नाटक हेरेर फर्किएपछिको सकस। नाटक छोटो समय किन चल्छन् भन्ने प्रश्नको जवाफ धेरै हुन सक्छन्। त्यसको खोजी यो लेखको उद्देश्य हैन। भविष्यमा गर्नेछु।
राम्रो बन्ने सम्भावना भएर पनि बन्न नसकेका धेरै विषयहरू हुन्छन्। ‘एलआइसी पिकनिक’ त्यस्तै नाटक लाग्यो मलाई। राम्रो बन्ने सम्भावना किन थियो भन्ने प्रश्नको जवाफ मलाई लागेका सबल पक्षले देलान्। किन बनेन भन्ने कुरा कमजोरीले भन्लान्।
सबल पक्ष:
नाटकमा प्रयोग भएका सेट दुई खाले छन्। एकथरि स्टेजमा 'फिक्स्ड' छन्। अर्कोथरि पात्रहरूले सिनअनुसार घुमाउँछन्। सहरको दृश्यमा ती भित्ता, समय र फोटा बन्छन्। फोटोमा वर्गसंघर्ष झल्काउने काल मार्क्स र लेनिन जस्ता दार्शनिक छन्। पिकनिकको सिनमा सहर देखाइएको त्यही 'प्रब्स' उल्टिन्छ र हरिया रुख देखिन्छन्।
वर्गसंघर्षको कुरा गर्ने दार्शनिकको फोटो छेउ उभिएर एक शिक्षिका पिकनिकको खर्च जुटाउन संघर्ष गरिरहेकी छन्। यस्तो संघर्ष नाटकका हरेक पात्रले गरिरहेका छन्। सबैभित्र केही बन्ने सपना छ तर त्यसमा अवरोधका पहाड छन्। आर्थिक अवरोधका पहाड।
सेटिङले केही हदसम्म नाटकको मुड स्थापित गर्छन्। सहरको दृश्यमा पात्रबीच भएका धेरै भ्रम पिकनिकका दृश्यमा खुल्छन्।
सहरले बाँचिरहेको भ्रमलाई नाटकले छोएको छ।
यसर्थ पिकनिक मनोरञ्जन मात्र हैन। पात्रहरूको 'रियलाइजेसन' पनि हो। त्यसले पात्रबीच आत्मीयता ल्याउँछ। फरक फरक पृष्ठभूमिका फरक फरक प्रकृति भएका पात्र आपसमा निकट बनाउँछ। द्वन्द्व पनि हुन्छन् तर तिनले पात्रलाई लामो समय असर गर्दैनन्। द्वन्द्वले उनीहरूलाई आफूप्रति प्रश्न गर्ने बनाउँछ।
पिकनिकमा नसोचेका पात्र यस्तरी खुल्छन् कि त्यसपछि उनीहरूलाई दर्शकले र पात्रले सोच्ने दायरा नै फेरिन्छ। साना साना दृश्यले पात्रको आयतन फैलाइदिन्छ।
हामीले गलत सोचेका धेरै व्यक्ति पनि त त्यस्तै नसुनिएको कथा बोकेर उभिएका होलान्? के सुन्छौं हामी उनीहरूलाई? खोज्छौं उनीहरूको अदृश्य कथा?
कुनै कुनै पात्रको परिचय खुलाउने कुरामा निर्देशकले अर्को पात्रमार्फत कुरा गर्न लगाएका छन्। एउटा पात्र बारेमा दर्शकलाई अरू दुई पात्रले गरेको कुराकानीबाट थाहा हुन्छ। यसले दर्शकलाई पात्र बुझ्न सहज बनाएको छ नै, मानवीय रूपमा पनि नजिक ल्याएको छ।
हामीसँग वरपर भएका धेरै मानिस जस्तो देखिन्छन्, त्यस्तो मात्र छैनन् । उनीहरूका बारेमा मूल्यांकन गर्नुभन्दा पहिला को हुन् र किन त्यस्तो छन् भन्ने बारे सोच्न पनि नाटकले सन्देश दिएको छ।
दुई पात्र, जो एकअर्कालाई मन पराउँछन् भन्ने थाहा छ तर भन्न सकेका छैनन्। उनीहरू बीचको प्रेम नाटकमा सुन्दर तरिकाले बुनिएको छ। नाटकभर विरलै बोल्ने उनीहरू आँखाको भावमा मात्र कुरा गर्छन्। कति चिज होलान् जो आँखाको भावले देखाएर पनि दर्शकलाई बताउन सकिन्छ।
अन्तिममा उनीहरू बोल्छन्। म सोच्छु, उनीहरूको संवाद नाटकको अन्तिममा नराखिदिएको भए?
