भारतीय फिल्म 'सैयारा' को अपार सफलतासँगै यसका मुख्य कलाकार अभिनेता अहान पाण्डे र अभिनेत्री अनित पड्डा निकै चर्चामा आए। यो फिल्मले बक्स अफिसमा आक्रामक कमाइ गर्यो। नेपालमा समेत फिल्मको कमाइ आक्रामक रह्यो।
फिल्मको सफलतासँगै यतिबेला यसका कलाकार अहान र अनितबीचको प्रेम सम्बन्धको चर्चा फेरि चुलिएको छ। फिल्म निर्माता करण जोहरले सानिया मिर्जाको पडकास्टमा उनीहरूलाई बलिउडको नयाँ 'इट कपल' अर्थात चर्चित जोडीको संज्ञा दिएपछि यो हल्लाले थप बल पाएको हो।
सानिया मिर्जाको शो 'सर्भिङ इट अप विथ सानिया' मा कुरा गर्दै करणले अहान र अनितको अफ–स्क्रिन केमेस्ट्रीबारे घुमाउरो पारामा संकेत गरे। उनीहरूको सम्बन्धबारे सोधिएको प्रश्नमा करणले भनेका छन्, 'उनीहरू आधिकारिक रूपमा अझै एक भइसकेका छैनन्। भविष्यमा हुनेछन् वा छैनन्, त्यो मलाई थाहा भएन। किनकि मैले यसबारे जाँच गरेको छैन।'
यद्यपि, उनले यो जोडीलाई उद्योगको सम्भावित नयाँ जोडीका रूपमा चित्रण गरे।
यसअघि फिल्म ‘मिराई’ को पत्रकार सम्मेलनमा पनि करणले ‘सैयारा’ को सफलताको प्रशंसा गर्दै बक्स अफिसमा अब स्टार पावर मात्र नभई कथा र प्रस्तुति मुख्य हुने बताएका थिए। मोहित सुरीको निर्देशनमा बनेको यो फिल्मले नयाँ कलाकारलाई पनि रातारात स्टार बनाएको उनको भनाइ थियो।
'उनीहरू पहिले सुपरस्टार थिएनन्, अब बनिसके,' करणले अहान र अनितको प्रशंसा गर्दै भने।
यशराज फिल्म्सको ब्यानरमा जुलाई १८ मा प्रदर्शन भएको ‘सैयारा’ ले विश्वभर ५७० करोड भारतीय रूपैयाँ कमाएको छ। यससँगै अहान र अनित बलिउडका नयाँ र लोकप्रिय अनुहारका रूपमा स्थापित भएका छन्।
यो फिल्मको सफलतापछि अभिनेत्री अनित नेपाल समेत आएकी थिइन्।