कथाको भनिन्थ्यो, बताईन्थ्यो, सुनाइन्थ्यो । तर समयक्रमसँगै कथा लेख्य विधा भयो । समाज, देश, परिस्थिति, समयको सदृश्य चित्रण नै कथा हो भनेर बुझ्न थालियो । सामाजिक जटिलता, समयकालिन परिवर्तन, संस्कृति, अन्वेषण, मानिसका चरित्रका बारेमा कथोपकथन हालिदै बारेमा कथाहरु लेखिंदै गए । पढिए । सुनाइए । सम्झाइए । बुझाइए । यो शिलशिला हाल पनि कायम छ ।
विश्व इतिहास देखि स्वैरकल्पनासम्मका विभिन्न परिकथा, धार्मिक कथा, सामाजिक कथा, मनोविश्लेषणात्मक कथा, बौद्दिक कथा, प्रेम कथा, बाल कथा लगायत कथाहरु र तीनले उत्पन्न गराउने कौतुहलता, जिज्ञासा, हर्ष, रोदन आदिका कारण कथा लोकप्रिय विधा बनेको हो ।
हजुरआमाका परि कथा देखि भाइबहिनीलाई तर्साउन हालिने भुत,किचकन्याका कथाहरु सुनेर/भनेर म हुर्किए । भागवत, पुराण, स्वास्थानी सुन्दै हुर्किएको म तोल्स्तोय, चेखभ, मोपसा, मैनाली, भिक्षु, विपी, विजय मल्ल, लामिछाने, धच गोतामे हुँदै नयनराज पाण्डेसम्म आइपुगे । र, म अड्किए । त्यसयता आफ्नो रुची अनुसारको कथा पढ्न/सुन्न नपाएर छटपटीरहें ।
७० को दशक यता पनि नेपाली साहित्य जगतमा विभिन्न कथासंग्रहहरु आए । तर गुनाकेशरी(भिक्षु), रातो स्वेटर(तारणीप्रसाद), टिस्टा बग्छ सधैजस्तो(इबरा), तिम्री स्वास्नी र म (ब्राजाकी) जस्ता खोज्दा पनि नभेटिने कथाहरुको नाम बोकेर साझा र रत्न पुस्तक भण्डार दौडिरहे । प्रभावमुक्त नहुनु, मौलिक नलाग्नु र विषयवस्तु दोहिरहने हुँदा समकालीन कथाहरु पढ्नै छाडिदिए । यस दशकले कथालाई हेला गर्न थालेको क्रमश: म बुझ्दै गए ।
कविता र गजलको हालीमुहाली रहेको ७० को दशकमा थोरै कथासंग्रह बजारमा आए । पढें । सन्तुष्ट हुन् सकिन । विषयवस्तुगत व्यापकता, प्रस्तुतिगत विविधता र मौलिकता खड्कीरह्यो ।
साह्रो निस्सासिदोसँग समय बितिरह्यो । पछिल्ल्लो समय राजधानी लगायत मोफसलमा हप्तामा आधा दर्जनभन्दा बढी साहित्यिक कार्यक्रम सम्पन्न हुन थाले । गजल, कविता र उपन्यास चर्चा नै मुख्यतः विषय बनिरहेका छन् ।
यसै बीच जिके पोख्रेल(माल्दाई) १० कथा सहित २४७ पृष्ठको 'गोहो' लिएर आए ।
'पछिल्ला कृतिसँग खुसी छैन हो दाइ म, 'गोहो' को पनि के भर?' - दाइ हासें । त्यो हाँसोमा के थियो मैले बुझिन । माल्दाईको 'गोहो' चैत्रमा सार्वजनिक भयो । सार्वजनिक भएको दिन देखि माल्दाई प्रश्नको खुँडा लिएर तेर्सिए ।
'पढिस्? कहिले पढी भ्याउछस् ? पढिभ्याईनस् ?' यी यस्ता प्रश्नले मेरा कान ताछिरहे ।
अत: दुई दिनको बसाइमा मैले गोहो सके ।
'कथा एउटा सानो झ्याल हो. जहाँबाट सानो संसार चियाइन्छ(लक्ष्मी प्रसाद देवकोटा) ।'
गोहोबाट मैले पनि एउटा सानो संसार चिहाए ।
