निर्माण घोषणादेखि चर्चामा रहेको फिल्म 'बलिदान' को निर्माण पक्षले अभिनेता सौगात मल्लको 'क्यारेक्टर लुक्स' सार्वजनिक गरेको छ।
सार्वजनिक पोस्टरमा अभिनेता सौगात एक सशक्त र रहस्यमय अवतारमा देखिएका छन्। झट्ट हेर्दा उनी सौगात हुन् भनेर ठम्याउन गाह्रो पर्छ।
एक पोस्टरमा उनको एउटा आँखा कालो रङको छ। उनले लामो दाह्री, केश र गाढा रङको वस्त्र धारण गरेका छन्।
उनको हातमा एउटा बलिरहेको राँको देखिन्छ। पृष्ठभूमिमा अन्य मानिसहरूको समूह र आगोको ज्वालाहरू पनि देख्न सकिन्छ, जसले फिल्मको कथावस्तु द्वन्द्वात्मक प्रकृतिको रहेको जानकारी दिन्छ। अर्को पोस्टरमा सौगात हातमा हतियार बोकेर लडाइको परिवेशमा देखिएका छन्।
निर्देशक सन्तोष सेन यो फिल्ममा सौगातलाई दर्शकले बिल्कुलै फरक अवतारमा देख्न पाउने र त्यसका लागि उनले धेरै मेहनत गरेको बताए। उनका अनुसार सौगात रूद्रा नामक पात्रको रूपमा देखिनेछन्।
सौगात मल्ल नेपाली फिल्म क्षेत्रमा आफ्नो अभिनय कलाका लागि परिचित छन। उनका हरेक नयाँ भूमिकालाई दर्शकले निकै चासोका साथ हेर्ने गर्छन्। 'बलिदान' बाट उनको क्यारेक्टर लुक्स सार्वजनिक भएसँगै चर्चा भइरहेको छ।
यसअघि 'बलिदान' का प्रमुख अभिनेता समीर भट्टको जन्मदिनको अवसर पारेर प्रि–टिजर सार्वजनिक गरिएको थियो। जसमा समीर देशभक्तिपूर्ण भावनाले ओतप्रोत संवाद र दमदार एक्सन दृश्यसहित देखिएका थिए। सो प्रि–टिजर नेपालसहित नेपालीहरूको बसोबास रहेका दर्जन बढी देशहरूमा युट्युब ट्रेन्डिङमा आएको थियो।
आसुसेन फिल्म्स् प्रा.लि. को प्रस्तुति रहेको 'बलिदान' मा समीर र सौगातसहित अर्पण थापा, ऋचा शर्मा, कविता राय, हेमन्त बुढाथोकी, प्रेम पुरीलगायत कलाकारहरूको अभिनय छ। फिल्मको निर्माता पवन ब्राडफोर्ड विष्ट हुन् भने प्रेम पुरी कार्यकारी निर्माता छन्।
'बलिदान' आउँदो दसैंको फूलपातीको दिन प्रदर्शनमा आउने घोषणा गरिएको छ।
