म जन्मिने बित्तिकै
मेरो आमाले भनिन्
‘तिमी शरणार्थी हौ’
‘कोरा’ नाटकमा तेन्जिङ सोण्डूलाई यसरी सुन्नुभन्दा पहिला मैले उनलाई चिनेको थिइनँ। पढेको पनि थिइनँ। उनी बाँचेको भूगोल र उनले भोगेका पीडाहरूलाई आकलन पनि गरेको थिइनँ।
तर सोण्डुलाई नपढे पनि शरणार्थीको विषयबारे अपरिचित थिइनँ।
सण्डे सिनेमामा पाकिस्तानका शरणार्थीको विषयमा बनेको डकुमेन्ट्री फिल्म ‘दि वाल्नट ट्रि’ हेरेको थिएँ। शरणार्थी शिविरमा बसेर आफूले छोडेको घर अगाडिको ओखरको बोट सम्झिरहने एक वृद्धको कथा थियो।
त्यसपछि भुटानी शरणार्थीको विषयमा बनेको फिल्म ‘देश खोज्दै जाँदा’ हेरेँ। झापाका भुटानी शरणार्थी शिविरलाई नजिकबाट देखेका चिनेका प्रकाश आङ्देम्बेले उपेन्द्र सुब्बामार्फत टिपेका कथाहरू।
हेरेपछि नेपाल आएर बसिरहेका उनीहरूको अवस्थाप्रति आफूले थाहा नपाएकोमा ग्लानी भएको थियो। मैले झापामा भएको त्यत्रो ठूलो घटना भोजपुरमा किन सुनिन? तेस्रो देश फिर्ती सवारी गर्ने कि नगर्ने भन्ने विवाद र द्विविधामा जेलिएका शिविरहरूको कथा थियो त्यो।
शिल्पी थिएटरमै ‘हरियो ढुङ्गा’ हेरेँ। त्यसले मजदुरी गरेर नेपालमा जीविका चलाइरहेका भुटानी शरणार्थीहरूको सपनालाई देखाउँदै देश छोड्न लाग्दाको पीडा समेटेको थियो। नाटकमा नेपालमै आएर जन्मिएको एउटा पात्र भन्थ्यो ‘मलाई त आफ्नो देश कुन हो भन्ने पनि थाहा छैन।’
इन्द्रबहादुर राईको ‘जयमाया आफूमात्र लिखापानी आइपुगी’ कथालाई सुनिल पोखरेलले निर्देशन गरेको नाटक पनि हेरेँको थिएँ। त्यहाँ पनि बर्मा युद्धको कारण आफू बसिरहेको ठाउँ छोडेर हिँडेका मानिसहरूको दर्दनाक कथा समेटिएको थियो। बसेको ठाउँ सम्झिँदै हिँडेका जाने ठाउँ पुग्ने ठेगाना नभएका मानिसहरूको कथा।
यसरी पटकपटक शरणार्थीको विषयमा बनेका फिल्म र नाटक हेरिसकेको मलाई कोरा नाटक हेरेपछि झनै स्पष्ट भयो, शरणार्थीको कथाले लगभग एउटै कुरा समेट्ने रहेछन्। केवल भूगोल फेरिने रहेछ, पीडा त उस्तै हुने रहेछन्। ठाउँ छोड्दाको पीडा, परिवारको दुःख, बारम्बार आइपर्ने सङ्कटहरू, अफ्ठ्यारा बाटा अनि पहिचानको खोजी।
‘कोरा’ मलाई पृथक् किन लाग्यो भने पहिलोपल्ट कविका कविताको आँखाबाट हेरिएका नाटक हेर्दै थिएँ म।
के कवितामा नाटक बन्न सम्भव छ?
