नाटक हेरिसकेर पोष्टरको अघिल्तिर उभिएको छु।
हेर्नुभन्दा पहिला पनि उभिएको थिएँ। अहिले पोष्टरका आकृति चिन्ने भएको छु। नाटक हेर्नु पोष्टरलाई बुझ्नु झैं भएको छ।
स्केचको स्वरूपमा सुनिल पोखरेल आफ्नो दिमागलाई टाउकोबाट निकालेर काट्न खोजिरहेका छन्। देब्रे हातले समातेका छन्। दाइने हातमा छुरी छ। उनी बसेको फलेकको मुनितिर नाटकका अन्य पात्रहरू एक अर्काको खुट्टा समातेर झुण्डिएका छन्।
ती पात्रहरू को हुन् अब म चिन्दछु। नाटक हेर्नु ती पात्रहरू चिन्नु भएको छ। ती पात्रहरू जो उनको दिमागको विविध तहमा लुकेका छन्।
पात्रहरू चिन्नलाई कुनै न कुनै नाटक हेर्नुपर्छ। नाटक चल्दै जाँदा ती खुल्दै जान्छन्। पात्र काम किन गर्छन्? कसका लागि गर्छन्? कसको हितमा गर्छन्? कसलाई भुल्छन्? कसलाई सम्झिन्छन्? खुल्दै खुल्दै जान्छ।
दर्शक मूल्याङ्कन गर्न थालिसक्छन्। तर त्यो कुरा पात्रहरूलाई थाहा नहुन सक्छ। उनीहरू पात्र हुनुको सीमिततामा अल्झिन्छन्। उनीहरूलाई भन्न मन लागेको कुरा लेखकले वा निर्देशकले जरूरी ठानेको अर्को पात्रले त्यसले रोकिदिन सक्छ। उनीहरू आफू नै विद्रोह गर्ने आँट नगर्न सक्छन्।
धेरै कुरा थाहा भएका अरू पात्रहरू झन् नबोली स्टेजबाट फर्किन सक्छन्। तिनलाई धेरै कुरा थाहा भएर पनि बोल्ने अवसर नआउन सक्छ। बोल्न नपाउनेहरूसँग भन्ने कुरा धेरै हुन्छन्। तर तिनलाई नसुनिन सक्छ।
'मीमांसा' नाटकमा एउटा प्रहरी पात्र छ जसको बुवाको उपचार गर्न डा. सिग्देल बनेका सुनिल पोखरेल पुगिरहन्छन्।
उसले एक संवादमा आफ्नो सिनियरलाई 'सम्मोहन हुन पनि सक्छ सर' भन्न पाएको थियो। झन्डै जिब्रो थुतिएको।
यस्तो मण्डला नाटकघरमा चलिरहेको 'मीमांसा' नाटकमा मात्र हैन त्यहाँभन्दा नजिकैको सिंहदरबारमा झन् धेरै हुन्छ। सिंहदरबारले अह्राउने देशभर छरिएका गाउँका सिंहदरबारमा झन् धेरै हुन्छ। त्यहाँ 'सम्मोहन' चल्छ। मान्छे चुप बस्छन्। बोल्न खोज्नेको जिब्रो थुतिन्छ। नबोल्न खोज्नेहरू कहिले आए र गए पत्तो हुँदैन।
तर अहिले म मण्डलामै सीमित हुन्छु। यहाँ नाटक हेरेर मुकदर्शक हुनुपर्ने सीमितता छैन।
+++++
