प्रकाश सपुत, परीक्षा लिम्बु र विल्सनविक्रम राई लगायतको अभिनय रहेको फिल्म 'सोल्टिनी' पूर्वनिर्धारित मितिमा प्रदर्शनमा नआउने भएको छ।
असोज ३ गते रिलिज हुने भनिएको फिल्म उक्त मितिमा नआउने भएको निर्देशक अर्जुन सुवेदीले जानकारी दिए।
'उक्त मितिमा नआउने पक्का भएको हो। शुक्रबार वा शनिबार नयाँ पोस्टर ल्याउँदै प्रदर्शन मितिबारे आधिकारिक जानकारी दिनेछौं,' सुवेदीले सेतोपाटीसँग भने।
कतिपयले असोज ३ देखि फिल्म 'जारी २' आउने भएका कारण 'सोल्टिनी' पछि हटेको समेत अनुमान गरेका छन्। तर निर्देशक सुवेदी विविध कारणले आफूहरू उक्त मितिमा नआउने निर्णयमा पुगेको बताउँछन्।
उनका अनुसार यो फिल्मको सेप्टेम्बर ८ देखि अमेरिकामा भव्य प्रिमियर हुने र त्यसमा शीर्ष कलाकारहरू सहभागी हुनेछन्।
सुवेदीले भने, 'रिलिजअघि मुख्य कलाकारहरू बाहिर हुँदा पनि मज्जा भएन। त्यसमाथि असोजमा अन्य धेरै फिल्म आउने हुँदा भिडभाडमा खाँदिन पनि मन लागेन। पोस्टको काम पनि अझै केही बाँकी छ। यस्तै, विविध कारणले पोस्टपोन्डको निर्णयमा पुगेका हौं।'
आधिकारिक रूपमा नयाँ प्रदर्शन मिति घोषणा नगरिए पनि यो फिल्म तिहारमा प्रदर्शनमा आउने तय भएको बुझिएको छ। स्रोतका अनुसार तिहारको भाइटीकामा फिल्म रिलिज हुने तय भएको र सोही मिति राखेर नयाँ पोस्टर तयार पारिएको छ।
'सोल्टिनी' मा प्रकाश, परीक्षा र विल्सनसहित प्रेम सुब्बा, रबिन्द्र झा, प्रकाश घिमिरे, कविता आलेलगायत कलाकारहरूको पनि अभिनय छ। फिल्मको निर्माता रेजिना विष्ट र संसार चौलागाईं हुन्।