भदौ २० गतेदेखि प्रदर्शनमा आउने फिल्म 'रिमै' को ट्रेलर सार्वजनिक गरिएको छ।
खिल बहादुर गुरूङको निर्देशनमा निर्माण भएको फिल्मको ट्रेलरले 'रिमै' गुरूङ समुदायको सामाजिक तथा सांस्कृतिक परिवेशमा आधारित रहेको देखाउँछ।
ट्रेलरका दृश्य तथा संवादले परम्परा र व्यक्तिगत इच्छाबीचको द्वन्द्व, साँचो प्रेमको खोजी र छोरीचेलीको महत्वजस्ता विषयलाई फिल्मले उठाएको संकेत गर्छ।
१ मिनेट ३२ सेकेन्डको ट्रेलरमा अभिनेता दयाहाङ राईलाई ग्रामीण परिवेशमा देखाइएको छ, जहाँ उनी आफ्नो प्रेम र परिवारबीचको संघर्षसँग जुधिरहेका छन्। रिश्मा गुरूङसँगको केमेस्ट्रीले ट्रेलरलाई भावुक बनाएको छ भने अर्पण थापा र गौमाया गुरूङको भूमिकाले कथालाई अझ रोचक बनाएको छ।
यसअघि सार्वजनिक पोस्टर र टिजरले चर्चा कमाइसकेको अवस्थामा ट्रेलरले पनि दर्शकमाझ उत्साह जगाउने निर्माण टिमको विश्वास छ।
गोरखा सिरानचोक एण्ड लिगलिगकोट फिल्मस् प्रालीको प्रस्तुति र रोटेपिङ इन्टरटेन्मेन्टको सहकार्यमा निर्माण भएको फिल्ममा दयाहाङ राई, अर्पण थापा, रिश्मा गुरूङ, गौमाया गुरूङ, कविता आले मगर, माओत्से गुरूङ, पुस्कर गुरुङ, वीरमाया गुरुङ, वीरवल घले, डिबी गुरूङ, टेक गुरूङ र बालकलाकार असिम सुब्बा, प्रेस्टु गुरूङ र प्राश्ना राना मगर लगायतको पनि अभिनय छ।
कवि तथा निर्देशक उपेन्द्र सुब्बाको पटकथा लेखन रहेको फिल्म शैलेन्द्र ध्वज कार्कीले खिचेका हुन्। वीरवल घले कार्यकारी निर्माता रहेको फिल्ममा टिका गुरूङ, जित यात्री गुरूङ र दुन बहादुर घले निर्माता तथा बिनु गुरूङ, रोशन भट्टराई र राजेश घिमिरे सह–निर्मातामा छन्।
यसमा संगीत दीपक शर्मा र थानेश्वर गौतमको छ भने किरण चाम्लिङ राई मुख्य सहायक निर्देशक, विष्णु मैनाली प्रोडक्सन म्यानेजर र मित्र डि. गुरूङको सम्पादन छ।
भिडिओः