फ्राइडे रिलिज अन्तर्गत यो साता नेपाली फिल्म 'जन्ते बाख्रो' प्रदर्शनमा आएको छ।
सौगात मल्ल, आसिफ शाह र गरिमा शर्मा अभिनीत फिल्म शुक्रबारदेखि देशभरका हलमा प्रदर्शनमा आएको हो।
गत बुधबार गरिएको प्रिमियरमा 'पूर्ण मनोरञ्जनात्मक र पारिवारिक फिल्म' को प्रतिक्रिया पाएको यो फिल्मलाई प्रदर्शकले उत्साहजनक शो दिएका छन्।
निर्देशक सिमोस सुनुवारले कथासँग मिल्दो नाम राखेर फिल्म बनाएको बताए।
उनले फिल्मबारे भने, 'हाम्रो फिल्मको कथा प्रेम कथानक छ, तर हामीले विषयसँग मिल्दो शीर्षक ‘जन्ते बाख्रो’ राखेका छौं। यसले नयाँ पुस्तालाई शीर्षकप्रति जिज्ञासु बनाउँछ र हाम्रो परम्परासम्म पुर्याउँछ भन्ने विश्वास छ।'
उनले फिल्मको कथावस्तु अनुसार पात्रमा सुहाउँदो कलाकार छनोट गरेको बताए। फिल्म हेर्न आइपुगेका दर्शकबाट राम्रो प्रचार हुनेमा विश्वस्त रहेको समेत उनले बताए। निर्माता सतोष गौतमले फिल्मको वर्ड अफ माउथ राम्रो हुने विश्वास व्यक्त गरे।
'वर्ड अफ माउथ ले हाम्रो फिल्मको राम्रो प्रचार हुन्छ भन्नेमा विश्वस्त छौं। हामीले इमान्दारिताकासाथ बीना सम्झौता फिल्म तयार गरेका छौं,' गौतमले भने।
प्रदीप भारद्वाजको लेखनमा तयार भएको फिल्ममा आसिफ र गरिमासँगै रमा थपलिया, लोकेन्द्र लेखक, कमल देवकोटा, विशाल पहाडी, रूशा न्यौपाने, कुसुम शर्मा, स्नेहा जोशी, समापिका गौतमलगायत कलाकारहरूको अभिनय छ।
'जन्ते बाख्रो' ले गाउँघरको हराउँदै गएको जन्ती परम्परा, टपरी–दुनामा भोज खाने संस्कृति र ग्रामीण चालचलनलाई रमाइलो ढंगले प्रस्तुत गरेको निर्माण पक्षले जनाएको छ।