सौगात मल्ल र बेनिशा हमाल अभिनीत फिल्म 'सिटामोल' साउन २३ गतेदेखि प्रदर्शन तयारीमा छ।
प्रदर्शन मिति नजिकिएसँगै यसको निर्माणपक्षले प्रचारप्रसारलाई पनि अगाडि बढाएको छ।
सोमबार मात्रै फिल्मका तीन नयाँ पोस्टर सार्वजनिक भएका छन्। जसमध्ये एउटा पोस्टरमा सौगात मल्ल, बेनिशा हमाल र बाल कलाकार करण नेपाली भावुक देखिएका छन्।
अर्को पोस्टरमा सौगात र बेनिशासहित श्रीकृष्ण निरौला, जानुका विश्वकर्मा र लोकेन्द्र लेखक आ-आफ्नो पात्र अनुसारको भूमिकामा प्रस्तुत छन्। बाँकी अर्को पोस्टरमा फिल्मका मुख्य कलाकार सौगात मल्ललाई मात्रै स्थान दिइएको छ। उनी बैशाखीको सहाराले निराश भावमा कतै हिँडिरहेको बुझ्न सकिन्छ।
कलाकारहरूको चरित्र चित्रण र मनोदशा बोल्ने पोस्टरले फिल्मप्रति दर्शकको उत्सुकता थप्ने विश्वास निर्माण टिमको छ।
यो फिल्म राज बहादुर सानेको निर्देशनमा निर्माण भएको हो।
तुल्सी देवी फिल्म प्रालीले जुनतारा फिल्मस्को सहकार्यमा निर्माण गरेको फिल्मको प्रस्तुतकर्ता सिमोस सुनुवार हुन्।
फिल्मको कथा प्रदीप भारद्धाज र निर्देशक सानेले लेखेका हुन्। फिल्ममा भुगोल कुमार कार्की र विकाश राज जोशी निर्माता तथा अप्सरा नेपाली, अजय मल्ल र कुमार केसी कार्यकारी निर्माता, गंगाराम श्रेष्ठ सह–निर्माता छन्।
बन्दे प्रसादको सम्पादन रहेको फिल्म दिव्य सुवेदीले खिचेका हुन्।