बोलीचालीका शब्दहरू एवम् अभिव्यक्तिहरू, प्रभावमुक्त लेखनी, मौलिक कथा र कथा रह्स्यदोघाटनको उत्कृष्टता गोहोको सफलता हो । नौलो बिम्ब प्रयोग, संवादात्मक शैली र प्रथम पुरुषमा लेखिएका कथाहरु पारिवारिक विघटन, राज्यसत्ता माथि प्रश्न, आन्दोलन, हिँसा, प्रेम, निराशा, यौन मनोविज्ञान लगायतका विषयवस्तुमा उभिएर तयार भएको छ । यद्धपी गोहोको धरातल भने माओवादी द्वन्द नै हो ।
४ वटा कथामा माओवादी द्वन्द प्रष्ट देखिएको छ । भैँस, झपटबहादुर जस्ता कथाहरु स्थानीय लवज, रहनसहन र ठाउँ विशेषको भाषा शैलीसहितका रहेका छन् । त्यस्तै मोचनघाट र तारा प्रेमिल कथानक समाविष्ट शहरी जीवन झल्काउने कथाहरु हुन् । त्यस्तै पर्दाभित्रको मान्छे र दृष्टिभ्रमले प्रेमसँगसँगै यौनलाई पनि केलाएका छन् ।
गोहो पढिरहँदा कथावस्तुको प्रारम्भता र परिसम्पाती बीच अन्तरसम्बन्ध बन्न नसकेको हो की ? भन्ने प्रश्न ठाउँठाउँमा उठिरहे । यस्ता बलियो कथाहरु पढिरहँदा भाषागत चातुर्यता खड्की रह्यो । अर्थहिन जस्ता लाग्ने बिम्ब प्रयोगले मलाई कताकता असन्तुष्टि दियो ! यद्दपी माल्दाइले गोहो लेखेर नेपाली साहित्य जगतमा आफू हिड्ने गोरेटोसम्म चाहि बनाएकै छन् ! यो गोरेटोमा हिड्दा मैले भोगेको सहजता र असहजता म यसरि बताउन सक्छु,
आनन्दपुर: माओवादी द्वन्दलाई पर्याप्त ठाउँ दिएर लेखिएको यस कथामा पात्र, परिवेश र विषयबस्तुको रह्स्यदोघाटनले म छक्क परे । 'माल्दाईसँग कथा रहेछ । लेखे यार ।' मलाई यहि लाग्यो । कथाको प्रारम्भदेखि अन्त्यसम्म नै रहस्य र कुतूहलता भेटे !
चिहानडाँडामाथि जंगलमा मान्छे झुन्डीएको रहस्यमय कथन लेखेर गरिएको कथाको प्रारम्भता निकै रुचिकर लाग्यो । किन झुण्डियो ?, यसका विविध कारण खुलाउन माल्दाईले जोडेका उपकथन, परिवेश निर्माण, चरित्र र चारित्रिक विकासले म लोभ्भिए । सनैसनै कथा पढ्दै गए । विम्बको अनावश्यक प्रयोगले झिँझक पनि लाग्यो । केहि बिम्बहरुसँग म सहमत भइन । बिम्ब आवश्यक थियो र ? यो प्रश्न उठ्यो । मलाई लाग्यो यस वाक्यमा प्रश्न चिन्ह होइन विष्मायोधिबोधक चिन्ह(!) ठिक रहनेछ ।
१८ पेज सकिनै लाग्दा थोरै 'डिस्ट्रभ' भए । र, त्यो डिस्ट्र्भ पछि लगतै पात्रको परिचय र रहस्य रह्स्यदोघाटन भयो । यो कथा मनपर्नुको प्रमुख कारण यै नै बनिदियो । कथा भन्ने शिल्प र घटनाक्रम - दुवैको उत्कृष्टताले मलाई तानिरह्यो । अनन्त: कथा सकियो ।
सकिएपछि लाग्यो 'माल्दाइ'ले यति सुन्दर कथा त्यती छिटो किन भनेका हुन् ? उनी फटाफट हिडेका छन्, यो कथामा । सायद यसकारण सो कथा पढिसकेपछि मलाई थकाइ लागेन । कुनै पनि कविता, कथा या विचार पढिभ्याएसी केहि समय मस्तिष्कले थकान महसुस गर्ने गर्दा मलाई लाग्छ राम्रो चिज पढियो । तर आनन्दपुरमा 'माल्दाइ' यस्तरी दौडिए की मैले प्रयाप्त थकान महसुस गर्नै पाइन । माल्दाई अलि उता पुग्दा म अलि यतै छुटेछु ।
गोहो: पहिलो कथाले थकान महसुस नगराएकाले या भनौं पूर्णत सन्तुष्टि नदिएकाले मलाई दोस्रो कथा पढ्न स्वत मन लागिहाल्यो नै ।
