स्टेजमा ठडिएका ति पिलरहरूको टाउकोमा हाँडी छ र ति हाँडीमा जुँगा छन्। खास्टो ओढाइएको छ। नाटिकाको एक दृश्यमा राजेन्द्रलक्ष्मी एउटा पिलरको खास्टो तान्छिन्, त्यसलाई पछार्दै गर्जिन्छिन् र राज सिंहासनमा बस्छिन्।
ति पिलरहरू त्यो विगतका पुरुषहरू हुन्। के ति त्यसरी मौन कहिल्यै थिए? तिनको काँधमा झुन्डिएका खास्टोहरू उनीहरूले ओढेको सामाजिक चेत। के ति पात्रहरू इतिहासमा कतै अहिले नाटिकामा देखाइए जस्तै चुपचाप उभिएथे? हो भने हामीले स्कुलको किताबमा पढेको एक पाना इतिहासमा अटेकी राजेन्द्रलक्ष्मीको अनुहार किन धमिलो छ? ब्रोसरले भने जस्तै के पुरुषप्रधान समाजको दृष्टिकोणमा लागेको बादलले धमिलो देखिएको त हैन?
नाटिकाको पहिलो दृश्यमा घाँघर लगाएर कत्थक नृत्य नाचेका खुट्टाहरूले किन त्यस्तो व्यग्र धुन बजाएका होलान्? के सुनाउन चाहन्छन् घाँघर? त्यस बेला लाइट उनको खुट्टामा मात्र किन देखाइयो? अहिलेको समयलाई राजेन्द्रलक्ष्मीको समयसम्म लैजाने प्रयास किन गरियो?
राजेन्द्रलक्ष्मी नभएकी भए नेपालको इतिहास कता मोडिन्थ्यो? यो प्रश्न कसैलाई सोध्ने हो भने जवाफ गह्रौँ हुन जान्छ। यसर्थ उनी नेपाली इतिहासकी सबैभन्दा जटिल प्रश्न हुन्। तर किन हामी त्यो प्रश्नलाई एच्छिक मात्र बनाउँदै छौं? प्रतापसिंह र बहादुर शाहको बारेमा इतिहास लेखेको कलम राजेन्द्रलक्ष्मीको वरपर आइपुगेर किन डगमगायो?
‘राजेन्द्रलक्ष्मी’ हेरेर फर्किएपछि यी प्रश्न एक हप्तासम्म खेलिरहे। हेर्ने दिन पनि साथी निर्जलालाई बोलाएको थिएँ। हामीसँगै पढेका हौं विश्वविद्यालयमा। उनी ब्लग लेख्छिन्। सँगै नाटिका हेरेर उनलाई कस्तो लाग्छ प्रतिक्रिया लिन मन थियो। त्यसमा पछि कथा घेरोकी गुञ्जन दीक्षित पनि मिसिइन्। नाटिकाकी निर्देशक नम्रता केसीलाई पनि केही प्रश्न गरेको छु। यहाँ तिनै विषयहरूमा एक छिन मन्थन हुँदैछ।
++++++++
प्रोफेसर विलियम जी ग्रिन भन्छन्, ‘इतिहासको कथामा आधारित भएर बनेका नाटिका तथा उपन्यासहरूले इतिहासका अक्षरहरूलाई विस्थापित गर्दैनन् तर ती अक्षरलाई बुझ्नको लागि आवश्यक पर्ने कन्टेक्स्ट अर्थात् त्यसबेलाको सन्दर्भ भने उपलब्ध गराउँछन्।’
‘राजेन्द्रलक्ष्मी’ ले पनि नेपाली इतिहासको सन्दर्भ र अवस्थालाई राजेन्द्रलक्ष्मीको वरपर लगेर चित्रण गर्न खोजेको छ। राजेन्द्रलक्ष्मी एक ‘हिस्टोरिकल फेन्टासी’ मात्र नभएर एक सामाजिक यथार्थ थिइन् भन्ने जोड नाटिकाको छ। यसले उनलाई त्यसबेलाको समाज भन्दा पृथक एक नाममा सीमित गरेर हैन समाजकै बीचमा उनले गरेको सङ्घर्षलाई कथकको माध्यमबाट देखाउन खोजेको छ। उनलाई इतिहासका पन्नाबाट निकालेर ऊ बेलाको समाजमा उभ्याएको छ।
