लामो समयदेखि प्रेम सम्बन्धको चर्चामा रहेका भारतीय अभिनेता विजय देवरकोन्डा र अभिनेत्री रश्मिका मन्दना अमेरिकाको न्युयोर्कमा आयोजित एक कार्यक्रममा सँगै देखिएका छन्।
एकसाथ देखिएपछि उनीहरूका तस्वीरहरू सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् भने उनीहरूको प्रेमको चर्चा थप चुलिएको छ।
विजय र रश्मिकाले आफ्नो सम्बन्ध आधिकारिक रूपमा स्वीकार नगरे पनि उनीहरूको प्रेमको चर्चाले सधैं मिडियामा स्थान पाउने गरेको छ।
हालै, विजय र रश्मिका न्युयोर्कमा आयोजित ४३ औं इण्डिया डे परेडमा 'ग्रान्ड मार्शल' को रूपमा सहभागी भएका थिए।
अगस्ट १७ मा न्युयोर्कको म्यानह्याटनस्थित मेडिसन एभिन्युमा भएको परेडमा उनीहरुले अन्य विशिष्ट व्यक्तिहरूसँगै नेतृत्व गरेका थिए। भारतीय स्वतन्त्रता दिवसको अवसरमा न्युयोर्क सहरमा हरेक वर्ष यो कार्यक्रम मनाइन्छ। यो परेड भारतबाहिर हुने सबभन्दा ठूलो भारतीय परेडहरूमध्ये एक मानिन्छ।
कार्यक्रमका क्रममा खिचिएका उनीहरूका केही तस्वीरहरू अहिले सामाजिक सञ्जालमा निकै भाइरल भएका छन्, जसमा उनीहरूको केमेस्ट्री स्पष्ट देख्न सकिन्छ। यी तस्वीरहरूमा विजय र रश्मिका एकअर्कालाई हेरेर मुस्कुराएका देखिन्छन्, जसले यी दुईका फ्यानहरूलाई निकै उत्साहित बनाएको छ।
यो चर्चित जोडीलाई लामो समयपछि एकसाथ सार्वजनिक कार्यक्रममा देखिएको हो। कार्यक्रमका तस्वीरहरू सञ्जालमा सार्वजनिक भएलगत्तै भाइरल भएका थिए।
विजय र रश्मिकाले 'गीता गोविन्दम' र 'डियर कमरेड' जस्ता हिट फिल्ममा सँगै काम गरेका छन्। दर्शकले उनीहरूको जोडीलाई निकै रूचाएका छन्।
लामो समयपछि आफ्नो मनपर्ने जोडीलाई सँगै देखेपछि फ्यानहरूले पनि यतिबेला सामाजिक सञ्जालमा खुसी व्यक्त गरेका छन्।