चन्द्र पन्तको निर्देशनमा बन्न लागेको फिल्म 'आ बाट आमा' मा अभिनय गर्नका लागि भारतीय अभिनेता प्रदीप रावत नेपाल आएका छन्।
उनी अभिनेत्रीसमेत रहेकी श्रीमती कल्याणीसहित बुधबार दिउँसो काठमाडौं ओर्लिएका थिए। काठमाडौंबाट उनी बुधबार नै चितवन लागेका छन्। 'आ बाट आमा' को छायांकन बिहीबारदेखि चितवनबाट सुरू हुँदैछ।
प्रदीप रावतले यसअघि चन्द्रकै निर्देशनमा बनेको फिल्म 'ह्रस्व दीर्घ' मा अभिनय गरेका थिए। यसअघि यो फिल्म रिलिजको समयमा पनि प्रदीप नेपाल आएका थिए।
'आ बाट आमा' मा प्रदीपसहित पल शाह, विपना थापा, उषा उप्रेती, साइग्रेस पोखरेल लगायतको अभिनय रहनेछ। फिल्ममा प्रदीपले पल शाहको बुबाको भूमिका निर्वाह गर्ने जनाइएको छ। कृष्ण प्रसाद सुवेदीले निर्माण गर्न लागेको फिल्ममा ध्रुब न्यौपाने र प्रकाश कुँवरले पनि निर्माणमा साथ दिएका छन्।
फिल्म पारिवारिक तथा भावनात्मक कथावस्तुमा आधारित हुने निर्माण पक्षको भनाइ छ।