फिल्म 'ऊनको स्वीटर' ले यति बेला सिनेमा हलहरूमा राम्रो व्यापार गरिरहेको छ।
वैशाख २६ गते अर्थात गत शुक्रबारदेखि प्रदर्शनमा आएको फिल्मले काठमाडौंसहित देशभरका हलहरूमा दर्शकको साथ पाएको हो।
निर्माण घोषणादेखि नै चर्चामा रहेको फिल्मको टिजर, ट्रेलर र गीत–संगीतले दर्शकमाझ राम्रो 'हाइप' बनाएको थियो।
म्युजिकल फिल्ममार्फत दर्शकको मन जितेको आर्टमाण्डु नेपालको यो पहिलो फिल्म हो। कथानक गीतबाट दर्शकको मन जितेका कारण पनि आर्टमाण्डुको यो फिल्मलाई लिएर दर्शकहरू पहिल्यैदेखि उत्साहित थिए।
विपीन कार्की र मिरूना मगर लगायत कलाकारहरू अभिनीत फिल्मले रिलिजको पहिलो दिनबाटै राम्रो व्यापार गरिरहेको छ।
निर्माताले फिल्मको कमाइबारे आधिकारिक जानकारी दिएका छैनन्। यद्यपि हलमा दर्शकको चाप र आगामी शोको बुकिङको अवस्था हेर्दा फिल्मले राम्रो व्यापार गरिरहेको देखिन्छ।
बुधबार फिल्म रिलिजको छैटौं दिनमा पनि दर्शक अकुपेन्सी सुखद छ। आज पनि कतिपय शो हाउसफुल छन्। यो फिल्ममा दर्शकको उपस्थिति देखेर हलवालाहरू पनि खुसी छन्।
देशकै ठूलो मल्टिप्लेक्स चेन क्युएफएक्सकी महाप्रबन्धक तृप्ति गिरीले 'ऊनको स्वीटर' मा दर्शकको उपस्थिति राम्रो रहेको बताइन्।
'फिल्ममा छैटौं दिनमा पनि अकुपेन्सी राम्रो छ। यो बलियो कन्टेन्ट हो। दर्शकले रूचाउनुभयो भन्ने देखिइसकेको छ,' उनले भनिन्।
'ऊनको स्वीटर' का लेखक तथा निर्देशक नवीन चौहान व्यवसायको कुराले भन्दा पनि दर्शकबाट प्राप्त प्रतिक्रियाले उत्साहित रहेको बताउँछन्।
आर्टमाण्डुका संस्थापक समेत रहेका निर्देशक चौहानले भने, 'व्यवसाय राम्रो हुँदा त्यसले खुसी त बनाउँछ। त्यो भन्दा धेरै खुसी दर्शक हलमा आएर, राम्रो प्रतिक्रिया दिएकामा छौं।'
फिल्मको टिम पनि दर्शक प्रतिक्रिया लिन हल–हलमा पुगिरहेको छ।
यस क्रममा दर्शकले फिल्मको प्रशंसा गरिरहेका छन्। स्तरीय फिल्म हेर्न पाएको र फिल्म हेरिरहँदा 'नोस्टाल्जिया' मा फर्किएको भन्ने प्रतिक्रिया पाइरहेको निर्देशक चौहानले बताए।

यो फिल्मको शो रिलिजको दिनमा भन्दा अहिले धेरै छ।
दर्शकको आकर्षणका कारण हलहरूले शो बढाएका हुन्। फिल्मले अहिलेसम्म कति व्यापार गर्यो? त्यसबारे बिहीबार बेलुका जानकारी दिने तयारी निर्माण पक्षको छ।
पछिल्लो समय फागुनमा रिलिज 'अञ्जिला' ले बक्स अफिसमा राम्रो व्यापार गरेको थियो। त्यसयता चैतमा रिलिज 'पिताम्बर' को व्यापार पनि सुखद थियो। त्यसपछि रिलिज कुनै पनि फिल्मले गतिलो व्यापार गर्न सकिरहेका थिएनन्।
अहिले 'ऊनको स्वीटर' ले हलमा रौनक फर्काउँदा आगामी फिल्मका निर्माता/निर्देशक तथा कलाकारहरू समेत उत्साहित छन्।
'के घर के डेराः घर नं २', 'नरसिंहाः अवतार', 'महाभोज', 'हेल्लो काँशीराम' लगायतका फिल्महरू प्रदर्शन तयारीमा छन्।