फणिन्द्र, जोयस र मुन्नाले काठमाडौं सहरमा संघर्ष गर्ने आममान्छेको प्रतिनिधित्व गर्छन्।
आजभन्दा आठ वर्षअघि सन् २०१६ मा उनीहरूको जीवनमा ठूलो उथलपुथल आयो। मिहिनेत मजदुरी गरेर गुजारा गर्ने उनीहरूले एकदिन अचानक तीन करोड रूपैयाँ नगद भरिएको बोरा भेटे। बैंकबाट लुटिएको उक्त रकम लुकाउने र पचाउने दौडधुपमा उनीहरूले निकै हन्डर खेपे।
आखिरमा तीनै जना प्रहरीको फन्दामा परे। उनीहरूमाथि बैंक लुटेको आरोप लाग्यो।
दुई वर्षपछि उनीहरूले त्यो आरोपबाट सफाइ त पाए, तर जीवनको उथलपुथल थामिएन।
जेलबाट छुटेको वर्षदिन नबित्दै सन् २०१९ मा फणिन्द्र, जोयस र मुन्नाको जीवनमा अर्को भुइँचालो गयो। उनीहरूले एकदिन ठूलो परिमाणको सुन भेटे।
जेलबाट छुटेदेखि राम्रो काम नपाएका र गरिबीमा दिन काटिरहेका तीन जना साथीहरूले सुनका बिस्कुट लुकाउने र आफैं पचाउने निधो गरे। तर त्यो सुन ठूलो आपराधिक गिरोहको थियो। गिरोहका सदस्य उनीहरूलाई पछ्याउन थाले। तिनबाट मुक्ति पाउन तीन जनाले अनेक माथापच्ची गर्नुपर्यो।
फणिन्द्र, जोयस र मुन्नाले जीवनको उथलपुथलबाट अझै उन्मुक्ति पाइसकेका छैनन्।
तीन करोड नगद र करोडौं मूल्यको सुन लुकाउँदा पनि उनीहरूको जीवनमा सन्तोषको घडी आएको छैन। दालभातको संघर्ष जारी छ। फणिन्द्र अझै कामको खोजीमा छन्। जोयस हिरो बन्ने सपना बोकेर धाइरहेकै छन्। मुन्ना चाहिँ आफ्नो ससुरालीको भरमा गुजारा गरिरहेका छन्।
यसरी आ-आफ्नो ढंगले गुजारा गर्न थालेका तीन जनाको जीवन यसपालि फेरि आपसमा ठोक्किएको छ।
उनीहरूले फेरि एकचोटि धनी बन्ने ठूलो अवसर पाएका छन्। काम हो, एक ट्रक अवैध रकम लुकाउने।
यो रकम लुकाउने दौडधूप पनि सहज छैन। यसका लागि अनेक माथापच्ची गर्नुपर्नेछ, हन्डर खानुपर्नेछ।
सबभन्दा ठूलो कुरा त, यो रकम एक ठूला राजनीतिक नेताको अवैध धन हो। आफ्नो कालो धन लुकाउने प्रपञ्चका लागि ती नेताले फणिन्द्र, जोयस र मुन्नालाई छनौट गरेका हुन्। त्यसैले रकम लुकाउने र आफैं पचाउने दौडधुपमा यसपालि उनीहरूको टक्कर आपराधिक गिरोहसँग होइन, सिधै राजनीतिक समूहसँग हुनेछ। सजिलै धन कमाउने लालसाले यसपालि उनीहरूले सत्तासँग भिड्नुपर्नेछ।
माथिका यी तीन प्रसंग नेपाली चलचित्र जात्रा, जात्रै जात्रा र महाजात्राको हो।
व्यावसायिक रूपमा सफल यो सिने-शृंखलाले जात्रादेखि महाजात्रासम्म आइपुग्दा आममान्छेको सपनालाई राजनीतिक भ्रष्टाचारसँग जोडेको छ। पात्रका पृष्ठभूमि उही छन्, उनीहरूको संघर्ष उही छ, सपना पनि उही छ; तर यसपालि उनीहरूले सामना गर्नुपर्ने समूह पहिलेभन्दा फरक र बृहत् छ।
विगतका शृंखलामा आममान्छे र आपराधिक गिरोहको संघर्ष देखाइएको थियो भने यसपालि आममान्छे र सत्ताको संघर्ष चित्रण गरिएको छ।
निर्देशक प्रदीप भट्टराईले 'जात्रा' शृंखलाको यो तेस्रो कडीमा राजनीतिक शक्तिमा रहेका व्यक्तिले गरिब र पहुँच नभएका आममान्छेको जीवन कसरी दुरूपयोग गरिरहेका छन् भनेर देखाएका छन्।
