सिनेमाका फ्रान्चाइजहरूको सुखद् पाटो भनेको व्यापार हो। त्यसैले त कतिपय अवस्थामा सिक्वल नै नसोचिएका सिनेमाका सिक्वल बन्न थाल्छन्।
यो त भयो फाइदाको कुरा। यसको अर्को तथ्य पनि छ। धेरैजसो अवस्थामा पहिलो सिक्वल जस्तो दोश्रो हुँदैन र दोश्रो जस्तो तेश्रो हुँदैन।
यी सिनेमाहरूले पैसा त कमाउँछन् तर मन भने मुश्किलले हर्छन्।
सन् २०१० मा 'दबंग' रिलिज भयो। डेब्यू निर्देशक अभिनव कश्यपको निर्देशनमा बलिउड अभिनेता सलमान खान 'चुलबुल पाण्डे' बने भने सोनाक्षी सिन्हांले 'रज्जो'को रुपमा डेब्यू गरिन्।
सिनेमाले एउटा निडर र भ्रष्ट प्रहरीको आफ्नो सौतेनी बाबु र भाइसँगको तनावपूर्ण सम्बन्धको कथा पेस गरेको थियो। कथा र त्यसको प्रस्तुतिलाई दर्शकले मनपराए भने समीक्षकहरुबाट मिश्रित प्रतिक्रिया बटुल्यो।
सिनेमाको जबरदस्त सफलताले यसको तमिल र तेलेगु रिमेक पनि बन्यो। यी भाषामा पनि सिनेमा सुपरहिट सावित भए।
यस्तो सफलताबाट हौसिएका यसका निर्माता अरबाज खानले सिक्वल बनाउने घोषणा गरे। विविध कारणले सिनेमाका खास लेखक तथा निर्देशक अभिनव सिन्हा यस सिनेमा अटाएनन्। अरबाज आफैले सिनेमालाई निर्देशन गरे।
सन् २०१२ मा सिनेमा रिलिज भयो। सिनेमा त्यो वर्ष सर्वकालिन व्यापार गर्ने बलिउड सिनेमामध्येको एक बन्यो।
समीक्षकले यसपटक सिक्वलको अलि बढी नै आलोचना गरे। धेरैको बुझाइमा सिनेमा आफ्नो पहिलो सिनेमाको स्तरमा भएन। तर सिनेमाको व्यापारले सिनेमाका तमाम कमजोरी सबै छोपिदियो। यसपछि अरबाजले सिनेमाको तेश्रो श्रृखंला बनाउने घोषणा गरे।
शुक्रबारबाट सिनेमा प्रदर्शनमा आएको छ। सिनेमाको कथा सलमान खान आफैले लेखेका हुन्। प्रिक्वलका रुपमा लेखिएको सिनेमाले गतिलो व्यापार गर्ने अनुमान थियो।
सिनेमाले रिलिजको पहिलो दिन झण्डै २४ करोड भारूको सुरुवाती व्यापार गरेको छ। आउँदै गरेको क्रिसमस र नयाँ वर्षको अवसर छोपेको सिनेमा तेश्रोमा भागमा आइपुग्दा भने सबैभन्दा सिरिजकै कमजोर सिनेमा भएको छ।
सुत्रात्मक शैलीको 'मसला इन्टरटेनर' हुने गरिएको सिनेमा पर्दामा एउटा ८०-९० को दशकको बासी कथ्य शैलीका कारण अत्यन्तै झुर बनेको छ।
सिनेमाले कथाकारका रुपमा सलमान कति कमजोर लेखक हुन भन्ने छताछुल्ल पारिदिएको छ। करिब २ घण्टा ४५ लामो सिनेमामा सम्झन लायक र हेर्नलायक केही छैन। सिनेमा एउटै मात्र कुरा छ र त्यो कुरा सलमान खान हो। सिनेमाको अधिकाशं समय उनलाई भारी संवाद, अजंगका बढेमानका तन्दरुस्त गुण्डाहरूलाई एक-दुई लाती र मुक्कामै ढाल्नमा व्यस्त पारिएको छ। यी सबै गर्नका लागि हाइस्पीडको चरम दुरुपयोग सिनेमाभरी गरिएको छ।
प्रस्तुतिमा कुनै नविनता छैन। सिनेमा कुनै गति छैन। त्यसमाथि अनावश्यकरुपमा आउने आधा दर्जनबढी गीतहरूले सिनेमालाई अनावश्यक लामो र भारी बनाएको छ जसले सिनेमालाई आफूसँगै दर्शकलाई तान्न सक्दैन।
सलमानलाई अति नायकत्व प्रदान गर्ने नाममा सिनेमाका अन्य पात्रहरूलाई खुम्च्याइएको छ। सिनेमामा खलनायकको भूमिकालाई केन्द्रिय दन्वदमा मिसाउने गरी स्क्रिन स्पेस नै दिइएको छैन। सलमानको भूमिकाले सिनेमाको अधिकाशं समय ओगट्दा खिचा सुदिप जस्ता कलाकारको क्षमता सिनेमा उपयोग नै भएको छैन।
सुत्रात्मक सिनेमामा कला र तर्कको कुनै अर्थ छैन। तर 'दबंग ३' सलमानको स्टारडमले यसरी थिचिएको छ कि सुत्रात्मक सिनेमाको आत्मासमेत यसबाट हराएको छ।
सिनेमाले मनोरञ्जनको उदेश्य पूर्ति गर्दैन। केही होलाकी भन्दाभन्दै खासै केही नभई सिनेमा सकिन्छ।
संमग्रमा भन्नुपर्दा सलमानको 'दबंग ३'मा सिनेमा छैन, मात्र सलमान छन्। यस सिनेमाले स्वयमं सलमानका फ्यानलाई समेत निराश पार्छ।