प्रख्यात पञ्जाबी अभिनेता तथा हास्य कलाकार जसविन्दर भल्लाको ६५ वर्षको उमेरमा निधन भएको छ।
उनको शुक्रबार बिहान पञ्जाबको मोहालीस्थित एक अस्पतालमा निधन भएको भारतीय संचारमाध्यमले जनाएका छन्।
केही दिनदेखि अस्वस्थ उनलाई गत बुधबार ब्रेन स्ट्रोक भएपछि अस्पताल भर्ना गरिएको थियो।
भल्लाले सन् १९८८ को लोकप्रिय हास्य शृङ्खला 'छनकटा' बाट करिअर थालेका थिए। त्यस्तै, उनले 'जट्ट एन्ड जुलियट', 'सरदार जी', 'क्यारी अन जट्टा' जस्ता धेरै सफल फिल्महरूमा अभिनय गरेका छन्।
भल्लाको परिवारमा श्रीमती छोरा र छोरी छन्। उनका छोरा पुखराज भल्लाले पनि आफ्नो बुबाको पाइला पछ्याउँदै पञ्जाबी फिल्ममा अभिनेता र गायक दुवैको रूपमा आफ्नो नाम कमाएका छन्।
दिवंगत अभिनेता भल्लाको अन्तिम संस्कार शनिबार मोहालीको बलौंगी शवदाह गृहमा गरिने जनाइएको छ।