"मधुले आकाश तिर हेरी ।" कथा शुरु भयो । चौथो वाक्यमा पुग्दा नै म दिक्क भए । " कहिले चारैतिर ठुला राष्ट्रले बेरेर लुकाएको नेपालको मानचित्रजस्तो देखिन्थ्यो ।" यो वाक्य बिम्बात्मक रुपमा बादलको मुस्लो (?)लाई वर्णन गर्न प्रयोग गरिएको थियो ।
यो कथा अगिल्लो भन्दा निकै सजिलोसँग पढें । कथा सकिएपछि म रन्थनिएको कुरा साँचो हो । कारण - कथावस्तुको प्रारम्भता र परिसम्पाती बीच अन्तरसम्बन्ध ।
यो कथा पढीसक्दा मैले गोविन्द वर्तमानको 'सोर्ह साझ' सम्झिए। जुन माओवादी द्वन्द चर्किएकै बेलामा रोल्पा लगायत प्रभावित जिल्लामा पुगी तयार पारिएको यात्रा-संस्मरण हो । वर्तमानको सोर्ह साँझको कथा शिल्प र 'गोहो' को 'कथा(विषयवस्तु)' दुवै एकसाथ (जिके पोखरेल या गोविन्द वर्तमान)द्वारा लेखिएको हुनेथियो भने म खुल्लेआम भन्ने थिए, माओवादी द्वन्दको बारेमा एक सर्वश्रेष्ठ कथा नेपाली साहित्य जगतमा लेखिएको छ । तर यो हुन सकेन । वर्तमानको 'सोर्ह साँझ' परिवेश वर्णनमा खर्चिएको छ । कथा(घटना) लेखिएको छैन । र, यता गोहो परिवेश निर्माणमा चुकेको छ । तर कथा(घटना) उपल्लो उचाइको छ ।
मधुको त्रास र सूर्यप्रसादको ग्लानीबिचको अन्तरसम्बन्ध नै यस कथाको सुन्दरता हो । माओवादी द्वन्द्वको प्रभाव मनोवैज्ञानिक ढङ्गले बताउन कोसिसरत यस कथामा परिवेश वर्णन अलिक कम भएको भए यो कथा कस्तो हुने थियो होला ? म यै प्रश्नमा रुमल्लिए ।
भैँस: भैँस तराईको कथा हो । म पहाडियाले तराईको आंचलिकता बुझ्न पाएं । तराइको पिडा के हो, कस्तो हुन्छ ?, बुझ्न पाएँ । तर पनि यस कथासँग म सन्तुष्ट हुन् भने नसकेको हो । म अझै केहि बढी चाहन्थे कि ? भन्न सक्छु, मैले बुझ्न नपाएको भूगोलको बारेमा कथा पढीरहँदा म थोरै पूर्वाग्राही बन्न पुगे के ?
'प्रकाशपुर गाउँमा बाढी आयो । तर बाढी आउनुपुर्व ती गाउँहरुले ज्यादै नै गफगाफमा भुलिए । गाउँलेहरुको आपसी गफगाफ लामो भयो । छिटो बाढी आइदिओस् ।' तेस्रो कथा 'भैँस' पढीसकेपछि मलाई यस्तो लाग्यो ।
'वर्षाको आतंक, कोशीमा पानीको सतह लगातार बढिरहनु,' कथाको मूल विषयवस्तु हो! कथामा लोकल ट्युन भेटिन्छ । मैथली भाषाको प्रयोग यस कथाको बलियो पक्ष यो हो । र, लोकल ट्युनलाई नेपाली भाषामा उल्था गरेर १९ पेज बनेको सो कथा यदि उल्था हुन्थेन भने १२ पेजमा सकिने थियो । यदि यस्तो भएको थियो भने यस कथाको पठनयात्रा निकै कष्टकर हुन् थिएन । दुवै भाषाको उपस्थितिमा म कथासँगै बग्न सकिन । यद्धपी यस कुरासँग म ज्यादा असन्तुष्ट पनि छैन ।
'हरिया रुखमा चढ्छ । हारगुहार माग्छ । तर कोशीको अस्मेल भेलमा कोही पस्न सक्दैनन् ।' यस कथनलाई केही प्रासंगिक कथनसहित हरियाको बाढीबाट फुत्की भाग्न गरेको प्रयासको थप वर्णन नहुनुको अभाव खड्कियो ।
मोचनघाट र तारा: चौथो कथा 'मोचनघाट' र छैठौं कथा 'तारा' दुवैमा प्रेम भेटिन्छ । प्रेमपत्र नबनेको र प्रेम भरपुर आएको हुँदा यी दुवै कथा विषयगत हिसाबले राम्रा कथा हुन् । यद्दपी संवादलाई मसलेदार बनाउन खोज्नु, तर नबन्नु । प्रेमिल गफगाफमा जीवन दर्शनको कुरा दर्शाउन खोज्नु, तर नदर्शनु । यी कथाहरुमा मैले भेटेको केहि कमजोरीहरु हुन् ।
