दिनेश राउतको निर्देशनमा बनेको फिल्म 'महाभोज' को टिजर सार्वजनिक गरिएको छ।
मंगलबार सार्वजनिक टिजरमा पैसाले निम्त्याएका पारिवारिक र सामाजिक द्वन्द्वहरूलाई प्राथमिकता दिइएको छ।
टिजरमा शीर्ष अधिकांश कलाकार देखिएका छन्। खगेन्द्र लामिछाने र अञ्जना बराइलीलाई पति–पत्नीको रूपमा देखाइएको छ, जसले पैसाको समस्याका कारण पारिवारिक तनाव खेपिरहेका छन्।
सहकारी संस्थाको अध्यक्षको रूपमा रहेका दयाहाङ राईको पत्नीको भूमिकामा अभिनेत्री गौमाया गुरूङ छिन्। अभिनेत्री मलिका महत एक रहस्यमय भूमिकामा छिन्, जहाँ उनले प्रहरीसँग आफू निर्दोष भएको बयान दिइरहेकी छन्।
अभिनेता आर्यन सिग्देललाई गाउँपालिका अध्यक्षको भूमिकामा प्रस्तुत गरिएको छ, जसले राजनीतिक तहसम्म फिल्मको सन्दर्भलाई विस्तार गरेको देखिन्छ।
निर्देशक राउतका अनुसार, फिल्म पैसाले सिर्जना गर्ने पारिवारिक, सामाजिक र नैतिक दबाबको यथार्थ चित्र हो, जहाँ पात्रहरू आफ्नै अस्तित्व र आत्मसम्मानको लडाइँमा छन्।
फिल्ममा आर्यन सिग्देल, दयाहाङ राई, खगेन्द्र लामिछाने, अञ्जना बराइली, गौमाया गुरुङ, मलिका महत, वसुन्धरा भुसाल, मोहन निरौला, बुद्धि तामाङ, कमलमणि नेपाल, पुष्कर गुरुङ, विनोद न्यौपाने, आभा अर्याल, वीरेन्द्र सिंह कुशवाहलगायतका कलाकारहरूको अभिनय छ।
क्लक वर्क क्रियशन र पिक्चर फ्रेमको संयुक्त ब्यानरमा निर्माण भएको फिल्मको निर्माता हिमाल कडरिया हुन्। कथा तथा पटकथा विकास सुवेदीले लेखेका हुन्। फिल्म जेठ १५ गते रिलिज हुने तयारीमा छ।
नेपालसँगै नेपालीहरू बसोबास गर्ने अधिकांश देशमा फिल्म एकैसाथ प्रदर्शनमा ल्याइने निर्माण पक्षले जनाएको छ।