दयालु रुख नाटक मञ्चन हुनुभन्दा पहिला कथा घेरोको कौसी थिएटर उद्घाटन भयो। त्यसपछि बजाउने थाले सलिल सुवेदीले एउटा अनौठो बाजा। उनले लगभग २ मिटर लामो त्यो बाजालाई आकाशतिर फर्काए। अनि सबैको वरपर घुमाए। स्वस्ती शान्ति गरेको जस्तो। अनि अघि लागे। हामी भर्यांङ उक्लिँदा उनी बाटोमा पर्खिरहेका थिए। उनले उद्घाटन कार्यक्रममा आएका सबै पाहुनाहरूलाई उक्त बाजाको धुनले घेरो लगाएर स्वागत गरे।
त्यो बाजा अनौठो छ। कुनै गहिराइबाट आएको प्राथनाको आवाज। प्रकृतिले आफैं सङ्गीत भरेको कुनै सिर्जना जस्तै। म उक्लिने बेला बाजालाई नजिकबाट हेर्छु। त्यो चिल्लो छ। बाहिर रेसाजस्तो केही देखिन्छ। झट्ट हेर्दा रुखको कुनै हाँगोजस्तो लाग्छ। हैन जस्तो पनि लाग्छ। त्यो के हो?
नाटक घरमा सबैलाई छिरिसकेपछि उनले बाजाको परिचय दिँदै भने ‘यो डिजेरुडु हो। रुखमा धमिराले खाएको हाँगोबाट बनाइएको बाजा। कुनै दयालु रुखले छोडेको हाँगो। सायद यसले पनि नाटक ‘दयालु रुखको’ महत्त्वलाई बजाइरहेको होला।’
नाटक हेर्यौं।
+++++++
‘दयालु रुख’ प्रकृतिको सेलिब्रेसन त हो नै, अमेरिकामा लेखिएको एउटा कथालाई हाम्रो परिवेशमा बोलाई हाम्रा छन्द कविताहरूसँग घोलेर स्टेजमा उभ्याइएको एउटा सुन्दर रुखको यात्रा हो। त्यो रुख जसले आफू टुटेर पनि अरूलाई नि:स्वार्थ दया गरिरहेछ।
म नाटकको प्रमुख पात्र ‘बाबु’ को यात्रा भन्दै छैन।
मैले रुख नाटक हेरुन्जेल राजमार्ग तथा बाटो विस्तारका क्रममा काटिएका धेरै रुखहरू सम्झिएँ। रुखबाट बनेका संरचनाहरू र फलैँचाहरू सम्झिएँ। अनि सन्तानलाई दिएर कहिल्यै नथाक्ने बुवाआमाहरू सम्झिएँ र शिक्षकहरू पनि सम्झिएँ। मलाई अहिलेसम्मको यात्रामा धेरैथोक दिएका धेरैजनालाई सम्झिएँ र झस्किँदै सोचें ‘कतै म नाटकको बाबु पात्र जस्तै केवल लिइरहेको त छैन? आफूले समयका लागि लिइरहेको कुरा कति चाँडै निरर्थक हुँदैछन् भन्ने सम्झिएको छु कि छैन?’