नाटकमा दुई पटक प्रयोग भएको सपनाको दृश्य सुन्दर छ। सपनामा पाएका 'गिफ्ट'हरूमा नेपालीहरू धेरै जाने देशको झन्डा अंकित बाकस प्रयोग गरेको सांकेतिक छ। त्यो दृश्यले १२ कक्षा सकेपछि विदेश उड्ने धेरै नेपालीलाई प्रतिबिम्बित गरेको छ।
कमजोरी:
पात्रहरूको 'ब्लकिङ' एकदमै कमजोर छ। हरेक पात्र स्टेजको कुनै एक स्थानबाट अर्को स्थानमा जान कारण र उद्देश्य चाहिन्छ। नाटकमा धेरै पात्र त्यो कारण उद्देश्य बिना नै यताउता गर्छन्। उनीहरूको चाल र डायलग 'म्याच' गर्दैन।
कतिपय स्थानमा पात्रहरू डायलग बोल्नकै लागि संवाद गर्छन्। उनीहरू आफ्नो पात्रसँग गहन रूपमा परिचित नभएको कुरा स्पष्टै देखिन्छ।
धेरै विषय चलाइएको छ तर कमैमा मात्र न्याय गरिएको छ। कति विषय त 'ह्युमर क्रिएट' गर्नकै लागि थुपारिएको भान हुन्छ।
'प्रब्स'मा काम गर्न मिल्ने ठाउँ धेरै थियो। माथि उल्लेख गरे जस्तै 'मुभेबल प्रब्स'मा गरेको काम देखिए पनि 'फिक्स्ड प्रब्स'को भूमिका नाटकमा खासै देखिँदैन। ती किन त्यहाँ छन् र नहुँदा के फरक पर्छ भन्ने प्रश्नको जवाफ मैले भेटिनँ।
एउटा दृश्यमा कुनै पात्रमा फोकस लाइट प्रयोग भएका बेला बिनाकारण स्टेजभर लाइट छरिन्छ। कथाको 'न्यारेटिभ र मुड'लाई लाइटले स्पष्टगरी नसमातेको हो कि जस्तो लाग्छ।
नाटकमा 'इमोसन' देखाउने तरिका असाध्यै 'लाउड' छ। शिक्षकले शिक्षिकालाई आफ्नो कठिन विगतबारेमा बताइरहँदा किन त्यति धेरै 'लाउड' हुन्छ? यो समस्या राजधानीमा प्रदर्शन भएका अरू धेरै नाटकमा पनि देखेको छु। कसैले कसैलाई दु:खको कुरा सुनाउँदा त्यसरी नै सुनाउँछ कि हामी 'इमोसन'लाई अतिरञ्जित गरिरहेका छौं?
शिक्षिका पात्रका बारेमा जसरी अरू पात्रले कुराकानी गर्दा थाहा भयो, शिक्षक पात्रबारे पनि त्यसरी नै थाहा भएको भए?
निष्कर्ष:
नाटक हतारमा बनाएको थाहा हुन्छ। कुनै विदेशको प्रोजेक्टको लागि बनाएको हो कि भन्ने पनि थाहा छैन। दुवै नराम्रो हैन। तर आफूले गरेको काममा थपिँदै गरेको नयाँ कामले आफ्नो थिएटर करियरलाई कसरी 'डिफाइन' गर्ला भन्ने प्रश्न आशान्त शर्मासँगै सबै निर्देशकले सोच्ने कुरा हो।
अहिलेलाई पहिलोपल्ट स्टेजमा पुगेका धेरै पात्रहरू (अभिनय र संगीत दुवै) भोलिको दिनमा दोहोरिन सक्ने सम्भावना बोकेका छन्। त्यसअर्थमा नाटक धेरै पात्रको सुखद 'डेब्यु' बने पनि नेपाली थिएटरको लागि भने कुनै नौलो काम हैन।
सामान्य नाटकको क्रमभंगता सिल्पीको लागि पनि नयाँ चुनौती हो।
सबै तस्बिरहरू : सिमोन पौडेल