'बेहुली फ्रम मेघौली' का निर्देशकद्वय सजन काफ्ले र आकाश बरालले नयाँ फिल्म 'जिरो डिग्री' बनाउने भएका छन्। सोमबार एक पोस्टर सार्वजनिक गर्दै मेघौली फिल्म्सको ब्यानरमा निर्माण हुने यो फिल्म घोषणा गरिएको हो।
फिल्मको कथा राजन भुसालले लेखेका हुन् भने पटकथा र संवाद निर्देशकद्वय सजन र आकाशले तयार पारेका छन्।
फिल्ममा निर्माण टिमले रोचक विषयवस्तु उठाएको छ। सडक नपुगेको गाउँमा कुनै व्यक्तिको निधन हुँदा विदेशमा रहेका छोराछोरी आइपुगुन्जेल शव जोगाउन डीप फ्रिज बोकेरै गाउँमा भित्र्याएपछि सिर्जना हुने उथलपुथलमा फिल्म केन्द्रित हुनेछ।
निर्देशकहरूका अनुसार 'जिरो डिग्री' ले एउटा फ्रिज गाउँसम्म पुर्याउने कथा मात्र नभएर यसलाई 'लाइट कमेडी' को रूपमा प्रस्तुत गरिनेछ। यस फिल्ममा अभिनेता विजय बराल मुख्य भूमिकामा देखिने भएका छन्।
ट्राइडेन्ट कन्सेप्टका रोयल भीमसेनले तयार पारेको पोस्टरमा मध्य भागमा डीप फ्रिजको चित्र छ, जसलाई केही मानिसहरूले बोकेर खोला तारिरहेको देखिन्छ। जसले फिल्मको कथासारलाई प्रतीकात्मक रूपमा प्रस्तुत गर्छ।
सामान्यतया फिल्मको पोस्टरमा कलाकारको अनुहार वा ठूलो दृश्य रहने परम्परालाई तोड्दै कथाको महत्त्वपूर्ण वस्तुलाई यहाँ केन्द्रमा राखिएको छ।
फिल्मको कार्यकारी निर्माता मोती कार्की हुन्। 'जिरो डिग्री' को छायांकन तिहारपछि सुरू हुनेछ र आगामी वर्ष प्रदर्शन गर्ने योजना छ। यसको वितरण कुबेर सिने डिस्ट्रिब्युसनले गर्नेछ।
फिल्मका गीतहरूमा अंकितबाबु अधिकारीले संगीत दिनेछन् भने फिल्म 'ऊनको स्वीटर' को चर्चित गीत 'काफ्ले' का रचनाकार युवराज काफ्लेले गीत लेख्नेछन्।