दसैंको अवसर पारेर असोज १३ गते रिलिज भएका नेपाली फिल्महरू सोमबारदेखि प्रदर्शनको तेस्रो सातामा प्रवेश गरेका छन्।
फूलपातीको दिन 'बलिदान', 'हरिबहादुरको जुत्ता' र 'माइतीघर' एकसाथ रिलिज भएका थिए। यी तीनवटै फिल्मले प्रदर्शनको दुई साता पूरा गर्दै तेस्रो सातामा प्रवेश गरेका हुन्।
तीन फिल्मले बक्स अफिसमा संयुक्त रूपमा १२ करोड ५६ लाख रूपैयाँको व्यापार गरेका छन्। यो व्यापार गत शनिबार राति (१३ औँ दिन) सम्मको भएको चलचित्र विकास बोर्डले जनाएको छ।
तीनमध्ये 'बलिदान' ४ करोड ८० लाख रूपैयाँको व्यापारसहित अग्रस्थानमा छ। १३ दिनसम्ममा 'हरिबहादुरको जुत्ता' ले ४ करोड ३२ लाख रूपैयाँ कमाएको छ भने 'माइतीघर' को व्यापार ३ करोड ४४ लाख रूपैयाँ पुगेको छ।
गत वर्षको तुलनामा यस वर्ष दसैंमा रिलिज भएका फिल्मको व्यापार अपेक्षित होइन्। निर्माताहरू भने देशको पछिल्लो परिस्थितिका कारण दसैंमा विगतमा जस्तो उमंग नदेखिएको बताउँदै फिल्मले जति व्यापार गरे त्यसमा धेरै निराशा हुनु नपर्ने बताउँछन्।
तेस्रो सातामा आउँदा पनि प्राप्त शोमा दर्शकको उपस्थिति राम्रो रहेको बताउँदै फिल्म अझै लामो समय हलमा टिक्ने निर्माताहरूको विश्वास छ।
सन्तोष सेनको निर्देशनमा बनेको 'बलिदान' मा समीर भट्ट, सौगात मल्ल, ऋचा शर्मा, अर्पण थापा, हेमन्त बुढाथोकीलगायत कलाकारहरूको अभिनय छ।
दीपेन्द्र के. खनाल निर्देशित 'हरिबहादुरको जुत्ता' मा हरिवंश आचार्य, स्वस्तिमा खड्का, प्रकाश सपुत, प्रियंका कार्कीलगायत कलाकारहरू छन्।
मिलन तामाङ निर्देशित 'माइतीघर' मा धिरज मगर, प्रकाश सपुत, उपासना सिंह ठकुरीलगायतको अभिनय छ।