‘बाथटब’ हेरेर निस्किएपछि त्यसको छुवाइ नछुट्दै एकैछिन कुमार नगकोटीलाई पछ्याउँछु। उनी बाथरुम जान्छन्। बाथटबबाट निस्किएर बाथरुम।
नाटकबारे केही कुरा जस्ताको तस्तै सुनाउँला भन्ने लागेको थियो। असम्पादनमा छुटिगए।
हेरुन्जेल सम्झिएका केही विषय र दृश्यलाई कसैगरी बुझौंला सोचेको थिएँ। घर आउँदा बाटोमै छुटिगए।
हिँड्दा कति वादलाई कुल्चिए उनले? उनले लेखेका अक्षर कति बुझिने भएर पुगे निर्देशक घिमिरे युवराजकहाँ? र उनले कति बुझाए आफ्ना कलाकारलाई? कसरी गयो 'रियल वर्ल्ड'को एउटा कथा 'सर्रियल वर्ल्ड'मा? नाटक सुरु हुने बेलाको ‘गोथिक’ आवाजलाई केले रचना गर्यो?
ठूला नामको अघिल्तिर निर्देशक एकछिन सुस्ताए? वा पहिलोपल्ट स्टेज पुगेको अभिनयसँग झर्किए? झर्किए कि झसंग भए? यो उनको कुरा भो।
म आफ्नै कुरा त लेख्न असमर्थ छु भने, उनको कुरा के लेखुँला?
झसंग हुनु एक सुरले चलिरहेको शरीर हठात् अर्को सुरमा पुग्नु हो। झरी परेको रुखलाई कसैले हल्लाउँदा पानी झरेर हल्लाउनेलाई भिजाउनु हो। यो कथालाई स्टेजमा लैजाँदा धेरै जना त्यसरी नै भिजेको हुनुपर्छ।
नाटकको सुरुवातमा सूत्रधारले सहरमा ‘वर्षात् भएको छ’ भन्छन्। कलाकार त्यसैले पनि भिजे सायद। तर बाथटब खाली किन छ?
धेरै कठिन प्रश्नहरू फ्याँकेको थियो नाटकले। तै पनि लेखूँ लाग्ने केही चिज उक्लिँदै थिए दिमागमा। कसैले स्वाट्ट बाटो काट्यो। मैले बाइकको ब्रेक हानेँ। त्यो कुरा ब्रेकमै छुटिगयो। (जसरी नगरकोटी ‘औंलाहरू’ पढेर पोखराको स्टेजमै छुटिगए। शब्द उनको बाचनमै छुटिगए।)
अनिद्राको औंला उनले चलाएको पेस्तोलको ट्रिगरमा छुटिगए। त्यो दृश्य लाइट निभेसँगै स्टेजमै छुटिगयो। नाटक सकिएपछि स्टेज अँध्यारोमा छुटिगयो। दर्शक सहरमा छुटिगए। दर्शक सहर। सहर दर्शक।
साँच्ची, नगरकोटीलाई पछ्याउँदै थिएँ। उनी बाथमरूमबाट बाहिर निस्किन्छन्। छेउ जान खोज्दा कसैसँग मिसिइजान्छन्। एक मिसिएको ठाउँमा अर्को मिसिन के जानु?
पछि सर्छु। जसरी नाटकमा कथा पछि सर्छ। सपना पछि पर्छ। बिपना पछि सर्छ। फ्लास ब्याक। झल्याँस्स! कसैले केही भनेर बुझेको वा आफैंले आफैंलाई सुनेर? कसैलाई सम्झिएर रोएको वा आँखालाई? कसैले दिएर गएको वा भेटेको?
जे होस् पात्र अगाडि बढ्छन्। कथा पछाडि सर्छ। कथा पछाडि सर्छ। पात्र अगाडि बढ्छन्। ती पात्र 'सर्रियल' बोली बोल्छन् तर 'रियल' झैं लाग्छन्।
लेखकलाई विद्रोह गर्ने पात्र संविधानमा भइदिए के-के भनेर विद्रोह गर्दो हो?
