पुस्तक समीक्षा
हालै सम्पन्न नेपाल लिटरेचर फेस्टिभलका आकर्षणहरु मध्येको एक थियो, त्यो हिमाली पृष्ठभूमि।
वक्ताहरुको पङ्क्ति पछाडिबाट चियाउँदै गरेका हिमालहरुले कार्यक्रमको उचाइ अझ अग्ल्याए जस्तो लाग्ने। चिल्ला फ्लेक्स र चम्किला एलसिडी डिस्प्लेहरुको भीडबाट त्यो प्राकृतिक पोष्टरले अलग्याए जस्तो लाग्ने।
तर एउटा दृश्यले मन चसक्क भयो। पृष्ठभूमिको माछापुच्छ्रेमा खासै हिउँ देखिएन। त्यसरी हिमाल पग्लनुको कारण हो जलवायु परिवर्तन, धेरैले त्यही भन्छन्। विज्ञानले त्यही भन्छ।
हिमरेखा माथि सर्दै गरेका तिनै हिमालहरुको आँगनमा एउटा सत्र पनि थियो-जलवायु परिवर्तनको विषयमा केन्द्रित। आफैमा एउटा रुपक जस्तो। विडम्बना दर्शाउने बिम्बजस्तो।
त्यहाँ चर्चा थियो विज्ञानको। प्रकृति, प्रणाली, र पद्धतिको। हामी मान्छेका व्यवहारहरुको, अग्रजहरुको उदासिनताको। आउने पुस्ताहरुप्रतिको न्याय अन्यायको। छलफल यान्त्रिक लागदथ्यो घरिघरि। तर त्यो विषयवस्तुको उठान आवश्यक थियो, अपरिहार्य थियो।
त्यो सत्रको एउटा सन्देशले मन छोयो– जलवायु परिवर्तनको विषयमा साहित्य कोरिनुपर्छ। गाँसिनुपर्छ गीत, गजल र कविताहरु। लेखिनुपर्छ आख्यानहरु।
लेखकहरुको वृत्तले यो सामयिक मुद्दामा पक्कै शब्दहरु उन्दै गर्ला। वर्तमानमा त्यो एउटा प्रमुख लेखकीय दायित्व हो। र हामी पाठकहरुको दायित्व हो यस्ता साहित्यहरु छिचोल्ने, मन्थन गर्ने, मनन् गर्ने।
यही सेरोफेरोमा मलाई एउटा पुस्तकको चर्चा गर्नै पर्छ भन्ने लाग्यो। लिडिया मिलेटको ‘अ चिल्डेरन्स् बाइबल’।
न्यूयोर्क टाइम्सले सन् २०२० का दश उत्कृष्ट पुष्तकहरुको सूचीमा राखेको यो उपन्यास जलवायु परिवर्तनका बारेमा लेखिएको अत्यन्तै सामयिक रुपक हो। भर्खर किशोरावयमा टेक्दै गरेकाहरु र अझ स-साना केटाकेटीहरुको सामुहिक मुखपत्र हो।
जलवायु परिवर्तन र त्यसले निम्त्याउने ध्वंसको विज्ञान र फरक पुस्ताहरुबीचको द्वन्दको मनोविज्ञानलाई आख्यानकार मिलेटले अत्यन्त मिहिन, कलात्मक, र चाखलाग्दो रुपमा उतारेकी छन्।
पुस्तकमा प्रयुक्त अधिकांश बिम्बहरु बाइबलबाट लिइएका छन्। घटनाहरुको उठान र बैठानमा पनि बाइबल र त्यसँग जोडिएका मिथकहरुको प्रचुर प्रयोग गरेकी छन् मिलेटले।
कथावाचकको रुपमा रहेकी इभ, उनको सानो भाइ ज्याक र साथीहरुकै वरिपरी कथावस्तु घुमेको छ। पुस्तकहरुबीच रमाउने ज्याकलाई कसैले केटाकेटीले पढ्ने एउटा सचित्र बाइबल थमाइदिएको छ। धर्मबारे कुनै जानकारी र बोध नभएको ज्याकले बाइबललाई रहस्यले भरिएको तिलस्मी कथाहरुको एउटा किताबको रुपमा पढ्छ।
कथाको सुरुआत सामान्य छ।
