प्रकाश सपुत र परीक्षा लिम्बु अभिनीत फिल्म 'सोल्टिनी' को पहिलो गीत 'सत्य जुगैको' सार्वजनिक गरिएको छ।
सोमबार सार्वजनिक गीतमा प्रशान्त शिवाकोटीको शब्द तथा संगीत, प्रशान्त र अस्मिता अधिकारीको स्वर छ। पूर्वेली मारूनी भाकामा रहेर गीत तयार पारिएको छ।
गीतको भिडिओमा फिल्मका शीर्ष अभिनेता प्रकाश सपुत र अभिनेत्री परीक्षा लिम्बुसँगै कलाकारहरू सुन्दर धिताल र सब्बु गुरूङले नृत्य गरेका छन्।
गीतको कोरियोग्राफी मौसम हिमालीले गरेका हुन्। यो गीतले दर्शकमाझ विशेष चासो जगाउने अपेक्षा लिएको फिल्मका निर्देशक अर्जुन सुवेदीले बताए। उनका अनुसार यस फिल्मले दर्शकलाई फरक स्वादको कथासँग जोड्नेछ।
फिल्मले समाजमा व्याप्त अमानवीयता र जातीय भेदभावकाविरूद्ध आवाज उठाउनेछ भने दुई प्रमुख पात्रबीचको प्रेम कथा यसको मुख्य आकर्षण रहेको छ। प्रकाश सपुत र परीक्षा लिम्बुको जोडी पहिलो पटक यस फिल्ममार्फत एकसाथ पर्दामा देखिँदैछ।
फिल्ममा प्रकाश र परीक्षाको साथमा विल्सन विक्रम राई, सब्बु गुरूङ, रवीन्द्र झा, प्रकाश घिमिरे, प्रेम सुब्बा, कविता आले, सुन्दर धिताल, सुजन खतिवडालगायत कलाकारहरूले अभिनय गरेका छन्।
'सोल्टिनी' का गीतहरूमा संगीत प्रशान्त सिवाकोटी र हर्कुलस बस्नेतले दिएका छन् भने छायांकन सुशन प्रजापतिले गरेका हुन्। फिल्म अर्जुन सुवेदी र कुमार भट्टराईले लेखेका हुन्।
प्लानेट थ्री फिल्म्स र योलो इन्टरटेन्मेन्टको सहकार्यमा बनेको यो फिल्मका निर्मातामा रेजिना विष्ट र संसार चौलागाईं छन्।
फिल्म आगामी असोज ३ गते संविधान दिवसको अवसर पारेर रिलिज हुने छ।
यसलाई आरआर फिल्मस् प्रा.लि.ले नेपालमा वितरण गर्नेछ। डिजिटल अधिकार ओएसआर डिजिटलले खरिद गरेको छ।