सर्रियल रियल। रियल सर्रियल। संविधान रियल। संविधान सर्रियल।
'सिरियल किलर' भन्छ, दशगजा सबैभन्दा ठूलो चिहान हो। नो म्यान्स ल्यान्ड इज द ग्रेटेस्ट ग्रेभ एभर।
सादत हसन मन्टोको कथा टोभा टेक सिंह सम्झिन्छु। नन्दिता दासको ‘मन्टो’ फिल्मको पोस्टरमा नाम काटेर कोरिएको रेखा सम्झिन्छु। संसारमा भूमध्यरेखा एउटा मात्र छैन। भर्खरै बाथटबको भित्तामा एक महिलाको अस्पष्ट आकृतिलाई बीचमा चिरेर कोरिएको एक धर्को सायद त्यस्तै रेखा हो।
विभाजनले जहिल्यै चिहान खनेको छ।
भूमध्यरेखा व्यस्त छ। नाटकमा अनिद्रा पनि भूमध्यरेखा त हो। वा नि:शब्द पनि त भूमध्यरेखा भइगए। वा सिरियल किलर पनि। हामी दर्शक पनि।
हुनु र नहुनुको बीचमा उभिनु भूमध्यरेखा बन्नु न हो। पाउने नपाउनेको बीचमा उभिनु भूमध्यरेखामा उभिनु त हो। जन्म र मृत्युको बीचमा हिँड्नु भूमध्यरेखामा हिँड्नु त हो।
यी कुरालाई अझै बढाउन खोज्छु। सक्दिनँ। विपरीत दिशाबाट एउटा बाइक सडक बीचको घेरो छोडेर बत्तिँदै आउँछ। म केहीबेर विपरीत लेनमा दौडिन्छु। नियम म पनि मिच्छु। उ पनि मिच्छ। गाली म पनि गर्छु। ऊ पनि गर्छ। धूलो म पनि उडाउँछु। ऊ पनि उडाउँछ।
बीचमा एउटा लामो घेरो सुतिरहेको हुन्छ सँधै। जसरी सुतेको छ आरती गर्ने र मुर्दा जलाउने ठाउँको बीचमा बागमती। जसरी सुतेको छ हिजो र भोलिको बीचमा आज। आज भूमध्यरेखा हो।
बाथटबमा अनिद्रा र सिरियल किलर बसेका छन्। किलर उसको सौन्दर्यलाई यौनिक भन्छ। ऊ आफूलाई 'युनिक' भन्छे। यौनिक युनिक। युनिक यौनिक। यौनिक युनिक। युनिक यौनिक। यौनिक युनिक। युनिक यौनिक।
यही घुमाइमा पृथ्वी घुमेको छ। त्यसैले त उनीहरू बोलिरहँदा बाथटब पनि घुम्छ। एकोहोरो। घुमाइनेहरूलाई कसले घुमाइरहेछ थाहा छैन। जसले घुमाइरहेको छ, सोच्छ उसलाई आफैं घुमिरहेको थाहा छैन।
घुमिरहेको बेला केही लेखूँ सोचिरहेथेँ। बाटोमा माइक्रो मलाई जितेर जान्छ। उसको पछिल्लो सिटमा एक युवक बसिरहेको छ। हिजो बसमा हस्तमैथुन गरेको भिडियो खिच्ने युवक ऊ त हैन?
टु बि अर नट टु बि। साधु हुन चाहने मान्छे सिरियल किलर भएको छ। एन्ड भाइस भर्सा। ‘हस्तमैथुन’ पनि त सेक्सपियरको ह्याम्लेट झैं लाग्छ।
लेखकसँगको एक संवादमा अनिद्रा भन्छे ‘आराम छु, आराम चाहन्छु’।
कसैले पछाडिबाट जोडले हर्न फुक्छ। जसरी अनिद्राले रिभल्भरको ट्रिगर थिच्छे। झसंग भएर एक पाइला बढाउँछु।
नजिकै नगरकोटी छन्। भन्छु ‘यहाँ बसौं?’
लामो बेन्चमा उनी र म। लामो बाथटबमा सिरियल किलर र अनिद्रा। नगरकोटीलाई सोध्छु ‘अनिद्रा त तपाईंको रैछे नि है?’
‘उसले लेखकलाई भनी, जब तिमी आफैं बाँधिएका छौ भने मलाई के स्वतन्त्र गर्छौ?’
डा. केसी भन्दैछन् जब तिमी आफैं बाँधिएका छौ त मलाई के स्वतन्त्र गर्छौ?
अनिद्रा अनसन। अनसन अनिद्रा।
अनसन आराम छ, आराम चाहन्छ।
को होला घिमिरे युवराज। को होला ब्रजेश? को होला निर शाह? को भुषिता? को?को?को?