नाटिकामा प्रयोग भएका सबै पात्रहरू महिलाले खेलेका छन्। पुरुष पात्रहरू पनि। त्यस्तै देखाउनै पर्ने पुरुष पात्रहरूलाई बाहेक इतिहासका अरू कुनै पुरुष पात्रहरूलाई स्टेजमा देखाइएको छैन। महिलाहरू नै युद्धमा सहभागी भएका छन् भने उनीहरूले नै समग्र न्यारेटिभको जिम्मा लिएका छन्। यो दुई कारणले सांकेतिक छ। पहिलो त नाटिकाको इतिहासमा जतिबेला महिलाहरू नाटिका घरसम्म आइपुग्न सक्दैन थिए, त्यस बेला उनीहरूको रोल पनि पुरुषहरूले नै निभाउने गर्थे। अहिलेको समयमा अवस्था फरक छ भन्ने यसले देखाउँछ। अर्को कारण भनेको इतिहासमा महिलाले खेलेको भूमिकालाई एकदमै गौण राखिएको कुराप्रति निर्देशकको सांकेतिक आपत्ति पनि हो यो।
हामीले पढेको इतिहासमा बहादुर शाहको भूमिका बलियो देखिन्छ। तर यहाँनेर नाटिकाले उनको भूमिकालाई नजरबन्द गरिएसम्म पुर्याएर छोडिएको छ। म निर्देशक नम्रतालाई प्रश्न गर्छु ‘यो बहादुर शाहप्रतिको रिभेन्ज हो कि इतिहासप्रतिको असन्तुष्टि?’ उनी हाँस्दै जवाफ दिन्छिन् ‘यो रिभेन्ज हैन। तर मैले जब पनि बहादुर शाहलाई इतिहासमा राजेन्द्रलक्ष्मीभन्दा अगाडि सारिएको पाएँ त्यसले एक किसिमको असन्तुष्टि जन्माएको थियो। एक महिला भएकैले उनलाई बहादुर शाहभन्दा पछाडि राखिएको जस्तो लाग्छ। इतिहास लेख्ने पुरुषहरूलाई प्रश्न गरौँ भन्ने लागेर पनि मैले उनलाई अन्तिममा नतानेकै हुँ।’
विलियम जी ग्रिन फेरी भन्छन्, ‘इतिहासले कुनै समुदायको भित्री अनुभवहरूलाई लुकाएर राख्छ।’
राजेन्द्रलक्ष्मीको इतिहासमा पनि उनले सती जाँदिन भन्दा त्यस समयमा के कस्ता तरङ्गहरू आए भन्ने कुरा लुकेको छ। उनलाई केबल टाढाबाट देखिएकी रानी मात्र बनाइएको छ। नाटिकाले टाढा पुगेकी रानीलाई नजिक ल्याउने प्रयत्न गरेको छ तर पूर्णरूपमा सफल हुन सकेको छैन।
राजेन्द्रलक्ष्मीलाई राजेन्द्रलक्ष्मी बनाउने दुई निर्णयहरू, सती नजाने र नायबी चलाउने, कुराको वरपर नाटिकाको कल्पनाशीलतामा घुमेको भए त्यसले ठूलो प्रभाव छोड्ने थियो। उनले सती जान्न भनेको दृश्य अथवा नायबी चलाउँछु भनेको दृश्यमा कुनै एक नाटिकाको ‘क्लाइमेक्स’ हुनुपर्थ्यो। बहादुर शाह र प्रतापसिंह शाहबीचको सङ्घर्षको दृश्यजस्ता केही दृश्यहरू राजेन्द्रलक्ष्मी र बहादुर शाह तथा राजेन्द्रलक्ष्मी र समाजको बीचमा देखाउन पाएको भए नाटिकाको उचाइ अर्कै हुने थियो।
अनि नाटिका सानो सानो दृश्य देखाउने भएर बरालिएको पनि छ। राजेन्द्रलक्ष्मीको इतिहासलाई प्रश्न गर्दा उनले निर्णय गरेपछि के कस्ता असरहरू परे भन्ने कुरा जरुरी हुन्थ्यो। निर्णय भन्दा पनि जटिल निर्णय पछिको तरङ्ग हुन्छन् भन्ने कुरा नाटिकाले भुलेको छ। त्यसैले हामीले पढेको राजेन्द्रलक्ष्मीलाई स्टेजमा ल्याउने प्रयत्न प्रशंसनीय भए पनि राजेन्द्रलक्ष्मीको हस्तक्षेपकारी निर्णयको तरङ्ग देखाउन नसक्नु नाटिकाको कमजोरी भएको छ। उनलाई हुर्काउन गरिएका प्रयत्नलाई भन्दा रानी भएपछि उनले भोगेका द्विविधा र कठिनाइहरू महत्त्वपूर्ण हुन सक्थे।
