अभिनेता केदार घिमिरे 'माग्ने बुढा' अभिनीत फिल्म 'माग्ने राजा' ले तीजको अवसरमा दर्शकबाट सुखद् साथ पाएको छ।
मंगलबार तीजको दिन फिल्मको बिहानैदेखिका शोहरूमा दर्शकको उपस्थिति सुखद् देखिन्छ। दिउँसो र साँझका केही शोहरू 'सोल्डआउट' समेत देखिएका छन्।
शुक्रबारदेखि प्रदर्शनमा आएको यस फिल्मले शनिबार पनि सुखद् व्यापार गरेको थियो। मंगलबार प्रदर्शनको पाँचौ दिन, बिहानैदेखिका शोमा दर्शक उपस्थिति राम्रो रहेको वितरक रोहित कट्टेलले बताएका छन्।
उनले भने, 'आज देशैभरका हलमा फिल्मको माहोल राम्रो देखिएको छ।'
अभिनेता केदार घिमिरेले पनि मंगलबारको बुकिङ देखेर उत्साहित हुँदै सामाजिक सञ्जालमा एक पोस्ट लेखेका छन्।
ऋषि लामिछानेको निर्देशनमा बनेको 'माग्ने राजा' एक कमेडी जनराको फिल्म हो। फिल्ममा केदारसहित वर्षा शिवाकोटी, विल्सनविक्रम राई, शारदा गिरी, शिशिर वाङ्देललगायत कलाकारहरूको अभिनय छ।
मुनाल घिमिरे निर्माता रहेको यस फिल्मको कथा सामिप्यराज तिमिल्सिनाले लेखेका हुन्।