केही उत्तर लेखेको थिएँ कतै असम्पादनले काटिदियो।
ठिकै भयो। गलत लेनमा एकपल्ट फेरि अर्कै कोही आइसक्यो। उसले साइड बत्ती बालेको छैन। उसले म आउँछु भन्ने सोचेको छैन। मैले उसलाई देखेको छैन।
ऊ मेरो सपना पनि हो, बिपना पनि हो।
ऊ नाटकको सिरियल किलर पनि हो। अनिद्रा पनि हो। नि:शब्द पनि हो।
दिउँसो अफिसमा सुबुनाले सुनाएको एक किस्सा सम्झिन्छु। उक क्यानडेली आफ्नो साथीलाई सोध्छन्, 'यहाँ कसको लेनमा कसको अधिकार? सिधा गइरहुन्जेल आफ्नो भएको बाटो मोड्ने बेलामा अरूको पनि हुन्छ। तर मोड्नेलाई त्यही कुरा थाहा हुन्न।'
नाटकमा नि:शब्द शमशेर राणालाई त्यही कुरा थाहा भएन। उनी मोडिने बेलामा अरूसँग ठोक्किए। नेपालमा नठोक्किउन्जेल सबैको लेनमा सबैको अधिकार हुन्छ।
यो बाटो त नठोक्किनको लागि हो। कतै नठोक्किन त बहुमत चाहिन्छ बाटोमा। त्यो बहुमत संसदमा छ। त्यो बहुमतले भर्खरै एउटा समाचार बनाएको छ। त्यो समाचार अप्रीय छ।
नाटकमा भर्खरै एउटा समाचार सुनिएको छ। त्यो समाचार अप्रीय छ।
संसदको समाचार र नाटकको समाचार एकै हैनन्। तर आशय फरक छैनन्। यी दुईबीच पनि गहिरो भूमध्यरेखा छ।
त्यो के थियो लेखुँला सोचेको थिएँ। अगाडि बाटोमा सानो कुकुर पेटीबाट ओर्लिन्छ। मैले बाट आफ्नो चक्का बचाउनु छ।
चक्का। गति। पाइला। सिरियल किलर भन्छ ‘पाइला पाइलामा चिहान छ।’
चिहानको बारेमा लेखुँला सोचेको थिएँ। असम्पादनले घाँटीभित्रै पुगेर बोली सम्पादन गर्यो।
असम्पादनले बोलीको संसदमा ह्विप लगायो।
नगरकोटी केही बोल्न खोज्दैछन्। मेरो प्रश्नको जवाफ दिन खोज्दैछन्। भन्छन् कसैले सुनाएको किस्सा ‘मुक्तिनाथले मुक्ति दिने रे। उनी स्वयं मुक्ति खोजिरहेका छन्।’
म हत्तपत्त भन्छु ‘यो कुरा रेकर्ड गरूँ है।’ मोबाइल निकाल्छु। रेकर्डिङ खोल्छु।
दिस वर्ल्ल्ड इन टेकन बाइ रेकर्डिङ। भिडियो। फिल्म। अडियो। फेसबुक। भाइरल। युट्युब। म्युजिकल्ली। टिकटक। लाइक्स। डिसलाइक्स। कमेन्ट्स।
अनि चिनिने अनुहार। निर शाह। क्यामराभित्रको मान्छे। क्यामराबाहिरको मान्छे। नाटकभित्रको मान्छे। नाटकबाहिरको मान्छे। बाथटबको मान्छे। योनीभित्रको मान्छे। निदाएको मान्छे। ननिदाएको मान्छे।
मान्छे। नमान्छे। टु बि अर नट टु बि।
‘उहाँ आउनुभयो। जानुस्। उहाँसँग बोल्नुहोस्।’ नगरकोटी मलाई निर शाहतिर देखाउँछन्। र उठिजान्छन्। रेकर्डिङ भइराख्छ।
उनी गएका पाइलाले फेरि के-के किच्याए? सामन्तवाद। समाजवाज। के-के-के-के। अझ त्यसमा उनको आवाज पनि छ। त्यो आवाज के हो?
जे होस् उनी गए। मैले फेरि पछ्याएँ। भुषिता निर शाह। निर शाह भुषिता। चिनेको अनुहार। भेटेको अनुहार। चिनेको भेटेको। भेटेको नभेटेको। चिनेको नचिनेको। निर शाह भुषिता। भुषिता निर शाह।
चिनेको मान्छे चिनिन्छ। नचिनेको मान्छे पनि चिनिन्छ। संसारमा सबैभन्दा बढी समय मान्छेलाई चिन्न लाग्ला।
अनिद्रालाई आफू चिन्न कति समय लाग्यो? वा सिरियल किलरलाई आफू नचिन्न कति समय लाग्यो? नि:शब्दलाई दुवै गर्न कति समय लाग्यो?