नाटकले एउटा रुखलाई मानवीय संवेदना दिएर उभ्याएको छ। कवितामा यसलाई पर्सोनिफिकेसन अथवा व्यक्तिकरण भनिन्छ। मानव बाहेकका सजीव र पुनर्जीवन जुनसुकै वस्तुलाई मानवको गुण दिएर मानव जस्तो बनाएर हेर्नु। उनीहरू मानव भएका भए कसरी सोच्थे भनेर बताउनको लागि प्रयोग गरिन्छ यसलाई।
मेरी सी फिनरी भन्छन् ‘पर्सोनिफिकेसनले अमूर्त भावनालाई शरीरको माध्यमबाट व्यक्त गरेर त्यसमार्फत् दर्शकको भावनात्मक प्रतिक्रिया पाउने अपेक्षा राख्छ।’
यो नाटकमा त्यसैले पनि रुखलाई एउटा निर्जिव प्रब्सको सहायताले नदेखाई भावना, चेतना र मनसहितको मानव शरीर जस्तै प्रस्तुत गरेको छ। त्यसले कथालाई त न्याय गरेको छ नै, नाटकको सौन्दर्यमा पनि प्राण भरेको छ।
नाटकमा रुख र अर्को पात्र बाबु छन्। बाबु सानो हुँदाखेरि रुखसँग चिनजान हुन्छ। ऊ रुखसँगै खेल्दै हुर्किन्छ। तर बिस्तारै टाढा हुँदै जान त्यो संवादमा पनि मानवीयता झल्किन्छ। बालकको हरेक भावनासँग रुखले प्रतिक्रिया दिन्छ। बालक हाँस्दा रुख हाँस्छ, बालक नाच्दा रुख पनि नाच्छ।
दुइटा दृश्यहरू सारै गहिरा छन्। पहिलो जब आइहाल्छु भनेर फर्किएको बाबु फर्किएर आउँदैन। हरेक दिन ऊ आउँछ कि भनेर रुख बाटो हेरिरहन्छ। कसैको पर्खाइ कति कठिन हुन्छ? अझ आउने हो कि हैन थाहा नभएका मानिसहरूको पर्खाइ? रुखको लामो पर्खाइलाई नाटकले सुन्दर प्रकाश संयोजनको माध्यमबाट देखाएको छ। प्रकाश क्रमशः बिहान, दिउँसो र साँझ र रातमा परिवर्तन हुन्छ। रुख सुत्छ र उठ्छ। उठ्छ र सुत्छ। हरेक आवाजमा बालक फर्कियो कि भनेर झस्किन्छ। तर ऊ फर्किँदैन।
म नवीन प्राचीनका कविताको हरफ सम्झिन्छु:
चुपचाप,
केही नभनी
जान्छन्
जानेहरू
छोडेर असङ्ख्य प्रश्न
जानेहरूका मनमा
अनि आउँदैनन्
जवाफ दिन
फर्किएर कहिल्यै
एक दिन ऊ फर्किन्छ तर जस्तो गएको थियो त्यस्तो फर्किँदैन।
ऊ आउँछ अर्कै स्वरूपमा। समाजले थुपारेको जिम्मेवारीको बोझ बोकेर। आफू हुर्किएको आडम्बरले आँखा छोपेर। ऊ रिसाउँछ रुखसँग। सुन्छ रुखको फल लैजाने प्रस्ताव। लैजान्छ रुखले साँचेका बहुमूल्य फलहरू। नाटकको दृश्यले यहाँ आइपुगेर पहिलो झड्का दिन्छ। रुख मान्छे बन्छ, मान्छे मान्छेबाट खस्छ। फलफूरूपी रिवन रुखको शरीरबाट तान्दै गर्दा बाबु विवेकशून्य देखिन्छ। ऊ रुखले आफ्नो मुटुबाट झिकेर दिएको फल चिन्दैन। रिवन झ्वाट्ट तान्दा रुखलाई पीडा हुन्छ तर कराउँदैन। कसैले उप्किएको छाला वा नङ फुत्त तानेर उप्काएजस्तो। सोच्दै नसोचेको कसैको हातले पेटमा बक्सिङ हानेर फर्किएजस्तो।
बाबु सानो हुँदा काउकुती लगाएको थियो रुखलाई। रुख हाँसेको थियो। तर त्यो हाँसोको बदला कसरी लिँदै छ हिजो ऊ सकैको काखमा हुर्किएर अहिले युवा भएको मान्छे? कसरी लिँदैछन् कसैले दिएका चिज लिनेहरूले? यो नाटकले सबै दर्शकलाई एकैपल्ट सोध्छ ‘कतै तिमीहरूले पनि बाबुले जस्तै थुतेर त लिएनौ केही चिज? लिएर हिँड्नेबेला फर्किएर हेर्यौं कि हेरेनौं?’