उनले विगतका शृंखलामा जस्तै यसपालि पनि सामाजिक विषयवस्तु उठान गर्दै दर्शक हँसाउने भरपुर प्रयास गरेका छन्। फिल्मले सुरूदेखि अन्तिमसम्म दर्शक हँसाइरहन्छ। 'महाजात्रा' लाई बलियो बनाउन संवादले मुख्य भूमिका खेलेको छ। कुनै भद्दा मजाक नगरी संवादमार्फत नै दर्शक हँसाइरहनु निर्देशक तथा लेखक भट्टराईको खुबी हो।
पटकथा भने यसपालि कमजोर छ। मध्यान्तरसम्म त दर्शक बाँधिन्छन्, तर त्यसपछि फिल्म भट्किएको छ। सत्ताको आडमा गरिएको अपराध देखाउने क्रममा फिल्म मूल कथावस्तुभन्दा बाहिरतिर लागेको भान हुन्छ।
फिल्ममा एक महिला पात्रले जेलमा रहेका श्रीमानलाई साथ दिएको देखाइएको छ। तर उनको श्रीमान किन जेल परेका थिए भनेर जवाफ दिइएको छैन।
अर्को चित्त नबुझ्दो पक्ष क्लाइमेक्स हो। एक भ्रष्ट नेतामा अनायासै नैतिक परिवर्तन आएको देखाइएको छ, जुन अलि अस्वाभाविक लाग्छ।
अभिनयको कुरा गर्दा फणिन्द्रको भूमिकामा विपीन कार्की, जोयस बनेका रविन्द्रसिंह बानियाँ र र मुन्नाको भूमिकामा रविन्द्र झाले यसपालि पनि आफ्नो पात्रलाई न्याय गरेका छन्। आममान्छेको सपना र संघर्ष, लोभ र लाचारी देखाउनमा उनीहरू सफल छन्।
हरेक शृंखलामा एउटै पात्रलाई निरन्तरता दिनु मुस्किल काम हो। विपीन, रविन्द्रसिंह, रविन्द्र झा र वर्षा राउतले यो काम कुशलतापूर्वक निर्वाह गरेका छन्। उनीहरूको अभिनय अब्बल छ।
यही शृंखलामा थपिएका हरिवंश आचार्य र दिव्यदेवको अभिनय पनि उम्दा छ। फिल्ममा इन्स्पेक्टर खत्रीकी श्रीमतीको भूमिका गरेकी गौमाया गुरूङ भने औसत देखिन्छिन्।
संगीततर्फ 'साथी' बोलको गीतले तीन जना प्रमुख पात्रको मित्रता झल्काउँछ। यो गीतले फिल्मको मर्म थप बलियो पारेको छ। फिल्ममा दुइटा मात्रै गीत छन्। दोस्रो गीत आमसभामा बज्छ। 'हाम्रो जोडी' बोलको यो आइटम गीत हो। आमसभामा यस्तो गीत किन राखिएको भन्ने प्रश्न उठ्न सक्छ। तर गीत छोटो भएकाले खासै खट्किँदैन।
फिल्मको अर्को कमजोर पक्ष ब्याकग्राउन्ड संगीत हो। कथाको मुडअनुसार ब्याकग्राउन्ड बगेको छैन। यसमा ध्यान दिइएको भए फिल्म अझै बलियो बन्न सक्थ्यो। फिल्मको छायांकन पक्ष पनि सामान्य नै छ।
'महाजात्रा' सामान्य कथावस्तु र सामान्य प्रस्तुतिमा बगेको फिल्म हो। यो फिल्म बुझ्न धेरै दिमाग खियाउनुपर्दैन। तर 'जात्रा' र 'जात्रै जात्रा' को सिक्वेल भएकाले अघिल्ला भागका संवाद प्रशस्त प्रयोग गरिएका छन्। दुवै फिल्म हेर्नेलाई सामान्य लाग्ला, तर महाजात्रा मात्र हेर्नेलाई बुझ्न कठिन हुन सक्छ।
अघिल्ला शृंखलाको प्रसंग संवादले भनिरहँदा केही दृश्य पनि समावेश गरिएको भए महाजात्रा मात्रै हेर्ने दर्शकले फिल्म सजिलै बुझ्न सक्थे।
यो फिल्मलाई 'महाजात्रा' भनिए पनि 'जात्रा' र 'जात्रै जात्रा' को स्तरभन्दा माथि उठ्न सकेको छैन। मनोरञ्जन दृष्टिले भने अघिल्ला शृंखलाभन्दा कम पनि छैन।