लेखुँला सोचेको थिएँ। असम्पादनले लेखिनु अघिनै सम्पादन गरिदियो। छापिनु अघि नै छापिदियो। बाँडिनु अघि नै बाँडिदियो।
अनि म छरिएँ। अनिद्राले छरेका अक्षरहरू जस्तै। उसको प्रेमीले छोडेको पाण्डुलिपि जस्तै।
नगरकोटी अन्तै गए। मैले पछ्याउन छोडेँ। भुषिता अन्तै गइन्। मैले पछ्याउँन छोडेँ। निर शाह गाडीभित्र पसे।
गाडीभित्र कि आफूभित्र? आफूभित्र कि गतिभित्र?
साँच्ची अघि घिमिरे युवराजले शिल्पी थिएटर बाहिर नै किन बताए त्यो कुरा जुन सँधै स्टेजमा पुगेपछि बताउँथे? पुग्दा थाहा भयो पर्दा लागेको रहेछ। पर्दा। कालो पर्दा। कलेजी पर्दा। कलेजी। कलेजो कि कलेजी? कलेजी कि कलेजो?
छुट्ट्याउँला सोचेको थिएँ कसैले सोच्नुअघि नै छुट्ट्याइदियो। नाटकमा पनि त केही दृश्य आफूलाई छुट्ट्याउँछन्। ती दृश्य हुन् जसले निर्देशक र लेखक जोडिएको ठाउँमा पानी चुहाउँछन्।
साइड लाइट बालेर टर्निङ काट्ने बेलामा साइडबाट साइड लाइट नबाली कोही छिर्यो। ऊ सायद सपना हो। सपना साइड लाइट। साइड लाइट सपना।
अनिद्राको पागल प्रेमीले उनकै लामो केशमा केही छोडेर गएको थियो। उसलाई चिहान खन्ने मान्छेले एक लालटिन दियो। लालटिन बोकेर ऊ कता गयो? (लालटिन बोक्नासाथ ऊ अँध्यारोमा बिलायो। यस्तो लेख्छु सोचेको थिएँ। तर नगरकोटीले यही कुरा नाटकमा लेखेनन्।)
नाटककारमा नाम उनको थियो। सच्याउन लगाऊँ कि सोचेँ। भइगो, धेरै ब्रोसर र ब्यानरमा छापिइसके होलान्। फेसबुकमा पनि पुगिसके होलान्।
फेरि यो सिरियल किलर नाटकमा ‘बाथटब’ शीर्षक हटाउन आएको जस्तो सजिलो कहाँ छ?
तै पनि प्रयास गरूँ जस्तो लागेको थियो। गरिनँ। आफ्नै अस्तित्व अभिनय भएको बेला अभिनयको सिर्जना गरेको अभिनय गर्ने एक अभिनेतासँग के प्रयास गरेको के अभिनय गरूँ?
अभिनय गरूँ सोचेको मात्र थिएँ एक दर्शक फिल्मको प्रस्ताव लिएर आइदिए। नाइँ भन्ने अभिनय गर्न गाह्रो भयो। हुन्छ भन्ने अभिनय गरिदिएँ।
जे होस् सकुशल घर आएको छु। घर कि कोठा। कोठा कि घर। घर कोठा। कोठा घर। कोठा भान्सा। भान्सा भोक। भोक निद्रा। निद्रा भोक। ग्यास र चुल्हो। चुल्हो र ग्यास। बाइक सर्भिसिङ। सर्भिसिङ बाइक। जाडो। सिमसिम पानी। कुइरो। कलेजी कुइरो।
कतै गएर एकछिन रुमलिऊँ लागेको थियो। जसरी भुषितालाई अनिद्राको अभिनय गर्दागर्दै निन्द्रा लागेको थियो। ‘ल्याङ’ भएको थियो उनको दिमाग।
यो कहिलेको कुरा थियो लेखूँ भन्ने सोचेको थिएँ। असम्पादनले अक्षर नै थुतिदियो।
अनि नाटकको रेकर्डिङ सुन्न थालेँ। सुनेर एउटा 'रिभ्यु' लेख्नु छ।
नाटकमा न्यारेटरले भनिसकेको छ ‘जिन्दगी र मृत्यु सबैभन्दा खराब लेखक हुन्।’
सबैभन्दा खराब पाठक को होलान् है?