दुइटा दृश्यमा दर्शकको प्रतिक्रिया खोजें मैले।
अर्कोपल्ट आएको बाबुले बनाउन हाँगा काट्दै गर्दा रुखले आँखा छोपेको दृश्य झनै मार्मिक छ। हाँगा ढल्दा बेसहारा भएको रुखको फेद यताउता हल्लिन्छ निकैबेर। त्यसपछिको दृश्यमा ऊ हाँगाले मात्र नपुगेर डुंगा बनाउँछु भन्दै रुखको फेदै ढलाउँछ। डोरी बाँधेर तानेपछि फेद निक्कैबेर हल्लिन्छ र ढल्छ।
म वरपरका दर्शकलाई हेर्छु। धेरैको आँखामा आँसु छ। केही त रुख ढल्ने दृश्य हेर्न नसकेर आँखा चिम्लिँदैछन्।
मार्था लेभिनिया होफमानको ‘टु दि ट्रिज’ कविताका कवितांश सम्झिन्छु:
जंगल र खोँचका रुखहरू
ती मानिसहरूसँग मित्रता गाँसिरहेका छन्
जो हाँगाभन्दा साना र कमजोर पाखुरामा
उनीहरूको जीवन छिनाउने बन्चरो लिएर खडा छन्।
मानिसको सहायतामा जरादेखि टुप्पासम्म रुख उभ्याएकी निर्देशक आकाङ्क्षाले रुखको भावनालाई त मानवीय बनाएकी छन् नै, रुखका हरेक मोमेन्टहरूलाई सजीव देखाएकी छन्। भेषभुषाको संयोजन त्यहाँ सुन्दर लाग्छ। हाँगा काटेको होस् या फेद ढालेको होस्, रुख हल्लाएको होस् या हावाले पात हल्लिएको होस् सबै दृश्यहरू एकदमै सजीव र प्राकृतिक लाग्छन्। नाटकले स्टेजमा रुख नभएर मानिसहरूको समूह हो भन्ने महसुस हुन दिँदैन।
एउटा दृश्यमा जब हाँगो काटेर बाबुले लैजाँदै हुन्छ, रुखले सोच्छ ‘बाबु एकैछिन बस न।’ नाटकले रुखको भावना प्रस्तुत गरेर दर्शकलाई अपिल गर्छ ‘कति हतारमा छौं? एकपल्ट तिम्रो खुसीको लागि जीवनभर खिइरहेका मान्छेहरूलाई सम्झिदैँनौं?’
पहिलोपल्ट बाबु आउँदा जति खुसी भएर हात हल्लाउँछ दोस्रोपल्ट हल्लाउँदैन रुखले। तेस्रोपल्ट त ऊ नजिकै आएको बेला पनि प्रतिक्रिया जनाउँदैन। रुख बाबुप्रति खुसी छैन भन्ने कुरा रुख बनेर उभिएका पात्रहरूका आँखामा देखिन्छ। उसलाई लाग्यो होला ख्याल नगरूँ तर मन मान्दैन अनि फेरि बोलाउँछ, ‘बाबु आऊ मेरो हाँगोमा खेल। तिमी खुसी हुनेछौं।’
अरूको खुसीको लागि आफ्नो रिस, लोभ, घमण्ड सबै त्याग्न सक्नेहरू कति महान् होलान्? कति कमाउँलान् एउटा मान्छेले जीवनभर त्यस्ता महान् मान्छेहरू? पाएकालाई पनि चिन्छन् त सबैले?
आफूसँग सँगै खेलेको तथा हुर्किएको एउटा बालक कति चाँडै नचिनिने भएर आइपुग्छ रुखको छेउमा। के ले उसलाई रुखबाट त्यति पर लैजान्छ?
यो नाटकले दिनदिनै एक अर्काप्रति अधैर्य, असहिष्णु र वेवास्था बाँचिरहेका सहरमा मानिसहरूलाई प्रश्न गरेको छ।
तर बालक पर्खँदैन। पछि आउँछु भन्दै हिँडिरहन्छ। अनि उसको यात्रा प्रोजेक्टरमा देखाइएको एनिमेसनले बढाउँदै जान्छ। हिँड्दै गर्दा धेरै कुराहरूबाट छुट्दै जान्छ। र नाटकको अन्तिम सिनमा आइपुग्छ। यसबेलाको एउटा ब्लकिङ महत्त्वपूर्ण छ। अरूबेला बाबु पात्र आउँदा जहिल्यै रुखभन्दा टाढा हुन्थ्यो। तर बुढेसकालमा लौरो टेकेको हात काँप्दै गरेको बाबु सिधै रुखतिर जान्छ। यसले प्रकृतिबाट सुरू भएर प्रकृतितिर जाँदै गरेको एउटा यात्रालाई प्रतिबिम्बित गरेको छ।
म सोच्छु, रुखले जस्तै काठमाडौंका पोखरी र सुकेका धाराहरू यसैगरी स्टेजमा आउँथे भने के के भन्दा हुन्?