'मोचनघाट'मा एक पात्र छ, बाबुकाजी खड्गी अर्थात बाबु । ऊ नेवारी मुलको हो । र, उसको उपस्थितिले मोचनघाट पठनयात्रा मज्जेदार बनेको कुरा म नकार्न सक्दिन । "चलायो भगवानको जिन्डगी थिकसँग? रामले, अर्जुनले..कुन डेउटाले डुख पाएन ? बेमान जाली कुरा गर्छ ।" यस किसिमको नेवारी लवज कथामा अन्त्यसम्म नै छ ।
बाबु कथाको मूल पात्र होइन, न्यारेटर स्वयम् नै प्रमुख पात्र हो । उषा र न्यारेटरको बीच बाबु आएर जुन किसिमका स-साना तर अर्थपूर्ण कुरा राख्दछ, कथाकारको यस कथालाई राम्रो कथा बनाउन बाबुको राम्रो भूमिका छ । नारी र पुरुष बिचको आ-आफ्नो अस्तित्वको उपस्थितिमा यी दुवै पात्र जसरी अगाडी बढ्दै जान्छन्, त्यससँगै कथाले आफ्नो उचाइ बनाउँदै गएको छ । नारी चुलो चौका देखि बाहिरिएर आफ्नो जीवन निर्वाह गर्न सक्षम हुँदै गइरहेको यस समयलाई यस कथाले टपक्क टिपेको छ । त्यसका बाबुजुद नारी/पुरुषको समान हकअधिकार/सक्षमता/ आर्थिक हैसियत निर्माण र विघटनमा कथाले खासै आफ्नो प्रभाव छोड्न नसकेको अनूभव मलाई भयो ।
यस्तै छैठौं कथा 'तारा' आफैमा वियोगान्त कथा हो । कथाले मेरो हृदय दुखाउन खोज्यो । तारा, सिर्जना र न्यारेटर बीचको त्रिपक्षीय सम्बन्धलाई हृदय दुखाउन सक्ने गरि नै प्रस्तुत गरिएको छ । नारी पुरुषको समअस्तित्वको भाव प्रष्टसँग आएको छैन । तसर्थ पनि मलाई यस कथा मध्यम लाग्यो ।
छेकारो र सुराकी: पाचौं कथा 'छेकारो' र सातौँ कथा 'सुराकी' माओवादी द्वन्दका कथा हुन् । यी कथाहरु पनि मध्यम कथाहरु नै हुन् । (यस संग्रहका बारे एउटा कुरा, प्राय: कथाहरुमा शिक्षक पात्र देखिएका छन् । कथाकार स्वयम् अध्ययापक भएको हुँदा यसो भएको हुनसक्छ । यो पक्ष सुन्दर लागेको हो मलाई)
पाँचौ कथा 'सुराकी' मा हेडसरका छोरा 'रेशम' बुबाको खोजीमा निस्किदा उसले भोगेको समस्याहरुको चित्रण भेटिन्छ । 'हेडसर' माओवादी कार्यकर्ताद्वारा मारिएको थाहा दिन पाठकलाई अन्तिमसम्म बाधिरहनु माल्दाईको लेखकीय रुपमा सबल पक्ष नै हो । माओवादी द्वन्द्वका कारण निम्तिने पारिवारिक समस्या, कलह र स्वयं आन्दोलनकारीहरुको मनोभाव वर्णन गर्न कोसिसरत यस कथामा पात्रहरुको चरित्र र तिनका मानिसिक अन्तरद्वन्द, डर, त्रास, एक्लोपना र नैराश्यताका सबल वर्णन भेटिन्छ ।
त्यस्तै सातौँ कथा 'छेकारो'मा माल्दाइले राज्यव्यस्था प्रति संकेतात्मक भत्सर्ना गरेका छन् । रमाको श्रीमान् 'ठुले'को हत्या प्रकरण । ठुलेको शहिद घोषणा । र, ठुलेको परिवारको कष्टकर जीवन । यी घटनाक्रमले मलाई छटपटी दिलाए । कथाको विषय उठान, कथापरिवेश, कथा विकास सबल रहँदारहँदै पनि कथाको प्रारम्भ र घटनाहरुको क्रमबद्दतामा चलखेल भेटे । घटनाहरुको कलाताम्क गठन रहेता पनि कथावस्तुसंगको तादात्म्यता असजिलो लाग्यो । भन्न सक्छु, कतै माल्दाई हावी भएका हुन् की ? यस्का बाबजुद पात्रहरुको अनावश्यक उपस्थिति पनि देखे । यसले पनि कथाको केन्द्रिय भावमा अस्पष्टता भेटेको हुनसक्छु ।