कथकको माध्यमबाट गरिएको कथाबाचन सुन्दर छ। घोडा चढेको योद्धा तथा घोडाको डाप बजेको आवाज तथा सिपाइहरूको मार्चपास दृश्य उत्कृष्ट छन्। नेपाली नाटिकामा विरलै देख्न पाइने ती दृश्यहरू नाटिकामा अरू धेरै ठाउँमा प्रयोग हुन सक्थ्यो। तर कतै कतै भने डायलग भन्ने सुरमा नृत्य वा हाउभाउको मूभिकालाई गौण राखिएको छ। राजेन्द्रलक्ष्मी जन्मिएपछिको सिनमा आमाले उनलाई आशीर्वाद दिएको सिनमा डायलग जरुरी थिएन।
नाटिकाको अन्तिममा एउटा दृश्य छ जहाँ सिंहासनमा बसेकी राजेन्द्रलक्ष्मीको अगाडी कयौं धागोहरू टाँगिन्छन्। अहिलेको समयका केही बालबालिकाहरू त्यसैमा अड्किँदा बाँकी पात्रहरूले उनीहरूलाई त्यो धागोको जञ्जालबाट मुक्त गर्छन्। यो दृश्य एकदमै महत्त्वपूर्ण किन छ भने यसले अहिलेको समय र पहिलाको समयलाई बाँधेको छ। इतिहासमा टुटेको जस्तो लाग्ने राजेन्द्रलक्ष्मीलाई बाँध्ने धागोहरू अहिले पनि उस्तै छन्। ति धागोहरू अहिलेसम्म धेरै लामो भइसके। तिनलाई नाटिकाको दृश्यमा जस्तै चुँडाउनु जरुरी छ।
कति महिलाहरूले ति धागो चुँडाए? कति त्यही धागोमा बाँधिएर सकिए?
र यो नाटिकाको सबैभन्दा सबल पक्ष नै न्यारेटिभ हो। कथक नृत्य, प्रत्यक्ष सङ्गीत र प्रकाश माध्यमबाट दिन खोजिएको न्यारेसन सुन्दर छ। नाटिका सुरू हुनेबेला नै एक पात्रले आएर केही प्रश्नहरू गर्छिन्। र उनी भन्छिन् ‘तपाईं यी प्रश्नहरूबारेमा सोच्दै गर्नुहोस्, ममाथि लाइट चलाउन जान्छु।’ उनले त्यो भन्नु सांकेतिक छ। उनी इतिहासमा अँध्यारोमा हराएका केही दृश्यहरूलाई उज्यालो बनाएर देखाउन खोज्दैछिन्। रंगीन बनाएर सुनाउन खोज्दै छिन्।
नाटिकालाई दरबारभित्र र दरबार बाहिर गरी विभिन्न स्थानमा सेट गरिएको छ तर स्टेज एकै ठाउँमा हुँदा त्यसले स्पष्ट खाका भने देखाउँदैन। विलियम जी ग्रिन भन्छन्, ‘ऐतिहासिक नाटिकाहरूमा इतिहासको प्रयोग गरेर नाटिकाकारले बितेर गइसकेको कुनै स्थान वा समयलाई निश्चित कारणले छानिरहेका हुन्छन्।’
यो नाटिकाले राजेन्द्रलक्ष्मी जन्मिएदेखि नायव चलाएसम्मको समय र स्थानलाई छानेको छ। यसर्थ नाटिकालाई सकेसम्म छानिएको समयको दायराभित्र समेट्नु पर्थ्यो। सेटलाई थोरै परिवर्तनीय बनाएर देखाउन खोजेको भए, पिलरहरूलाई सार्ने बनाउन सकिन्थ्यो, यो नाटिकालाई ती स्थानहरूमा सेट गर्नुको उद्देश्य देखाउन सकिन्थ्यो होला।
नाटिकाले उनी राजेन्द्रलक्ष्मी हुन् भन्ने देखाएको छ र त्यो समयमा राजेन्द्रलक्ष्मी हुनु कति कठिन थियो भन्ने कुरा स्पष्ट देखाउन चुकेको छ। राजेन्द्रलक्ष्मीको ‘इनवार्ड इमोसन’मा काम गर्न खोजेको भए कथा एकदमै सपाट हुनबाट जोगिन्थ्यो।
++++++++
नाटिकाकी निर्देशक नम्रताले पहिलोपल्ट राजेन्द्रलक्ष्मीलाई पढ्दा तरंगीत भएकी थिइन्। कुत्कुत्याउँथ्यो। उ बेला पनि त्यस्तो हिम्मत गर्न सक्ने महिला। उनी राजेन्द्रलक्ष्मीको कथालाई व्यक्त गर्ने कुनै तरिका खोज्थिन् तर भेट्दिनथिन्। त्यसबीचमा कथक सिक्न भारत गइन्। त्यहाँ उनले झाँसीकी रानीको कथालाई कथकमा भनिएको प्रोजेक्टमा काम गर्न पाइन्।। उनीहरूले कति गर्वका साथ उनको वीरगाथाको कहानी भनेका सुनेका छन्। हामीले कहिले सुन्ने?