डाक्टर सिग्देल आफ्नो किताब भएको टेबलमा लडेका छन्। उनको हातमा पेस्तोल छ जसको गोलीले भर्खरै कन्चटमा दौड जितेको छ। अघि कुरा गरेको पोष्टरका डाक्टर यी नै त हुन्।
उनको पछिल्तिर किताब सजाइएको र्याक छ। र्याकको डिजाइनमा एक अनुहार छ जो दर्शकको दाइने तिर र डाक्टरको देब्रेतिर छ। त्यो दिमाग जस्तो देखिन्छ।
स्टेजको अर्को कुनामा यानिकी दर्शकको देब्रेतिर र डाक्टरको दाइनेतिर अर्को मान्छेको आकृतिको दराज छ। त्यहाँ रक्सीका बोतलहरू राखिएका छन्। अगाडि टेबल छ। त्यसमा किताब हैन रक्सीका गिलासहरू छन्।
मलाई नाटकको स्टेजले समात्छ। स्टेजले विषयवस्तु समात्छ। पछिल्लो समयका केही नाटकमा जस्तो 'स्टेज सजावट' मा सीमित हुनबाट मीमांसाको सेट जोगिएछ।
डाक्टरलाई मृत्यु पछिको जीवन र आत्मासँग गर्न सकिने संवादको सम्भाव्यताले मोहित बनाएको छ। बितेर गएका मान्छेहरूलाई कुनै माध्यमबाट प्रश्न सोध्न सकिने भए के के कुरा पत्तो लाग्दो हो? उनी यही प्रश्नको मीमांसामा छन्। विविध मनोवैज्ञानिक ढेली पल्टाएर जवाफ खोजिरहन्छ।
उनको खोज नाटकभर भौँतारिन्छ। उनीसँगै म भौँतारिन्छु। उनी निर्मला हत्याकाण्ड, दासढुंगा काण्ड, दरबार हत्याकाण्ड आदिको उदाहरण दिँदै ती घटनामा सम्बन्धित भएर यो संसार छोडेकाको आत्मालाई आखिर के भएको थियो? भन्ने प्रश्न सोधेको कल्पना गर्छन्।
म ती घटनामा अरू धेरै घटनाहरू थप्न खोज्छु। पत्ता लाग्नुपर्ने तर पत्ता नलागेका सत्यहरू कति हो कति।
बेपत्ता पारिएका हजारौं मानिसहरूको आत्मालाई उनीहरू कहाँ छन् सोध्न पाए? जताततै भेटिएका हजारौं लासहरूलाई सोध्न पाए। विदेशमा सुतिरहेका ठाउँमा सुतेको सुत्यै भएका मानिसहरूलाई सोध्न पाए? आत्मामा लिन भएका हजारौंलाई सोध्न पाए? दिनहुँ गाडी दुर्घटना भएर बितेका लाखौंलाई सोध्न पाए?
सोध्नुपर्ने प्रश्नहरू कति धेरै छन्। उत्तरको खोजी यानिकी मीमांसा दिनदिनै सीमित भइरहेछ।
एकान्तमा हुँदा लाग्छ कसै न कसैलाई त सत्यता थाहा छ। त्यो सत्यता कसै न कसैले बोलिदिए कस्तो हुन्थ्यो? त्यो सत्यता कसै न कसैले नलुकाइदिए कस्तो हुन्थ्यो?
के सत्यलाई खोज्न आत्माको खोजीसम्म पुग्नुपर्ने लामो बाध्यता निर्माण हुनु मानव इतिहासको कमजोरी हो?