हुन त जतिपनि क्लासिकल नाटकहरू लेखिए, ती सबै कवितामै लेखिएका थिए। तर कवितालाई कमजोर भन्न अभ्यस्त हुन खोजिरहेको वर्तमान समयमा के कुनै कविका कविताहरू कविता वाचन कार्यक्रम बाहेक स्टेजमा आउन सक्लान्? यो प्रश्न बेलाबेला मनमा गुन्जिन्थ्यो।
पोष्टर सार्वजनिक हुनासाथ खुसी हुँदै सिल्पी पुगेको थिएँ।
त्यो समय र यो समयः
कोरा नाटकलाई एउटा फ्रेममा भन्न खोज्दा यति भन्न सकिन्छ। यो नाटक त्यो समय र यो समयको तुलना हो। कवि पात्र नाटकमा छ। ऊ अरू पात्रहरूजस्तै सङ्घर्ष गर्छ। उनीहरूले हिँड्ने उकालो हिँड्छ। उनीहरूले पुछ्ने पसिना पुछ्छ। अनि लेख्छ उनीहरूको पीडा आफ्नो कवितामा।
ऊ अहिले लेख्छ, समय पहिलेको भइदिन्छ। ऊ विगतको सम्झनामा जेलिएर वर्तमान बाँचेको छ। त्यसैले यस्तो भन्छः
त्यो बनमाराले जेलेको पहाड भित्र
कुनै समय
हाम्रो एउटा सुन्दर घर पनि थियो।
त्यो समयको पहिचान र यो समयको अनुहार। कुनै बिरानो ठाउँमा जन्मिएको बच्चा कुन भूगोलको हुन्छ थाहा छैन। उसको निधारमा कसले लेखिदिन्छ ठूलो ‘श’ र हुर्किँदै हुर्किँदै अरूको जिब्रोमा कसरी ‘शरणार्थी’ शब्द भएर बस्छ र उसलाई गिज्याउँछ त्यो पनि थाहा छैन। अचेत भई लडेको स्थानबाट उठेर आफैले आफैँलाई निहालेको जस्तो।
भर्खरै जन्मिएको उक्त बच्चा नयाँ ठाउँमा पुगेर पनि त्यहाँको लवज सिक्न सक्दैन किनकि घरमा उसका बुवाआमाले आफूले छोडेको ठाउँको लवज बोल्न छोड्दैनन्। मन एकातिर र शरीर अर्कोतिर। आफूलाई छुट्याएर दुई टुक्रा बनाए जस्तो। त्यो भाषा खै? यो भाषा कुन हो?
नाटकले भाषागत कठिनाइमा विभेदको सिकार भएका नयाँ पुस्ताका व्यक्तिहरूको कथा भन्छ। र यो मैले हेरेका अरू शरणार्थी नाटक तथा फिल्महरू भन्दा यसैकारण फरक छ। अरू सबैमा पात्रहरू थोरै भए पनि भाषागत सहजतामा थिए। नेपाल आएर बसेका भुटानी शरणार्थीहरू नेपाली भाषीनै थिए।
‘वाल्नट ट्रि’ मा बोलिने भाषा पनि भूगोल नाग्दा फरक थिएन। तर यहाँ? तिब्बतको भाषा बोकेर नेपाल र भारत छिर्नु। नयाँ भाषा सिक्ने संघर्षसँगै पुरानो भाषा बिर्सिँदै जानु। यो कति कठोर नियति हो।
भाषा नमिल्नु मतलब समाज नमिल्नु। समाज नमिल्नु मतलब देश नमिल्नु। देश नमिल्नु मतलब आफ्नै नमिल्नु। त्यो आफू र यो आफू।
मेक्सिकोबाट अमेरिका पुगेर अङ्ग्रेजी सिक्नुपर्दा त्यहाँको स्कुलले मेक्सिकन भाषा बिर्साउन खोजेको प्रसङ्ग लेखेकी छन् मेक्सिकोमा जन्मिएकी लेखिका ग्लोरिया एन्जलडुवाले। उनी भन्छिन् ‘मलाई हराउनु छ भने मेरो भाषालाई ध्वस्त बनाइदिए पुग्छ।’
यस्तै लेखक रेग्वान स्मिथले भनेका छन् ‘कसैको भाषा लुट्नु युद्ध भन्दा ठूलो कुरा हो।’
र कविले आफ्नो पहिलेको अवस्था र अहिलेको अवस्थालाई पनि भाषाकै पुलमा देखाएका छन्। यसर्थपनि यो नाटक आफ्नो अस्तित्व खोजीको एउटा भाषिक प्रयत्न हो। एउटा सभ्य तर बलियो विद्रोह हो।
ती सुण्डु र यी सुण्डुः
मैले उल्लेख गरेका नाटकहरू तीनवटैमा अभिनय गरेका छन् सुरज तमुले। नाटक सकिएपछि बाहिर निस्किएर मैले उनलाई सोधेँ ‘लगातार शरणार्थी पात्रहरूको अभिनय गर्दा कस्तो महसुस हुन्छ?’
