिज हुने भएको छ। फिल्ममा दयाहाङ र विजयसहित पशुपति राई, समृद्धि अर्याल, माओत्से गुरूङलगायत कलाकारहरूको अभिनय रहनेछ।
नेपाली फिल्म उद्योगका कुशल सम्पादक सुरेन्द्र पौडेलको यो चौथो निर्देशकीय फिल्म हुनेछ। निर्देशक पौडेलकै कथा र सम्पादन रहने फिल्मको पटकथा महेश दवाडीले लेखेका छन्।
वृषभ सिद्धी इन्टरटेनमेन्टको ब्यानरमा फिल्म बन्न लागेको हो। यसको निर्मातामा आशिष एच तामाङ र श्रीराज कार्की छन्।
सामाजिक कथावस्तुमा निर्माण हुने फिल्मको छायांकन एक सातापछि सुरू गर्ने तयारी छ। तराईका विभिन्न स्थानमा छायांकन गरिने फिल्ममा मनकृष्ण महर्जन डिओपी रहनेछ।
फिल्ममा प्रशान्त शिवाकोटीको संगीत, सम्राट शाक्यको एक्सन निर्देशन, प्रदीप लामाको कोरियोग्राफी रहनेछ।
सामाजिक कथावस्तु पस्किने फिल्म सन्देशमूलकसँगै मनोरञ्जनप्रधान हुने निर्माण पक्षले जनाएको छ।