केदार घिमिरे (माग्ने बुढा) को मुख्य अभिनय रहेको फिल्म 'माग्ने राजा' को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ।
शुक्रबार काठमाडौंमा एक कार्यक्रमकाबीच फिल्मका दुईवटा पोस्टर रिलिज गरिएको हो। जसमध्ये एउटा पोस्टरमा केदार मात्र छन्। अर्को पोस्टरमा उनीसहित वर्षा शिवाकोटी र विल्सनबिक्रम राईलाई देखाइएको छ।
पोस्टर ल्याउँदै यसका निर्माताले प्रदर्शन मिति समेत घोषणा गरेका छन्। ऋषि लामिछानेको निर्देशनमा बनेको फिल्म तीजको अवसर पारेर भदौ ६ गते रिलिज हुनेछ।
मुनाल घिमिरेको निर्माण रहेको यो फिल्ममा केदार, वर्षा र विल्सनसहित आर्यन सिग्देल, शिशिर वाङ्देल, मिस पबीलगायत कलाकारहरूको अभिनय छ।
आरम्भ प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्मको लेखक सामिप्यराज तिमिल्सेना हुन्। एउटा गरिबको धनी बन्ने महत्वाकांक्षाको कथा फिल्मले प्रस्तुत गर्ने निर्माण पक्षले जनाएको छ।

