निर्माण तयारीमा रहेको फिल्म 'पार्वती' मा दीपाश्री निरौला अनुबन्ध भएकी छन्।
अभिनेत्री तथा निर्मात्री नीता ढुंगाना अधिकारीको निर्देशनमा बन्न लागेको फिल्ममा दीपाश्रीले शीर्ष भूमिकामा अभिनय गर्नेछिन्।
नीताले दीपाश्रीसँग मौखिक रूपमा कुराकानी हुँदै आएको भएता पनि मंगलबार कागजी सम्झौता गरेको बताइन्।
उनले भनिन्, 'हामीबीच सल्लाह सुझाव भइरहेको थियो, मौखिक रूपमा हामी ओके थियौं। फाइनल चाहिँ आज हुनु भएको हो। मेरो प्रोजेक्टमा दिदी हुनु मेरा लागि ठूलो कुरा हो।'
नीताले दीपालाई अभिनेत्रीको रूपमा अनुबन्ध गरेको बताइन्। फिल्ममा अनुबन्ध भएपछि दीपाश्रीले १२ वर्षअघि नीतासँगको सहकार्यलाई सम्झिइन्।
उनले भनिन्, 'वि.स.२०७० सालमा ‘छ एकान छ’ मा हामीलाई हेल्प गरेकी थियौ। १२ वर्षपछि खोलो फर्कियो भने जस्तै अहिले मलाई अनुबन्ध गराएकी छौ।'
दीपाश्री 'छक्का पञ्जा' शृंङ्खलाकी निर्देशक हुन्। उनले निर्देशन गरेका अधिकांश फिल्म सफल छन्। सोही कारण पनि यो फिल्ममा उनी अनुबन्धित हुँदा अर्थपूर्ण तरिकाले हेरिएको छ।
दीपाश्री अनुबन्ध हुनु अघि यो फिल्मका लागि चर्चित डान्स ग्रुप ‘कार्टुन क्रू’ का सरोज अधिकारी सहायक निर्देशकको रूपमा अनुबन्ध भएका थिए। सफल अभिनेत्री तथा निर्देशक नीता ढुंगाना अधिकारीले निर्देशन गर्न लागेको फिल्ममा उनी आफै मुख्य भूमिकामा अभिनय गर्दैछिन्।
फिल्ममा नीता र दीपाश्री बाहेक अन्य कलाकारहरूबारे भने खुलाइएको छैन। निर्देशक नीताका अनुसार कलाकार र प्राविधिक टिमबारे जानकारी क्रमशः सार्वजनिक गरिनेछ।
फिल्मको कथा नीता ढुंगानाले लेखेकी हुन् भने पटकथा तथा संवाद शिवम् अधिकारीले तयार पारेका हुन्। छायांकन कविर लाल र शाहिद लालले गर्नेछन्। फिल्मको छायांकन आगामी असोजदेखि सुरू हुने जनाइएको छ।
प्रदर्शन आगामी माघ १ गतेदेखि हुने निर्माण टिमले घोषणा गरेको छ।