बलिउड अभिनेत्री शिल्पा शेट्टी कुन्द्राले आफ्नो तस्बिर र भिडिओको अनधिकृत प्रयोग रोक्न बम्बई उच्च अदालतमा मुद्दा दायर गरेकी छिन्।
उनले 'पर्सनालिटी राइट्स' (व्यक्तित्वको अधिकार) को सुरक्षाको माग गर्दै मुद्दा दायर गरेकी हुन्।
भारतीय संचारमाध्यम हिन्दुस्तान टाइम्सका अनुसार, शिल्पाले दायर गरेको मुद्दामा २७ जना चिनिएका र सयौं अपरिचित व्यक्ति तथा वेबसाइटहरूलाई विपक्षी बनाइएको छ।
विभिन्न वेबसाइटहरूले अवैध रूपमा उनका तस्बिरहरू विज्ञापनका लागि प्रयोग गरेको पाइएपछि उनले कानुनी बाटो रोजेकी हुन्।
शिल्पाको तर्फबाट अधिवक्ता सना रईस खानले मुद्दा दायर गरेकी हुन्। उनले कुनै पनि व्यक्ति वा संस्थालाई अनुमति बिना शिल्पाको नाम वा तस्बिर प्रयोग गरेर व्यावसायिक लाभ लिने अधिकार नभएको बताइन्।
यसले शिल्पाको गरिमामा आँच पुर्याएको भन्दै कडा कानुनी उपचारको माग गरिएको छ।