सुपरहिट फिल्म ‘जारी’ को दोस्रो शृंखलाको छायांकन सकिएको छ।
कवि उपेन्द्र सुब्बाको निर्देशनमा निर्माण भएको फिल्म 'जारी २' को छायांकन ३६ दिनमा सकिएको हो। फिल्मको छायांकन सकिएको जानकारी दिँदै निर्माण कम्पनी बाँसुरी फिल्मस्ले सिनेमा आगामी बडादसैंको अवसरमा रिलिज हुने जानकारी दिएको छ।
दसैंमा रिलिज हुने भनिए पनि कुन मितिमा प्रदर्शनमा आउँछ भन्नेबारे निर्माण टिमले खुलाएको छैन।
छायांकन सकिएसँगै निर्माण टिमले फिल्मका मुख्य कलाकार दयाहाङ राई र मिरूना मगरको क्यारेक्टर लुक्स समेत सार्वजनिक छ। सार्वजनिक तस्बिरमा मिरूनालाई लिम्बु पहिरन र दयाहाङलाई च्याब्रुङ बजाउँदै गरेको अवस्थामा देख्न सकिन्छ।
यो फिल्मको स्लोगन 'संग अफ च्याब्रुङ' राखिएको छ।

कवि उपेन्द्र सुब्बाको डेब्यु निर्देशन रहेको फिल्म 'जारी' ले नेपाली बक्सअफिसमा १७ करोडमाथिको व्यापार गरेको थियो। निर्माण घोषणासँगै 'जारी २' दर्शकको प्रतीक्षामा छ।
बाँसुरी फिल्मस् र कबड्डी फिल्मस्को व्यानरमा निर्माण भएको फिल्मका निर्माता रामबाबु गुरुङ हुन्।
फिल्ममा दयाहाङ र मिरूनासहित विजय बराल, ऋचा शर्मा, बुद्धि तामाङ, पुष्कर गुरूङ, प्रेम सुब्बा, माओत्से गुरूङ, मानहाङ लावती, बिष्णु मोक्तान, कमलमणी नेपाल, अनिल सुब्बा, रेखा लिम्बु, बेदना राई, सिर्जना निङ्लेखुलगायत कलाकारहरूको अभिनय छ।