त्यो प्रश्नले ‘राजेन्द्रलक्ष्मी’ बन्यो।
नाटिका हेरिसकेर म निर्जलालाई केही प्रश्नहरू सोध्छु।
तपाईं आफूलाई पनि नाटिकाको राजेन्द्रलक्ष्मी भएको महसुस हुन्छ?
हामीले सोच्ने तरिका अझै पनि तिनै कुराहरूमा अल्झिएको छ। यसो गर, त्यो नगर, यस्तो हुनुपर्छ भन्नेजस्ता कुरा राजेन्द्रलक्ष्मीलाई त्यसो नगर यसो नगर भन्ने सन्दर्भमा मिल्छन्।
अहिलेको समयमा राजेन्द्रलक्ष्मीको कथा किन देखाइनुपर्छ होला?
अहिले हामी इतिहासमा फर्किएर त्यसलाई पुनर्व्याख्य गरिरहेका छौं। देश पनि नयाँ संरचनामा गइरहेको वर्तमानमा नयाँ कुरा सोचिरहँदा इतिहासलाई पनि नयाँ ढङ्गले सोचिएन भने अधुरो हुन जान्छ। अहिले राष्ट्रप्रमुख महिला हुनुहुन्छ र इतिहास सम्झिँदा महिलाले राज्यको बागडोर समालेको थियो भन्ने देखिनु सुखद कुरा हो। नयाँ आउने पुस्ताले यी दुई महिलाहरूलाई एउटा कालखण्ड बनाएर अध्ययन गर्नको लागि यो नाटिकाले एउटा माइलस्टोन हुन्छ जस्तो लाग्छ।
तपाईंलाई आफूसँग रिलेटेबल इलिमेन्ट्सहरू चाहिँ के के लाग्यो?
अझै पनि बिहेको कुरामा हामी मनोवैज्ञानिक दबाबमा हुन्छौं। राजेन्द्रलक्ष्मीले आफ्नो पितासँग गरेको सङ्घर्ष स्वरूप फेरिए पनि अहिले हामीले गरिरहेका छौं।
अनि गुञ्जनलाई सोध्छु।
नाटिकाको सम्भावना देखाएर पनि गर्न नसकेको कुनै काम देख्नुभयो?
‘नाटिकाले राजेन्द्रलक्ष्मीको कथा स्टेजमा पुर्याए पनि फरक खाले दृष्टिकोण ल्याउन भने चुकेको छ। त्यहाँ काम गर्ने ठाउँ थियो। सुरूदेखि अन्तिमसम्म जे देखाइयो त्यो एकदमै फ्ल्याट लाग्यो। कल्पनामा अझै खेल्न मिल्ने ठाउँ थियो।’
नाटिकाको सबल पक्ष नि?
डान्सको माध्यमबाट कथा भन्न गाह्रो भए पनि नाटिकाले त्यसमा आफूलाई अब्बल सावित गरेको छ। बीचबीचमा गरिएको ब्रेकहरू राम्रो लाग्यो। अनि लाइट चलाउनेदेखि सबै जना महिला भएको पनि मनपर्यो। हुन त महिलाले पुरुषको रोल गरेको हेर्दा केही खिन्न त लाग्छ तर त्यही खिन्नताले पनि प्रश्न त गरेकै छ। हरेक ‘हिस्ट्री’ ‘हिजो स्टोरी’ भएका छन् किनकि पुरुषहरूले लेखे। नाटिकाले अहिलेको वर्तमान नै पनि प्रश्न गर्छ। हामीले आफ्नै इतिहास पनि कति आफैं लेखेका छौं र कति पितृसत्तालाई लेख्न दिएका छौं।
++++++++
इतिहासको अध्ययनले वर्तमानलाई बाटो देखाउँछ। त्यो गल्ती गर्नबाट रोक्छ जुन पहिला भइसकेको छ। इतिहासमा जुन कारणले केही पात्रहरू हराए वा हराइए, त्यसको खोजी गर्नु एकदमै जरुरी छ। एकदमै महत्त्वपूर्ण पात्र भएर पनि थोरै मात्र चर्चा भएकी राजेन्द्रलक्ष्मी कसरी हराइन्? नाटिकाको सुरूवातमा भनिए जस्तै ‘सङ्घर्ष उनको एक पाना लामो इतिहासमा अटाउँला? तस्बिर नि छैन उनकाबारे के के नै भेटाउँला? राजेन्द्रलक्ष्मी आफैं नै भइन् वा अरूले बनाए? उनका नाममा पढिने इतिहास क-कसले बनाए?’ कम्तीमा यो प्रश्न उठाउन भने ‘राजेन्द्रलक्ष्मी’ सफल भएको छ।