+++++++
नाटकको सङ्गीत पक्ष असाध्यै सुन्दर छ। निर्देशकको काम देखिने दुई ठाँउहरूनै रूखको प्रिजेन्टेसन र सङ्गीतको लागि प्रयोग भएका कविताहरूको छनोट हो। विदेशीले लेखेको कथालाई नेपालमा ल्याउँदा धेरै हुने समस्या नै उताको संस्कृतिलाई छोडेर यताको संस्कृतिमा मिसाउन नसक्नु हो। तर यहाँ आकाङ्क्षाले चलाखी गरेकी छन्। नाटकको हरेक स्टेजलाई ती कविता तथा गीतहरूमा उनेकी छन्। छन्दमा बोलिएका ती अक्षरहरूले नाटकलाई नेपालको परिवेशमा ल्याएर कसिलो गरी बाँधेका छन्। ती गीतहरू नाटकलाई अगाडि बढाउन वा कथा भन्न आएका छैनन्। नाटकमा प्रस्तुत भएका दृश्य तथा नाटकको गतिलाई समृद्ध बनाउन आएका छन्। नाटकमा पोखिएको इमोसनलाई दर्शकको मनसम्म पुर्याउन आएका छन्। अदिश्री ढुंगनाको सुमधुर सङ्गीत र आवाजले नाटकलाई भव्य बनाएको छ।
यो नाटक तीन खाले दर्शकले हेर्नै पर्ने नाटक हो।
पहिलो, ती दर्शक जसले अहिलेसम्म कुनै नाटक हेरेका छैनन्। उनीहरू विश्वविद्यालयमा नाटक पढिरहेका हुनसक्छन् वा स्कुल गइरहेका वा नाटक सहरमा चलेको छ भन्ने थाहा पाएर पनि जान मन नगरिरहेका। यत्तिको सुन्दर नाटक हेरेर डेब्यु गर्नु छुट्टै अनुभूति हो।
दोस्रो, नाटक गरिरहेका कलाकार र निर्देशन गर्न लागेका नयाँ पुस्ता। एक निर्देशकले खेल्ने स्पर्श कति हुन्छ भन्ने दायरा पनि यो नाटकले सेट गरेको छ। नाटकको लाइट, प्रब्स र भेषभुषा सुन्दर छ। साथै एउटा सामान्य कथामा इमोसन्सको माध्यमबाट कति नजिकसम्म पुग्न सकिन्छ भन्ने कुरा पनि नाटकले स्थापित गरेको छ। रुख बनेर उभिउन्जेल जरा देखि टुप्पासम्मका कलाकारका हरेक एक्सप्रेसन एकदमै स्तरीय छन्। सानो बच्चा रमाएर खेल्दा उनीहरू चञ्चल छन्। बच्चाले फेरि आउँछु भन्दै बिदाइको हात हल्लाउँदा खुसी छन्। बच्चा नआउँदा दुखी छन्। उनीहरू हरेक सानो मोमेन्टमा पनि प्रतिक्रिया दिन्छन्। र त्यो प्रतिक्रिया बनावटी लाग्दैन। यसले कुनै प्रस्तुति बलियो हुन कथा बलियो हैन कथाभित्र यात्रा गर्न पात्रहरूको यात्रा बलियो हुनुपर्छ भन्ने सन्देश दिएको छ।
र तेस्रो ति दर्शक जो नियमित नाटक हेरिरहेका छन्। नाटक हेर्नु केवल एक घण्टा समय नाटकघरमा बिताउनु मात्र हैन। नाटकले प्रस्तुतिको माध्यमबाट गर्न खोजेको प्रयत्नलाई साक्षात्कार गर्नु पनि हो। नाटक हेर्नु भनेको नाटकको ब्यानर अगाडि फोटो खिचाउनु मात्र हैन, नाटकले कथा वा विषयको छनोट र प्रस्तुतिमार्फत् बोल्न खोजेको आवाजको पहिचान गर्नु पनि हो। यो नाटक हेरेर कम्तीमा एउटा रुखलाई मानवीय महत्त्वले हेर्न खोज्नेमात्र हो भने पनि सहरमा बाटो साँघुरो पारेको भनेर काटिँदै गरेका रुखहरू हुर्किरहन पाउनेछन्। वा रुख मात्र नभएर आफूलाई नि:स्वार्थ भएर हरेक क्षणमा साथ दिइरहने बुवाआमा, आफन्त, साथीभाइ सबैलाई चिन्ने मौका बन्ने थियो होला।
