जेनजी पुस्ताले भ्रष्टाचार र बेथितिविरूद्ध खबरदारी गर्न गरेको प्रदर्शन देखाउने टेलिचलचित्र 'नवयुग' सार्वजनिक भएको छ। कलाकारिताका दुई हस्ती नाट्यकर्मी सुनील पोखरेल र हास्यकलाकार सन्तोष पन्तलगायत कलाकारले जागरणमूलक यस्तो टेलिचलचित्र सुरू गरेका हुन्।
टेलिचलचित्र नवयुगमार्फत देशमा भइरहेको भ्रष्टाचार, बेथिति, कुसंस्कार, कुरीति र राजनैतिक नेतृत्वले गरेको बेइमानीविरूद्ध खबरदारी गर्न उनीहरू एउटै पर्दामा उत्रिएका हुन्।
सुनिल पोखरेल लामो समयदेखि चलचित्र र नाटकमा देखिएका थिएनन्। उनले गत भदौ २३ र २४ को युवाहरूको प्रदर्शनपछि पर्दामा आउनुपरेको बताए। युवाहरू परिर्वतन चाहन्छन्। कुशासनको अन्त्य र सुशासनको सुरूआत सम्भव छ। देश युवापुस्तालाई हस्तान्तरण गर्नैपर्छ भन्ने टेलिचलचित्रमार्फत दिन खोजिएको छ। स्वदेशमै केही गर्न सम्भव छ, विदेसिनु हुन्न भन्ने कथाको मूल सन्देश हो।
नेताले देश खाए भन्ने प्रतिबिम्बका रूपमा सन्तोष पन्तले 'धमिरे' को भूमिकाको अभिनय गरेका छन्। सुनिल पोखरेल आदित्य गुरू बनेर समाजलाई सकारात्मक दिशामा लैजान सम्भव छ भन्ने प्रेरणादायी गुरूका रूपमा देखिएका छन्।
टेलिचलचित्रमा दीपक बस्नेतले लेखन तथा निर्देशन गरेका हुन्। टेलिचलचित्र नवयुग दिप क्रियटिभ युट्युब च्यानलबाट प्रदर्शनमा आएको जनाइएको छ।