गतवर्ष १६ वर्षपछि अभिनयमा कमब्याक गरेकी अभिनेत्री विपना थापाले नयाँ फिल्म साइन गरेकी छन्। उनले 'ह्रस्व दीर्घ' निर्देशक चन्द्र पन्तको आगामी फिल्म 'आ बाट आमा' साइन गरेकी हुन्।
विपना थापाले गतवर्ष प्रदर्शनमा आएको 'ह्रस्व दीर्घ’ मार्फत नै फिल्ममा कमब्याक गरेकी थिइन्।
निर्देशक पन्तले केही दिनअघि मात्रै अभिनेत्री थापालाई फिल्ममा अनुबन्ध गरेका हुन्। यी दुईको यो दोस्रो सहकार्य हुनेछ।
फिल्ममा थापाको शीर्ष भूमिका रहने छ। उनैको कथा वरिपरी फिल्मको कथा घुम्नेछ।
निर्देशक पन्तले भने, 'उहाँको नै मुख्य भूमिका हो। क्यारेक्टर पनि एकदमै राम्रो छ।'

उक्त क्यारेक्टर विपना थापालाई नै सुहाउने भएर अनुबन्ध गरेको उनले बताए। अभिनेत्री थापाले पनि यस फिल्मको कथा सुन्दा नै आफूलाई भावुक बनाएको र काम गर्न राजी भएको बताइन्। यो फिल्ममा काम गर्नुको मुख्य कारण पावरफुल कथा नै रहेको उनको भनाइ छ।
अभिनेत्री थापाले भनिन्, 'यो फिल्मको स्टोरी सुन्दा भावुक मात्र होइन। एकदमै रोएँ। यस फिल्मको 'आ बाट आमा' मा राखिने गीत सुन्दाखेरि पनि रोएँ। तपाईं आफैले पनि यो गीत सुन्दाखेरि रूनुहुन्छ। यसअघि प्रदर्शनमा आएको फिल्म 'ह्रस्वदीर्घ' को गीत जति मार्मीक छ नि, त्यो भन्दाबढी मार्मीक गीतहरू यसमा छन्।'
यसअघिको 'ह्रस्व दीर्घ' मा उनले मेयरको भूमिका निर्वाह गरेकी थिइन्। 'आ बाट आमा' को स्क्रिप्ट अभिमन्यू निरवीले लेखिरहेका छन्।
केही दिनअघि फिल्मको थिम पोष्टर सार्वजनिक गर्दै निर्माण घोषणा गरिएको थियो। जहाँ आमाको आँखाबाट खस्न लागेको आँशुलाई बच्चाको हातले अड्याउने कोसिस गरेको थियो। फिल्मले आमा र सन्तानबीचको गहिरो कथा भन्ने जनाइएको छ।
आमाको भूमिकामा विपना अनुबन्ध भएता पनि अन्य कलाकारहरू छनोट हुन बाँकी नै रहेको निर्माण पक्षले जनाएको छ। यो फिल्म आगामी फागुन १५ गतेबाट प्रदर्शनमा ल्याइने घोषणा गरिएको छ। आगामी भदौदेखि छायांकन सुरू गर्ने तयारी छ।