+++++++
थोरै कमजोरी देखेको छु।
नाटकमा देब्रेतिरको स्टेज जति सशक्त रूपमा प्रयोग भएको छ त्यो रूपमा दाइनेतिरको स्पर्श अलिक खाली लाग्छ। त्यसले पात्रहरूको मोमेन्ट तथा डायलगमा स्पष्ट स्पेश दिँदैन। नाटकमा रुख र बाबु पात्र मात्र भएकाले रुखको लागि दिइएको स्पेशमा भएको सौन्दर्य पक्ष बाबु पात्रमाथि भारी भएको जस्तो लाग्छ। पहिलो सिनमा जब बाबु आमाको अस्तुलाई सेलाउन पहाडमा उक्लिँदै हुन्छ। त्यस बेला उसलाई प्रकाशको सहायताले दिइएको बाटोले उक्त सिनलाई जसरी न्याय दिएको छ त्यस्तो न्याय उसको रुखसँग हुने अन्य भेटहरूमा देखिँदैन।
अनि कुनै कुनै एक्सप्रेसनमा प्रब्स प्रयोग कमजोर पनि देखिन्छ। एउटा व्यस्त र मानसिक रूपमा तनाव झेलिरहेको मानिस कस्तो हुन्छ? भन्ने विषयमा अलिक कम खोजी गरिएको हो कि जस्तो लाग्छ। व्यक्ति पत्रिका कच्याककुच्चुक पारेर मात्र दिक्क मान्छ कि अरू नै केही गर्छ? उसको रुखसँग भेट कहिले र कुन समयमा भएको हो? भन्ने कुरा स्पष्ट नहुँदा ती स्थानमा अभिनयमा धेरै जोड दिएर सिन उकास्न खोजेको जस्तो लाग्छ। बाबु पात्रको ‘ब्लकिङ’ यानिकी पात्र यताउता गर्ने कारण, पनि बेलाबेला बरालिएको जस्तो लाग्छ।
अनि कथालाई कविताको मार्फतबाट जति नजिक ल्याइपुर्याइएको छ स्पेसको हिसाबले भने नाटक त्यति नजिक आउँदैन। कथामा नजिकै पानीको स्रोत छ। त्यसैले पनि बाबु एउटा डुंगा बनाएर कतै जान चाहन्छ। तर त्यो कुरा नाटकमा थाहा नै हुँदैन। अनि भेषभुषामा पनि काम गर्ने ठाउँ थियो। वृद्ध भइसकेको व्यक्तिले लगाउने कपडाले अगाडि जुन वातावरणमा बच्चा हुर्किएको देखाएको छ त्यो अवस्थालाई प्रतिबिम्बित गर्दैन।
र नाटकको अन्तिम दृश्य महत्त्वपूर्ण भए पनि अलिक लेन्दी लाग्छ। एकदमै गहन दृश्य भएर पनि त्यसले मान्छेलाई तान्दैन किनकि त्यो भन्दा पहिला रुखको थाम गुडाएर लगेको दृश्यले दर्शकलाई छुट्टै तहमा पुर्याएर छोडिसक्छ। नाटकका दृश्यले बोक्ने संवेदनाको ब्यालेन्स गर्नबाट पनि नाटक केही स्थानमा थोरै कमजोर देखिएको छ।
+++++++
प्रस्तुति, सौन्दर्य पक्ष, विदेशी कथाको मौलिक अनुवाद वा रुपान्तरण र नाटकको प्रकृयागत हिसाबमा भने ‘दयालु रुख’ नेपाली थिएटरको लागि नयाँ टर्निङ प्वाइन्ट हुनेछ।