फिल्म 'जेरी अन टप' को प्रदर्शन मिति घोषणा गरिएको छ। निर्माण टिमले बिहीबार फर्स्टलुक पोस्टर ल्याउँदै प्रदर्शन मिति घोषणा गरेको हो।
अनमोल केसी, आँचल शर्मा र जसिता गुरूङ अभिनीत फिल्म तिहारको अवसरमा आगामी असोज ३१ गतेदेखि प्रदर्शनमा आउने भएको छ।
निर्माण कम्पनी अनन्या फिल्मस् प्रा.लि.ले फिल्मको प्रचार थालनी गर्दै एकसाथ सार्वजनिक गरेको तीन पोस्टरमा फिल्मका प्रमुख तीनजना कलाकारहरू फिचर्ड छन्।
पोस्टरमा समावेश पृष्ठभूमिले फिल्मको कथाबारे संकेत गरेको छ, जहाँ अनमोल र जसिता हिमाल आरोहीको अवतारमा प्रस्तुत छन् भने अर्को पोस्टरमा अनमोल दुवै अभिनेत्रीसँग रोमान्टिक अवतारमा छन्। पोस्टरले 'जेरी अन टप' मा त्रिकोणात्मक प्रेमकथा रहेको संकेत गर्छ।
सुयोग गुरूङको निर्देशनमा तयार यो फिल्ममा अनमोल, आँचल र जसितासँगै चर्चित हाँस्य अभिनेता केदार घिमिरे 'माग्नेबुढा', अभिनेता भुवन केसी, अभिनेत्री सुरक्षा पन्त र उषा खड्गी पनि प्रमुख अभिनयमा छन्। अनमोलका बुवा भुवनले फिल्ममा पनि अनमोलको बुवाकै भूमिका निभाएका छन्।
निर्माता सरोज न्यौपानेले सम्पूर्ण टिमको अथाह मेहनतले राम्रो परिणाम निस्किएको बताएका छन्। सगरमाथा बेसक्याम्प, काठमाडौं, मुस्ताङ लगायतका स्थानमा यो फिल्मलाई छायांकन गरिएको छ। फिल्मका केही दृश्य काठमाडौंमा झण्डै एक करोडको लागतमा तयार गरिएको सेटमा छायांकन गरिएको जनाइएको छ।
सरोज न्यौपानेको प्रस्तुतिमा रोविन शेरचन, रामकृष्ण श्रेष्ठ र दीपक भण्डारी निर्माता रहेको यो फिल्मको कथा हेमराज बिसीको हो। कार्यकारी निर्मातामा अनिरूद्र गिरी र ईश्वर श्रेष्ठ छन्।
एसोसिएट निर्मातामा नविन घिमिरे, विवेक थापा र भविष्य खड्का छन्। विश्वास तिम्सिनाको पटकथा रहेको यो फिल्म दुलिप रेग्मीले छायांकन गरेका हुन्।