उनले जवाफ दिए ‘हरेक नाटकमा शरणार्थीको मुद्दाका नयाँनयाँ पक्षहरू थाहा पाइरहेको छु। कहिलेकाहीँ त आफै शरणार्थी भइरहेको हुँ कि जस्तो पनि लाग्छ।’
उनले नाटकमा तेन्जिंग सुण्डुको पनि अभिनय गरेका छन्। म सुण्डुलाई बुझ्न उत्सुक हुन्छु। उनी मलाई मोबाइलमा सुण्डुको फोटो देखाउँछन्।
सुण्डुको टाउकोमा रातो फेटा छ जुन फेटा सुरजले पनि लगाएका छन्। सुण्डुको गलामा बोधिचित्तको माला छ, उनकोमा पनि छ।
ती सुण्डु भारतमा शरणार्थी जीवन बाँचिरहेका छन्, यी सुण्डु उनको कवितामार्फत अवतार लिएर काठमाडौंका दर्शकलाई झकझक्याइरहेका छन्।
सुरज कविताको भाषामा आफ्नो कथा सुनाउँदै नेपाल छिरेको सुण्डु जस्तै लाग्छन्।
ती सुण्डुले त्यो समयलाई कवितामा लेखे। यी सुण्डु यो समयलाई नाटक मार्फत वाचन गरेर सुनाउँदै छन्।
म पात्रहरूको आँखा नियाल्छु। तिनमा गहिरो तलाउ देखिन्छ। रुन मन लागेर छल्किरहेका तलाउ जस्तै। एक छोरी बुवालाई प्रश्न गर्छे ‘बाबा अब हामी घर नजाने?’
जवाफमा बाबाको गह्रौँ आवाज भन्छ ‘त्यो ठाउँ अब हाम्रो घर हैन केवल ठाउँ मात्र भइसक्यो।’
एउटा घर केवल ठाँउमात्र हुनुको पीडा कति भयानक हुन्छ?
ती कालो रातहरूमा पनि उनै वृद्ध फेरि सम्झिँदै भन्छन् ‘अब त बनमाराले घरको छानो पनि नागिसक्यो होला।’
त्यो घर र यो घर।
त्यो घर केवल कल्पनामा सीमित छ।
यो घर केवल यथार्थमा सिमित छ। कल्पना र यथार्थहरू हत्पत मिल्दैनन्। कस्तो कठोरता?
तरपनि कविले हारेको छैन। यी पंक्तिहरूले टाढा कतै लुकेको तर नहराइसकेको एउटा बलियो आशाको दियो बाल्छः
उकाली ओराली गर्दा तिम्रो शरीरबाट बगेका पसिना
तिम्रा लागि सयौंगुना सहयोगी बन्नेछन्
एक दिन आफ्नै घर फर्किनको लागि।
नाटकको रूपमा कोराः
नाटकले दृश्यमा केही प्रयोग गरेको छ। स्टेजमा ठूलो सेतो पर्दा लगाएर त्यसमा प्रोजेक्टर र स्याडोको सहायतामा देखाइएका छन् दृश्यहरू।
त्यसले गहिरो अर्थ राख्छ। नाटकमा जतिपनि सेटिङ देखाइएको छ, चाहे तिब्बतका पहाड हुन्, पश्चिम नेपालको पहाड होस्, मुम्बाई सहर, पुल वा समुन्द्र किनार। ती सबै दृश्यहरू प्रोजेक्टरमा देखिन्छन्।
परबाट हेर्दा देखिने सुन्दर ल्याण्डस्केपहरू जस्तै। ती दृश्यमा हेर्नेहरूले त्यहाँ बसेका मानिसहरूले भोगेको कथा देख्दैनन्।
नाटकले ती व्यक्तिहरूको कथा भन्छ। वा भनौँ त्यस्ता ल्याण्डस्केपहरूलाई जुम गर्छ र त्यहाँ हिँडिरहेका मानिसहरूका गह्रौँ पाइलाहरू देखाउँछ।
हाम्रो कर्णालीका सुन्दर तस्बिरहरूभित्र लुकेका मानिसहरूको दुःख जस्तै।
