बलिउडका चर्चित कोरियाग्राफर एवं निर्देशक रेमो डिसूजा, उनकी श्रीमती लिजेल डिसूजा समेत ७ जनामाथि एउटा नृत्य समूहले धोकाधडीको उजुरी दर्ता गरेका छन्।
भारतीय सञ्चारमाध्यम दैनिक जागरणका अनुसार महाराष्ट्रको ठाणे जिल्लामा उनीहरू विरूद्ध उजुरी दर्ता भएको हो। उनीहरूमाथि ११ करोड ९६ लाख भारू ठगेको आरोप छ।
एक जना २६ वर्षीय डान्सरले उनीहरूमाथि यस्तो आरोप लगाएको बताइएको छ। उनले अक्टोबर १६ मा मुम्बईको मीरा रोड प्रहरी थानामा उजुरी दर्ता गराएका थिए। प्रहरीले आरोपी सबैमाथि जालसाजी, धोकाधडी र अन्य धारा अनुसार मामिला दर्ता गरेको छ।
उजुरीका अनुसार डान्सर र उसको ग्रुपसँग सन् २०१८ देखि सन् २०२४ को बीचमा धोकाधडी भएको हो। यस ग्रुपले टिभीको एउटा शोमा प्रदर्शन गरेर जीत पनि हासिल गरेको थियो। रेमो र उनको समूहले पीडितहरूको समूह आफ्नो हो भन्ने देखाएर शोमा जितेको ११ करोड ९६ लाख भारूको पुरस्कार राशि हत्याएको आरोप लगाइएको छ।
रेमो डिसूजा र लिजेलबाहेक आरोपीमा ओमप्रकाश शंकर चौहान, रोहित जाधव, फ्रेम प्रोडक्सन कम्पनी, विनोद राउत, एक पुलिसकर्मी र रमेश गुप्ता सामेल छन्। यो मामिलाको जाँच भइरहेको प्रहरीले बताएको छ।