सायद शङ्कर लामिछाने यही कुरा सोध्न चाहन्थे। सायद प्रवीण खतिवडा उनको कथालाई नाटक बनाएर स्टेजमा उतार्दै यही कुरा सोध्न चाहन्छन्। जवाफ शङ्कर लामिछानेसँग पनि थिएन। जवाफ प्रवीण खतिवडासँग पनि छैन। जवाफ सुनिल पोखरेलसँग पनि नहोला।
तर सत्यताको पनि तह हुन्छ। यसलाई दिमाग र मनको सत्यले पटक पटक लुकाइरहन्छ।
दिमागको पनि विविध तहले कहिले लुकाएर हिँड्छ त कहिले उधिनेर छाडिदिन्छ। यो द्वन्द्व चलिरहन्छ। 'मीमांसा' नाटक त्यही द्वन्द्वको विस्तार हो।
डाक्टर सिग्देल त्यही दुई सत्यहरूको बीचमा चेपिएका छन्। उनको खोजी ती दुवै बाटोमा एकैपल्ट नहिँडी सम्भव छैन। उनी सत्यको नजिक पुगे कि पुगेनन् त्यो पनि नाटकले दर्शकलाई सोच्न छोडिदिएको छ।
त्यसैले त नाटकको सेटमा अनुहार आकारका दुइटा दराज छन्।
ती दराज घरी दिमाग जस्तो देखिन्छन् त घरी अनुहार जस्ता। एक दाइने मस्तिष्क त अर्को देब्रे मस्तिष्क।
दाइने उनको हुँदा दर्शकको देब्रे। देब्रे उनको हुँदा दर्शकको दाइने।
एउटामा डाक्टरको उत्सुकताको उत्कर्ष छ। अर्कोमा उनको उत्सुकताले थाकेको दिमागलाई राहत दिनको लागि प्यालाहरू उभिएका छन्।
डाक्टर दर्शक हुन्। दर्शक डाक्टर हुन्।
ती दुई आकृतिको बीचमा एउटा अमूर्त पेन्टिङ छ। त्यो घरी बूढीऔंलाको छाप जस्तो देखिन्छ त घरी घुमिरहेको आँखा जस्तो।
घरी बेतमास उडिरहेको मनको चक्र जस्तो। त्यसको पछिल्तिर ठूलो ऐना छ जसले घरिघरि पात्रहरूसँगै दर्शकलाई पनि स्टेजमा पुर्याउँछ।
कहिले मञ्चमा हिँडिरहेका पात्रको आकृति दर्शक बन्छ। घरी नाटक हेरिरहेका दर्शकको नजर पात्र बन्छ।
डाक्टरले ह्वाइट बोर्डमा केरेको गोलो घेरा र उनको दिमागमा घुमिरहेका प्रश्नहरू समानान्तर छन्। ती प्रश्नहरू। ती प्रश्न अनन्त छन्। दिमाग आफैंमा पनि अचेतन, अवचेतन र चेतन बीचको चक्रीय गोलोपनामा कायम छ।
दिमागको तहतहमा थुप्रिएका कैयौं प्रश्नहरूलाई केही पात्रमार्फत् खोतल्ने प्रयास नाटकले गरेको छ।
यहाँ भएका पात्रहरू एक अर्कालाई बुझ्दैनन्। डाक्टरले बिरामीलाई बुझ्दैनन्। बिरामीले डाक्टरलाई।
छोराले बाउलाई बुझ्दैन। बाउले छोरालाई। प्रहरीले डाक्टरलाई बुझ्दैन। डाक्टरको सहयोगी अतुलले उसकी श्रीमतीलाई बुझ्दैन। उसकी आत्मामा लिन भइसकेकी श्रीमतीले डाक्टरलाई बुझ्दिन।
निर्देशक प्रवीण खतिवडा शङ्कर लामिछानेको प्रभाव आफूमा कहिलेसम्म रहन्छ बुझ्दैनन्। नाटक धेरैपल्ट अमूर्त र मूर्त भइरहन्छ। मूर्त र अमूर्त भइरहन्छ।
तर मानव मनोविज्ञानको मीमांसा गरिरहेको नाटक केवल काल्पनिकतामा सीमित भएको छैन। त्यसले वर्तमान समयले सोध्न छोडेका केही प्रश्नहरू सोधेको छ। वर्तमान समयले दिन नसकेका जवाफहरूलाई पनि प्रश्न बनाएको छ।
++++++
नाटकको मुख्य ध्येय सत्यको खोजी हो।