‘वाल्नट ट्रि’ मा यही कुरा क्यामेराको सहायताले देखाइएको थियो। एकपल्ट वाइड लेन्सले सारा शरणार्थी शिविरलाई देखाउने अनि त्यसपछि क्लोजअप लेन्सले एउटा शिविरमा बसिरहेको वृद्धको रेडियो देखाउने।
त्यसले दर्शकलाई भन्थ्यो ‘शरणार्थी क्याम्प तिमीले परबाट देख्ने हरिया छानाहरूमात्र हैनन्।’
यो नाटकले पनि ती दृश्य देखाउँदै भन्न खोजेको छ ‘तिमीले देखेका यी पहाड र सहर केवल पहाड र शहरमात्र हैनन्। त्यहाँ निक्कै परबाट आएर आफ्नो लागि बिरानो ठाउँमा टेक्न खोजिरहेका मानिसहरू पनि छन् त्यहाँ।’
ती मानिसहरू हामीले सुन्दर दृश्य मात्र देखेका नेपालको हिमालमा छन्, काठमाडौंका गल्लीहरूमा छन्। हामीले पुल र अग्ला भवनहरूमात्र सोचेका भारतका विभिन्न शहरहरूमा छन्। लुनिभा तुलाधरको शब्द सापटी माग्दा ’१८ हजारभन्दा धेरै तिब्वती शरणार्थीहरू नेपालमा अहिले पनि छन्।’
ट्राइ टु जुम एण्ड रिकग्नाइज देयर फेसेज्।
नाटकघर गुञ्जिने सुमधुर गीतका शब्दहरू गह्रौँ छन्। कस्तो प्याराडक्स।
र नाटकको अर्को विशेषता भनेको यहाँ कुनै निश्चित महत्त्वको दृश्य छैनन्। कुनै महत्त्वको पात्र पनि छैनन्। हामीले सामान्यतया हेर्ने नाटकहरूमा मुख्य हिरो हुन्छन् तर यहाँ त्यस्तो केही पनि छैन। सबैले बराबर सङ्घर्ष गरेका छन् र पीडा भोगेका छन्।
मिखाइल बाख्तिन यसलाई ‘पोलिफोनी’ भन्छन्। जसले धेरजनाको आवाज एकैपल्ट सुनाउँछ। त्यहाँ लेखकले कुनै एक पात्रको माध्यमबाट आफूलाई लागेको कुरा ओकल्न खोज्दैन। कवि कवि भन्दा पनि कविता हुन्छ। सकेसम्म धेरै पात्रहरूको मुखबाट बोलिन चाहन्छ।
शरणार्थीको अवस्था अस्थिर छ त्यसैले दृश्यहरू पनि अस्थिर छन्। उनीहरूको जीवनमा एकरुपता छैन त्यसैले दृश्यहरूको बगाइमा पनि एकरुपता छैन। उनीहरूको गन्तव्य निश्चित छैन त्यसैले सेटिङहरू पनि एकरुप छैनन्। पात्रहरू आफूलाई टेबलटेनिसको बलसँग तुलना गर्छन्।
त्यो अवस्थालाई यी पंक्तिहरूले यसरी स्पष्ट पार्छन्ः
यो क्षितिजबाट उ क्षितिजमा पुग्छौ
हरेक क्षितिज नयाँ भइदिन्छ
नाटकले दर्शकहरूलाई कुनै पनि पात्रहरूसँग लामो समय एसोसिएट हुन दिँदैन। एउटा पात्र स्थापित हुन हुन खोज्दा नाटकको सिन अर्कै पात्रमा पुगिहाल्छ।
यसबाट निर्देशक लुनिभा तुलाधर जर्मन सिद्धान्तकार बर्तोल्त ब्रेख्तबाट प्रभावित छन् भन्ने बुझ्न सकिन्छ।
ब्रेख्तले दर्शकहरूलाई कुनै पात्रसँग भावनात्मक रूपमा नजिक नभई स्टेजमा उठेको विषयमा गहिरिएर सोचून् भन्ने अपेक्षा राख्थे। सायद उनले पनि नेपाली दर्शकहरूबाट यही चाहेकी छन्।
नाटकमा नलुकेका कमजोरीः
नाटकमा कमजोरीहरू पनि छन्।
केही स्थानमा बाहेक धेरै स्थानमा पात्रहरूको अभिनय एकदमै सपाट छ। केही पात्रहरू बाहेक धेरैको अभिनयमा डायलगको भाव र अनुहारको एक्सप्रेसन मिलेको देखिँदैन।
