तिहारको अवसर पारेर बिहीबारदेखि प्रदर्शनमा आएको फिल्म 'सोल्टिनी' का कलाकारहरू दर्शक भेट्न सिनेमा हलमा पुगेका छन्। शुक्रबार बिहानदेखि प्रकाश सपुत, परीक्षा लिम्बु र सुन्दर धितालसहितका कलाकारले विभिन्न हलमा पुगेर दर्शक प्रतिक्रिया लिए।
त्यसक्रममा दर्शकले फिल्म मन परेको बताए। फिल्मको कथावस्तु र कलाकारहरूको अभिनय मन परेको दर्शकले प्रतिक्रिया दिए।
'सोल्टिनी' अन्तरजातीय प्रेमकथामा आधारित फिल्म हो, जसले प्रेम, परम्परा र संस्कृतिको कथा प्रस्तुत गर्छ। यसको निर्देशन अर्जुन सुवेदीले गरेका हुन्।
निर्देशक सुवेदीले दर्शकको प्रतिक्रियाले आफू उत्साहित भएको बताए। उनले भने, 'हिजोको तुलनामा आज राम्रो व्यापार भएको छ। कतिपय शोहरू हाउसफुल पनि भए। दर्शकबाट राम्रो प्रतिक्रिया पाएका छौँ।'
यद्यपि, उनले फिल्मले पाएको शोमा भने गुनासो गरे। कतिपय हलले शो नै नदिएको भन्दै उनले केही दिन समय दिन अनुरोध गरे।
'सोल्टिनी' मा प्रकाश सपुत र परीक्षा लिम्बुसँगै विल्सन विक्रम राई, प्रेम सुब्बा, सुन्दर धिताल, रविन्द्र झा, प्रकाश घिमिरे, कविता आलेलगायतका कलाकारको पनि अभिनय छ।