डाक्टर सिग्देल र उनका सहयोगी अतुललाई सत्यको खोजीले सम्मोहित बनाएको छ। ती दोहोर्याइ रहन्छन् 'यदि यो कुरा सफल भयो भने हाम्रो युगलाई कति फाइदा हुनेछ। हामी बितेर गएकालाई सत्य के थियो भनेर सोध्न पाउँनेछौं।'
त्यसक्रममै नाटक विशुद्ध शङ्कर लामिछानेको कल्पना बन्दैन।
विशुद्ध नाटक रूपान्तरण गर्ने प्रवीण खतिवडाको कल्पना पनि बन्दैन।
नाटक रूपान्तरण गर्दैगर्दा उनलाई मदन भण्डारीले तान्छन्। उनको हत्याले तान्छ। निर्मला पन्तले तान्छिन्। उनको हत्याराले तान्छ। उनलाई दाङमा भएको बस दुर्घटनाले तान्छ। यसैले पनि नाटक समसामयिक सामाजिक यथार्थप्रति निरपेक्ष छैन।
आफैंलाई गोली हानेर ढलेका डाक्टर सिग्देलसम्म पुग्न अतुल प्रयास गरिरहन्छन्। तर त्यो बीचमा एउटा ठूलो खाली ठाउँ छ। त्यो अवचेतन अवस्थाको ठाउँ हो। उसलाई त्यो मार्ग हुँदै डाक्टरसम्म पुग्नलाई प्रहरीले दिँदैनन्। प्रहरीलाई त्यो खाडलको बारेमा थाहा छैन। हामी पनि धेरैपल्ट त्यस्तै ठाउँबाट पार हुने प्रयत्न गरिरहन्छौं। कोही त्यही भूमरीमा अल्झिन्छौं त कोही निस्किन्छौं।
नाटकको सेटमा रहेको सफलता त्यहाँ पनि स्पष्ट हुन्छ। अवचेतन अवस्थामा रहँदाका दृश्यहरू त्यही बीचमा घटेका छन्। डाक्टरले सहयोगी अतुलकी श्रीमतीको आत्मासँग त्यहाँ नै बसेर कुराकानी गरेका छन्।
हामी बीचमा रहेको त्यही एक स्पेस हो जहाँ हामीहरू न पूरै दिमागले काम गर्छौं न पूरै मनले। मन र दिमागको बीचको द्वन्द्व देखाउनलाई त्यो स्पेस बनाउनुले ठूलो अर्थ राख्छ।
एउटा मान्छेले आफ्नो मनभित्र कति मानिसहरूलाई राखेको छ? उसको दिमागमा कति मानिसहरूले एकैपल्ट बास गरेका छन्। कतिलाई त ती भएको पनि थाहा छैन। थाहा भएकाले ऊ निकाल्न खोजिरहन्छ। दिमागले निकाल्न खोजेका कति मान्छेहरूलाई मनले मान्दैन। नाटकले पात्रको दिमाग हुँदै दर्शकलाई यात्रा गराएर आफ्नो दिमागमा भएका चिजहरूलाई खोज्ने पनि बनाउँछ।
धेरैपल्ट आफैंलाई प्रश्न गर्न लगाउँछ।
++++++
पात्रहरू स्थापित भएका छन्। फ्ल्यासब्याकमा गएर गरिएको न्यारेसनले कथालाई थेगिरहन्छ।
डाक्टर आफ्नो चेतन र अवचेतन अवस्थाप्रति आफैं द्विविधामा रहेको कुरालाई उनले बेलाबेला भुलेका कुराहरूमार्फत् विकसित गरिएको छ।
तर कुनै कुनै दृश्यमा भने सबटेक्स्टमा बुझिसकिएको कुरामा पनि डायलग राखिएको छ। बिरामीसँगको कुराकानीको दृश्यमा धेरै कुरा सबटेक्स्टमानै देखिइसकेको थियो। दृश्यले बोलेको कुरा भन्न डायलग जरूरी थिएन।
पात्रहरूको अभिनयमा पनि कुनै कुनै दृश्यमा दमदार अभिनय देखिन्छ भने कतैकतै खस्किन्छ। विशेष गरी सिन परिवर्तन भएपछिको सुरूआती डायलगहरूमा पात्रले अघिल्लो सिनको लय भुलेको हो कि जस्तो देखिन्छ।