स्टेजमा अभिनय गर्नु भनेको एकअर्कालाई राम्रोसँग सुन्नु पनि हो। पात्रहरूले जति नजिकबाट एक अर्कालाई सुन्छन् त्यति एकअर्काको डायलगले उनीहरूको अनुहारमा नयाँ नयाँ भाव पैदा गर्छ।
यो नाटकमा धेरै स्थानमा पात्रहरू डायलग बोलिरहेका हैनन् कि रटेको डायलग बोलिरहेका जस्तो लाग्छन्। उनीहरू एकअर्कालाई सुनिरहेका छैनन्। केबल आफ्नो डायलग बोल्ने पालो सकाउन लागिपरेजस्तो लाग्छन्।
नाटकमा प्रस्तुत गरिएको कमेडीमा पनि यही कुरा लागू हुन्छ। पात्रहरू कमिक पात्र भएर आउनु भन्दा पनि कमिक डायलग बोलेर दर्शकलाई हँसाउने प्रयत्न गर्छन्। जुन धेरैठाँउमा ओभरएक्टिङ बनेर विफल भएको छ।
बच्चा जन्मिने बेलामा देखाएको कमिक सिन अनावश्यक छ।
कुनै कुनै सिनहरू नाटकमा जति महत्त्वपूर्ण रूपमा उठ्नुपर्ने हो त्यति महत्त्वपूर्ण रूपमा उठ्दैनन्।
उदाहरणको लागि शरणार्थीको बच्चा जन्मिएको सिन। त्यो सिनले नाटकमा प्रयोग भएका कविताहरूमध्ये मुख्य कवितांशलाई समेट्थ्यो जसले ‘म जन्मने बित्तिकै मेरो आमाले भनिन् 'तिमी शरणार्थी हौ’ लाई प्रतिबिम्बित गर्नुपर्थ्यो। तर सकेको छैन।
झ्यालबाट तिमी शरणार्थी भएर जन्मियौ भन्ने डायलग बोलाउनुको सट्टा दृश्यको सहायताले ऊ शरणार्थी भएर जन्मिएको कुरा दर्शकलाई देखाउन सक्ने ठाउँ थियो। त्यसले उक्त दृश्यलाई केवल एउटा डायलगको लागि राखिएको भान पार्छ।
भारतमा भेट भएका दुई शरणार्थी युवा युवतीहरूको कथा देखाउन पनि ज्यादै हतार गरिएको छ जसले गर्दा त्यो स्थानमा पुगेर नाटक सकाउन हतार गर्दै फास्ट फरवार्ड गरिएको हो कि जस्तो लाग्छ।
र कतिपय अवस्थामा गम्भीर विषय उठाउन कमेडीको सहायता पनि लिइन्छ। नाटकमा पात्रहरू भारत पुगेको प्रसङ्गलाई देखाउँदा यस्तै प्रयोग गरिएको देखिन्छ। तर त्यसरी कमेडीको प्रयोग हुँदा देश र समुदायको ‘मिस रिप्रिजेन्टेसन’ हुन सक्छ भन्ने कुरामा नाटकले अलिक ध्यान पुर्याएको छैन।
अन्त्यमा,
वर्तमान नेपालको भूगोलमा यो नाटक मञ्चन हुनु आफैंमा पनि ठूलो कुरा हो। यसले नेपालको विदेश नीति तथा ‘एक चीन’ नीतिलाई नचलाईकन केवल मानवीय संवेदनाको पक्षलाई उजागर गरेको छ।
सुण्डुका कविताहरूले कसैलाई पनि दोष लगाएका छैनन्। कि वर्तमान अवस्थाको कठिनाइलाई न्यारेट गरेका छन्। कि विगतको नोस्टाल्जियामा पुगेका छन्। कि भविष्यप्रति नौलो आशा राखेका छन्।
सुण्डुलाई नेपाली रंगमञ्चमा ल्याउने कोराको प्रयास स्वागयोग्य छ। आशा छ यसले नेपाली कविहरूलाई नयाँ ढङ्गले रंगमञ्च निम्त्याउने बाटो बनाउनेछ।