फिल्म 'बलिदान' को एक्सन र ड्रामाले भरिएको अफिसियल टिजर सार्वजनिक गरिएको छ।
शनिबार बिहान सार्वजनिक झन्डै दुई मिनेट अवधिको टिजरमा फिल्मको कथावस्तुको सानो झल्को दिइएको छ।
न्यारेसनसँगै सुरू हुने टिजरमा एक आदिम बस्तीमाथि भइरहेको आक्रमण र त्यसबाट बचेर भाग्न खोजिरहेका पात्रहरूलाई देखाइएको छ।
यसैबिच पृष्ठभूमिमा अभिनेता सौगात मल्ल मसाल बोकेर दृढ अडानका साथ उभिएका देखिन्छन्। त्यसपछि संवादसँगै अभिनेता हेमन्त बुढाथोकी देखिन्छन्। 'म जन्मेकै राजा बन्नलाई हो, राजा!' भन्ने खलपात्रको संवादले शक्ति र अहंकारको लडाइँलाई संकेत गर्छ। अभिनेता अर्पण थापा राजनेताको भूमिकामा देखिएका छन्।
अभिनेत्री ऋचा शर्माको संवाद टिजरको भावनात्मक केन्द्रबिन्दु बनेको छ। फिल्ममा राजनीतिक शक्ति संघर्ष, अन्याय र त्यसको बदलाको कथालाई प्रमुख विषय बनाइएको टिजरबाट अनुमान लगाउन सकिन्छ।
टिजरको मुख्य आकर्षणको रूपमा अभिनेता समीर भट्टलाई प्रस्तुत गरिएको छ। 'एक्सन किङ' को उपमासहित प्रस्तुत गरिएका उनको एक्सन दृश्य र संवाद टिजरमा समावेश छ।
'यो आमा न लाचार छ, न त यो आमाको कोख नै खाली छ। यो आमाले छोरा मात्रै होइन, योद्धा पनि जन्माएको छ,' भन्ने उनको संवादले फिल्म एक नायकको उदय र प्रतिशोधको कथामा आधारित रहेको बुझाउँछ।
टिजरमा देखाइएको भिएफएक्स, द्वन्द्व र प्रोडक्सनको गुणस्तर राम्रो देखिन्छ।
आसुसेन फिल्मस् प्रोडक्सनको ब्यानरमा निर्माण भएको 'बलिदान' सन्तोष सेनले निर्देशन गरेका हुन्।
फिल्ममा समीर भट्ट, सौगात मल्ल, अर्पण थापा, ऋचा शर्मा, कविता राय, हेमन्त बुढाथोकी, प्रेम पुरी, सन्तोष सेनलगायत कलाकारहरूको अभिनय छ। फिल्मका निर्माता पवन ब्राडफोर्ड बिस्ट, कार्यकारी निर्माता प्रेम पुरी हुन्।
'बलिदान' फूलपातीको अवसर पारेर असोज १३ देखि देशव्यापी प्रदर्शनमा आउने तयारी छ।