नाटकको ध्वनिमा काम गर्ने पर्याप्त ठाउँ थियो। उनीहरूको फरक फरक दिमागी अवस्थामा रहेका दृश्यहरूलाई ध्वनिमार्फत् अझै 'गोथिक' बनाउन सकिन्थ्यो।
भर्खरै रिलिज भएको भारतीय चलचित्र 'जजमेन्टल है क्या' मा त्यो काम भएको छ। अरूभन्दा फरक सोच्ने एक पात्र बोल्दा उनले सुन्ने ध्वनिलाई छुट्टै स्थान दिइएको छ त्यहाँ।
त्यसले डाक्टर सिग्देल तथा उनका सहयोगी अतुलको पात्रलाई अझै गहिरो बनाउने थियो। डा. सिग्देलले अतुलकी दिवङ्गत श्रीमतीसँग गरेको कुराकानीलाई पनि ध्वनिले अझै उत्कृष्ट बनाउन सक्ने थियो। त्यो कुनै कुनै बेला केबल कुनै रेकर्डिङ बजेको जस्तो मात्र लाग्छ।
नाटकले गहन विषयलाई समातेर निक्कै माथि पुगिसकेको बेला बीचबीचमा छिर्ने अनावश्यक कमेडी भातमा लागेका ढुङ्गा जसरी बिझाउँछन्। प्रहरीले गर्ने कमेडी सुरूआतका केही दृश्यमा बाहेक बीचमा आवश्यक थिएन।
+++++++
आफूलाई गोली चलाएका डाक्टरको अनुसन्धानको लागि प्रहरी उपस्थित भएको देखाउन दर्शकको देब्रेतिरको लाइटमा लगाइएको प्रहरीको भ्यान झल्किने कभर सुन्दर छ।
त्यसले अनुसन्धानको झलक दिन्छ। साथै अतुलको अवचेतन दिमागसँग डाक्टरले कुराकानी गरेको बेला प्रयोग भएको तारा अङ्कित प्रकाशले पनि उक्त सिनको मुडलाई कायम राखेको छ।
नाटकमा 'सम्मोहन' शब्द धेरैपल्ट दोहोरिन्छ। यसलाई सकारात्मक र नकारात्मक दुवै हिसाबमा रहेर बुझ्न सकिन्छ। सम्मोहन सबैतिर कायम छ।
यसका स्वरूप फरक होलान् तर सबैको दिमागमा फरक फरक सम्मोहन छन्। कति सामाजिक छन् त कति आर्थिक। कति सांस्कृतिक छन् त कति राजनैतिक।
चर्चित लेखक युभल नोह हरारी आफ्ना प्रवचनहरूमा मानिसहरूले बनाएका कथाको प्रसङ्ग ल्याइरहन्छन्। ती कथाले हामीलाई शासन गर्छन्। भिन्नभिन्न स्वरूपको सम्मोहन हामीलाई पनि शासन गर्छ।
समय बित्दै जाँदा समय आफैंले केही खाली ठाउँ छोड्छ। त्यो खाली ठाउँमा केही प्रश्न भरिन्छ, त्यो प्रश्न गह्रौ हुँदै जान्छ। त्यसले नयाँ नयाँ रूप लिन्छ। यदि त्यो प्रश्न एउटै रूप बनेर सडकमा उत्रियो भने त्यसले प्रश्न सोधिने ठाउँलाई फेर्छ। तर त्यसले पनि जवाफ दिन्छ भन्ने निश्चित हुँदैन।
अनि प्रश्न अलमलिन्छ र यसरी नै कथाकार, कवि, नाटककार र निर्देशकको दिमागमा जान्छ। त्यसले अर्को द्विविधामा आफूलाई पाल्छ र हुर्काउँछ। यसरी नै प्रश्न सोध्छ। अंश अंशमा। जवाफ खोज्छ अंश अंशमा। फेरि एकपल्ट शङ्कर लामिछानेको आत्मा प्रवीण खतिवडामार्फत् प्रश्न सोधिरहेछ। थाहा छैन त्यसले कतिन्जेल यसरी प्रश्न सोधिरहने हो?
यो अनन्त प्रश्न कतिन्जेल मानिसको दिमाग र मनसँग दोहोरी खेलिरहने हो? जवाफ मिल्ला नमिल्ला? मिले के होला, नमिले के होला? यसको यकिन जवाफ छैन।
सायद त्यसैले पनि नाटकको अन्त्य दर्शकको लागि खुला छोडिएको छ।