यद्दपी म यस कथाबाट सन्तुष्ट छु ।
झपटबहादुर: समाचार बन्न बन्न खोजेको तर कथा बन्न पुगेको यस आठौँ कथामा नेवारी केटो 'झपटरत्न प्रजापति उर्फ झपटबहादुर' मानसिक तनावको सबल वर्णन छ । आमासँग राम्रो साँठगाँठ नहुँदा आफ्नो लागि अलग घरको माग गर्छ । रक्सीको अत्याधिक सेवनका कारण स्वानीसँग पनि उसको साँठगाँठ बनिरहन सक्दैन । काठमाडौंमा डेरा गरि बस्दै आएका हरकोहीले देखेको कथा हो यो । सानो मानेर 'इग्नोर' गरिएको विषयवस्तु टपक्कै टिपेर लेख्नुले माल्दाईको मौलिकता प्रष्टसँग झल्किन्छ ।
न्यूज रिपोर्टर, झपटबहादुरको रहस्यमय मृत्यु र डिल्लीराजको टिपोट यो तीन थोक कथाका मुख्य घटनाहरु हुन् । यसकै वरपर कथा बुनिएको छ । स्थानीय लवज, रहनसहन र ठाउँ विशेषको दिनचर्या झल्काउन माल्दाई सफल भएका छन् ।
यद्दपी मैचा(झपटबहादुरको श्रीमती)को फितलो उपस्थिती र कथाको शुरुवाती कथन मलाई नरुचेको पक्ष हो । र, यस कथामा नेवारी शब्द प्रयोगमा ज्यादा ध्यान दिइएको छ, जसले कथा स्तर खुम्चाएको छ ।
पर्दाभित्रको मान्छे र दृष्टिभ्रम: यी कथाहरुमा पात्रबिचको पारस्परिक सम्बन्ध र आपसी संवादद्वारा कथावस्तु निर्माण हुँदै गएका छन् । माल्दाईका यी अन्तिम दुइ कथाहरु प्रेमसँगसँगै यौन मनोविश्लेषणात्मक रहेको छ ।
पर्दाभित्रको मान्छे कथा मार्फत शिक्षक र विद्यार्थी बीचको आपसी निकटता सुन्दर तरिकाले देखाइएको छ । साथै अपांग श्रीमती र सबालंग विद्यार्थी बीच फसेको शिक्षकको हिच्किचाहट मलाई रुचिकर लाग्यो ।
सागर र साबूको नजिकिदोपन सँगसँगै उनीहरुको मनोविज्ञान नभनीकन पनि भनिएको छ । मैले आफ्नो रुचि अनुरुपमा कथा पाए । मलाई ओपन इन्डीङ कथाहरु प्राय:त मनपर्छ ।
दृष्टिभ्रम: अन्तिम कथा दृष्टिभ्रम विषयवस्तुका हिसाबले नौलो लागेन । मनोजकुमारको आत्महत्या, मनिताको हत्या, रीतालाई गर्ने अभद्र व्यवहार, र किरणको हत्या प्रकरणको अनुसन्धान । ज्यादा फिल्मी र कथा लामो भएको अनुभव गरे । यद्दपी मनोजकुमारको रिता र मनितासँगको समबन्धका बारेमा लेखिएका केही कथनहरु भने मनपरेका छन् । पुलिसको जागिर, कम तलब र पारिवारिक विघटनलाई संवादका माध्यमबाट बताइएता पनि कति ठाउँमा अनावश्यक विषयवस्तु जडित संवाद देखिएको हुँदा कथा अल्झिएको छ । यद्दपी प्रेम र मृत्युको नैतिक मान्यता सम्बन्धी उठाइएको संवादहरुले मलाई लोभ्याएको भने हो ।
समग्रमा माल्दाइले बनाएको 'गोहो' गोरेटोमा म हिड्न सकें ! पूर्वाग्रह नराखी पढ्ने हो भने गोहोले दुखी बनाउने छैन ! र, म पूर्णतः खुसी हुन् नसकेको कुरा फेरी पनि साँचो नै हो ।
गोहो(कथासंग्रह)
अक्षरशाला
मुल्य रु. : ३५०/-