बलिउड अभिनेता रणवीर सिंह स्टारर 'धुरन्धर' ले विश्वव्यापी बक्स अफिसमा राम्रो कमाइ गरेको छ।
आदित्य धर निर्देशित स्पाइ–थ्रिलर फिल्मले रिलिजको १० औं दिनसम्ममा विश्वभर ५ सय करोड भारूभन्दा बढीको कमाइ गरेको हो।
त्योसँगै फिल्म सन् २०२५ को चौथो सबभन्दा धेरै कमाउने भारतीय फिल्म बनेको छ। फिल्मले दश दिनमा भारतमा ३ सय ५१ करोड भारू नेट (४ सय २२ करोड भारू ग्रस) कमाएको छ। फिल्मको विश्वव्यापी आम्दानी ५ सय ३० करोड भारू पुगेको जनाइएको छ।
व्यापार विश्लेषकका अनुसार 'धुरन्धर' ले यस उपलब्धिसँगै 'पुष्पा', 'डंकी', 'वार' र 'कुली' जस्ता चर्चित फिल्महरूको आजीवन बक्स अफिस कलेक्सनसमेत उछिनेको छ।
रजनीकान्तको 'कुली' (५१८ करोड भारू), शाहरूख खानको 'डंकी' (४७० करोड भारू), ऋतिक रोशनको 'वार' (४४९ करोड भारू) र अल्लु अर्जुनको 'पुष्पाः द राइज' (३६५ करोड भारू) को लाइफटाइम कमाइलाई 'धुरन्धर' ले उछिनेको हो।
यसले फिल्मलाई सन् २०२५ का सबैभन्दा धेरै कमाउने भारतीय फिल्महरूमध्ये शीर्ष स्थानमा पुर्याएको छ।
२०२५ मा रिलिज 'कान्ताराः च्याप्टर वान' (८५२ करोड भारू), 'छावा' (८०८ करोड भारू) र 'सैयारा' (५७९ करोड भारू) अगाडि छन्।
'धुरन्धर' मा रणवीर सिंहसँगै अक्षय खन्ना, आर. माधवन लगायतको अभिनय छ। नेपालका सिनेमा हलहरूमा समेत फिल्म प्रदर्शन भइरहेको छ।