अभिनेता राजेश हमालको ८ वर्षपछिको कमब्याक फिल्म 'नरसिंहाः अवतार' को टिकट बुकिङ खुलेको छ। मल्टिप्लेक्स हलहरूले शो तालिका सार्वजनिक गर्दै अग्रिम टिकट बुकिङ खुलाएका हुन्।
देशको सबभन्दा ठूलो मल्टिप्लेक्स चेन क्युएफएक्स सिनेमाजले मंगलबार दिउँसोदेखि बुकिङ खुलाएको छ। दोस्रो ठूलो मल्टिप्लेक्स चेन आईएनआई सिनेमाजमा पनि बुकिङ खुला भइसकेको छ।
अन्य केही हलहरूले पनि बुकिङ खुलाएका छन् भने केहीमा खुलाउने तयारी छ। फिल्मलाई हलहरूले सुखद् शो दिएका छन्।
शुक्रबारदेखि प्रदर्शनमा आउन लागेको 'नरसिंहाः अवतार' प्रेम, परिवार र बदलाको कथा हो। यसमा राजेशलाई शोषण, अन्याय र अन्याचारको विरुद्ध लड्ने नायकको रूपमा प्रस्तुत गरिएको छ।
दिवाकर भट्टराईको निर्देशनमा बनेको फिल्ममा राजेशसहित नीर शाह, सनिशा भट्टराई, नीति शाह, सरोज खनाल, राज कटुवाललगायत कलाकारहरूको अभिनय छ।
राजेशको वर्षौपछिको कमब्याक भएकाले फिल्मलाई चासोका साथ हेरिएको छ। फिल्मको सार्वजनिक ट्रेलरले पनि यतिबेला दर्शकमाझ राम्रो चर्चा पाइरहेको छ।
हलहरूमा वैशाख २६ मा रिलिज फिल्म 'ऊनको स्वीटर' को दबदबा कायमै छ। त्यस्तै अघिल्लो शुक्रबार रिलिज 'के घर के डेराः घर नंं २' सहितका फिल्महरू पनि प्रदर्शनरत छन्।