गायिका निक्की कार्कीले सांगीतिक प्रस्तुतिका लागि अमेरिकाको नर्थ क्यारोलिना पुग्दा आयोजक संस्थाका प्रतिनिधिले आफूमाथि यौन दुव्र्यवहार गरेको फेसबुक लाइभमार्फत बताइन्। यस घटनाले अभिनेत्री केकी अधिकारीलाई छोयो। र, उनले फेसबुकमा स्टाटस लेखिन्।
हुन त उनले महिलामाथि हुने यस्ता दुव्र्यवहारका घटना हरेक क्षण देखिरहेकी छन्। भोगिरहेकी छन्। उनी भन्छिन्, ‘सायदै कोही महिला छैन होला, जसले यस्तो घटना नभोगेको होस्।’
निरन्तर देखे/भोगेकाले उनको मनमा जहिल्यै आक्रोश उत्पन्न हुन्थ्यो। निक्की कार्कीको घटनापछि भने उनले आफूलाई थाम्न सकिनन्। ‘आवाज देऊ’ शीर्षकमा उनले लेखेको स्टाटसको सम्पादित रुप यस्तो छः
महिलाहरुले आफ्नो जीवनकालमा कुनै न कुनै प्रकारका यौन दुव्र्यवहार वा यातना भोग्नुपरेको हुन्छ। महिला भएकै कारण यस्ता व्यवहार हरेक दिन जस्तै भोगिरहेका महिलालाई यो सामान्य लाग्दै जान्छ। ‘म केटी मान्छे हुँ, म आफैँ बच्नुपर्छ’ भन्ने ठानेर त्यो कुरालाई कोट्याउन चँहादैनौं।
एउटी केटी मान्छेको हरेक दिनको सङ्घर्ष घरबाट निस्केदेखि नै सुरु हुन्छ। बाटोमा हिँड्दा यति सतर्क भएर हिँड्नुपर्ने हुन्छ कि कसैले झुक्किएको बहानामा आफ्नो संवेदनशील अङ्ग नछोइदियोस्, स्कुटरमा हिँड्दा महिला भएकै कारण कुनै सवारीसाधनले नअत्याओस्। काम गर्ने ठाउँमा हामी हरेक दिन सतर्क हुनुपर्छ। किनकि हाम्रो खुलेर हाँस्ने र बोल्ने बानीलाई उनीहरुले ‘यौनिक चाहनाको संकेत’ बुझ्लान् भन्ने डर हुन्छ।
यी अनि यस्ता थुप्रै डरले जिन्दगीभर हामी आफ्नो कुम खुम्च्याएर, हाँसो लुकाएर अनि पाइला पाइलामा आफूलाइ जोगाएर हिँड्न बाध्य छौँ। तपाईं जोसुकै महिलालाई यस विषयमा सोध्नुस्, यस किसिमका भोगाइ नभएका ‘भाग्यमानी’ महिला सायदै पाउनुहुनेछ।
तर, हामी नै यस्ता घटनालाई आफैंभित्र दबाइदिन्छौं। हामीले अब महिला भएकै कारण भोग्नुपरेका व्यवहारविरुद्ध आफ्ना लागि मात्र नभएर सबै पीडितको मनोबल उच्च बनाउनका लागि, पुरुष भएकै कारण शोषण गर्न खोज्नेलाई निरुत्साहित पार्नका लागि बोल्न जरुरी छ।