विश्व सिनेमा जगतमा नयाँ-नयाँ प्रयोग हुने चलन चलेको निक्कै धेरै भइसकेको छ। विस्तारै पर्दामा कथा भन्ने मानेमा शैली र कथामा पनि नेपाली निर्देशकहरूले प्रयास गर्न थालेका छन्। सिनेमाको उद्धेश्य भनेकै निर्देशकले आफूलाई मन परेको कथा भन्ने हो। उसले भनेको कथालाई दर्शकलाई मनपर्छ/ पर्दैनमा त्यसमा छुट्टै बहस गर्नुपर्ने हुन्छ। तर दर्शकलाई छुने गरी कथा भन्नु नै एक निर्देशकको परिचय हो। सिनेमाका कथा भयंकर नै हुनुपर्छ भन्ने छैन, सानै परिधिमा पनि गतिलो गरी कथा भन्न सकिन्छ।
शुक्रबार नामका कारण झण्डै दुई वर्ष मुद्दा मामिलाका झंझटमा फसेको 'गाँजा बाजा' फिल्म पनि एउटा त्यस्तै फिल्म हो। फिल्मले एक दिनमा कुनै पनि हालतमा गाँजा खान घरबाट निस्केका दुई गँजेडी युवा डढे (अनुपम शर्मा) र गोरे (सुशिल सिटौला)को कथा भन्छ। यी दुबै युवाको रूचि न पढाइमा छ न काममा नै आफूलाई गाँजाको लतमा लिप्त गराइहरेका छन्। तीनै युवाले गाँजा खोज्ने क्रममा एकदिनमा भोग्ने कथा फिल्मले भनेको छ। गर्लफ्रेण्डलाई उपहार किन्नका लागि गोरेले 'डुडे' नामक पात्रसँग 'डढे'को जमानीमा प्रतिदिन ५०० ब्याज तिर्ने सर्तमा १० हजार रकम मिटर ब्याजमा लिन्छ। गाँजा खोज्ने दिनमा त्यो ऋणको भाका २२ दिन पुगिसकेको हुन्छ। यिनै परिस्थितिका बीच घट्ने कथानक नै 'गाँजा बाजा'को कथा हो।
फिल्मको मुटु भनेको स्क्रिप्ट हो। फिल्मको सबैभन्दा बलियो पक्ष नै मुटु हो। स्क्रिप्टमा पात्र सुहाउँदा संवाद राखिएका छन्। ती संवाद पात्रको मनोविज्ञान अनुसार हुनु यसको सबल पक्ष हो। स्क्रिप्ट फिल्मले भन्न खोजेको कथा अनुसार छ । यसका लागि फिल्मका निर्देशक: गणेश देव पाण्डे, जो यस फिल्मका लेखकसमेत हुन्। उनी प्रशंसाका हकदार छन्।
गतिलो स्क्रिप्ट पर्दामा राम्रो आधार हो तर सम्पूर्ण भने होइन। त्यो निर्देशकमा भरपर्छ। यस अर्थमा निर्देशकका रूपमा गणेश देव पाण्डे ‘जस्ट पास’ पात्र छन्। त्यो फिल्मको सर्ट टाइम पिरियड र पात्रको छनौटमा स्पष्ट छताछुल्ल हुन्छ। फिल्ममा 'डढे' पात्रका रूपमा अनुपम शर्माको छनोट उत्कृष्ट छ भने 'गोरे' पात्रमा सुशिल सिटौला काम चलाउँछन्। त्यस्तै, फिल्म हेरिरहँदा फिल्मका सहायक पात्र छनोटमा पाण्डेले सम्झौता गरेको स्पष्ट हुन्छ। थुप्रै नेपाली फिल्ममा देखिने यो समस्याबाट उनी पनि ग्रसित छन्।
फिल्ममा पात्र जतिसुकै सानो किन नहोस् तिनमा सम्झौता गरिनु भनेको फिल्मलाई कमजोर बनाउनु हो। किनकी पर्दामा कमाल त अभिनयले देखाउनु हो। कलाकार छनोटपछि पाण्डे केही सिन काट्न र कलाकारको रियाक्सन सटमा चुकेका छन्। उनले फिल्मको पेसलाई सम्पादनमा सुधार्ने ठाउँ हुँदाहुँदै पनि 'इग्नोर' गरेझै लाग्छ। उनको पात्र छनोट र अभिनयमा लगाम कस्नमा चुकेकाले उनी निर्देशनमा जस्ट पास भएका छन्। 'इनगेज' गराइराख्ने स्क्रिप्टले उनलाई जोगाएको छ।
https://youtu.be/K-ae-kGy-hI
यस्तै, फिल्मको कथा भन्ने क्रममा निर्देशकले नेपाली समाज, राजनीति र विकासको गतिमाथि व्यङ्ग्य हानेका छन्। त्यसमा युवापुस्ताको देशप्रतिको दृष्टिकोणलाई बुझ्न सकिन्छ। फिल्मका एक दुई दृश्यले देशको अवस्थालाई प्रतिबिम्बित गर्छ। यसका लागि पनि पाण्डेको 'सब-टेक्स्ट' प्रयोगको प्रशंसा गर्नुपर्छ।
अभिनयको हिसाबबाट अनुपम शर्मा सो स्टिलर हुन्। पछिल्लो समय गज्जब अभिनय गर्ने कलाकारमा उनी अगाडि देखा पर्दै आएका छन्। अन्य फिल्ममा साना पात्रमा खुम्चिएका अनुपमले सिङ्गो फिल्ममा आफ्नो कौशल देखाएका छन्। उनी थप भूमिकामा खतरा मोल्न सकिने कलाकार हुन्। 'होस्टल रिटर्नस'बाट डेब्यू गरेका सुशिल सिटौलाको अभिनय काम चलाउ छ। उनले विशेषत: संवाद र 'एक्सप्रेशन'मा थप मेहनत गर्नु जरूरी छ। वर्षा सिवाकोटीको अभिनय सानो भए पनि ठिक छ। अन्य कलाकारको अभिनय अभिनय गरेजस्तो मात्र छ।
त्यस्तै, फिल्मको अर्को राम्रो पक्ष त्यसको पार्श्व ध्वनि हो। गँजेडीको मनोविज्ञानलाई पछ्याउने पार्श्व ध्वनि आइरहेका फिल्ममा भन्दा फरक लाग्छ। सिनेम्याटोग्राफी ठिकठाक छ।
समग्रमा डेढ घण्टा लामो फिल्मले विशेषगरी युवा पुस्ताका दर्शकलाई मनोरञ्जन दिन्छ। टिकट काटेको पैसा खेर जाँदैन। फिल्म हेरेर मज्जा लिनेमा दर्शकले शंका नगरे हुन्छ।