विद्यार्थीकालपछि लामो समयसम्म एकआपसमा नभेटेका केही वयस्कहरु बिदा मनाउन जम्मा भएका छन् एक ठाउँमा। सँगै छन् उनीहरुका छोराछोरीहरु। तर बाआमाहरुलाई बालबच्चाको कुनै पर्वाह छैन।
बा-आमाहरुको समूह मग्न छ नशामा, व्याभिचारमा, आफ्नै रमाइलोमा। सामान्य अभिभावकीय जिम्मेवारीबाट समेत पन्छिएका छन् उनीहरु। र उनीहरुप्रति केटाकेटीको कुनै आदरभाव देखिँदैन्। बा-आमाको त्यो बहुलठ्ठीपना केटाकेटीहरुलाई लाजमर्दो लाग्छ।
बा-आमाप्रति खेद मान्दै उनीहरु भन्छन् 'दे वेयर अकसनरी टेल।'
केटाकेटीहरु आफ्नै बेग्लै दुनियाँमा रमाइलो गर्छन्। घरिघरि जीवन र जगतका कुरा गर्छन्। मानव इतिहासका प्रश्नहरु उधिन्छन्। समुन्द्रको किनारमा पाल टाँगेर समय काट्छन्। बढ्दै गरेको समुन्द्री सतह र हराउँदै गरेका पेन्गुइन र पोलर बेयरहरु बारे चासो राख्छन्।
जलवायु परिवर्तनको विभिषिका बारे कुरा गर्छन्। एउटाले भन्छ, जलवायुको तुलनामा आणविक बम त चुत्थो हो। लिडिया मिलेटका केटाकेटीहरुमा गजबको परिपक्वता छ। र छ वयस्कहरुप्रतिको रोष र खेद पनि।
बालसुलभ खेल खेल्छन् उनीहरु। बा-आमाप्रतिको घिनलाई समेत उनीहरुले खेलको विषय बनाउँछन्। जो आफ्नो पैतृक पहिचान अन्तिमसम्म लुकाउन सक्छ, उही बिजेता!
म यी मतिहीन बा-आमाको सन्तान हुँ भनेर उनीहरु चिनिन चाहँदैनन्। उनीहरुका लागि त्यो लज्जा मात्रै होइन, पराजयको पनि विषय हुन्छ।
तर विस्तारै उपन्यासको कथावस्तु त्रासदी उन्मुख हुन्छ। बेमौसमी तुफान र बाढीले उनीहरु बसेको घर समेत चुहिन लाग्छ, डुब्न लाग्छ। बा-आमाहरुमा अत्यास र अन्योल त छ नै, तर ती केटाकेटीहरु चुहिएको छत टाल्न, घर जोगाउन लाग्छन्। तर बा-आमाको पुस्ता झन् झन् मदिराको, नशाको साहारा लिन्छ।
जुन समस्याहरु निम्त्याउन बाटो खनेको थियो उनीहरुको पुस्ताले, त्यो समस्याको सामना नगरी बा-आमाहरुले लत्तो छाड्छन्। त्यहाँबाट केटाकेटीहरु आफ्नै बाटो लाग्छन्। बा-आमाहरुलाई उनीहरुको मतलब भएको देखिँदैन।
जलवायु परिवर्तनले ल्याएका त्राषदिहरु प्रत्यक्ष भोग्न बाध्य हुन्छन् केटाकेटीहरु। ज्याकले सचित्र बाइबल देखाँउदै दिदी इभलाई भन्छ- यो सब किताबमा छ। बाढी। तुफान। पलायन।
केही महत्वपूर्ण तथ्य उजागर गरेको अनुभूतिमा ज्याकले भन्छ- यो पुस्तक त एउटा पहेली हो, सांकेतिक भाषामा लेखिएको पहेली। यो पुस्तकमा भनेको ‘गड’ प्रकृति हो। 'गड इज अ कोड वर्ड। दे से गड, बट दे मिन नेचर।'
उसो भए जिसस को त? ज्याकले त्यो पहेलीको जवाफ पनि भेटेको छ। जिसस माने विज्ञान। ज्याकले भन्छ- 'इफ गड स्ट्यान्ड्स फर नेचर, द जिसस स्ट्यान्ड्स फर साइन्स।' तर ज्याकले अझै ‘होली स्पिरिट’ को अर्थ भेट्दैन।
केटाकेटीहरु आफ्नो निर्वासनका बखत अनेक कष्ट भोग्छन्। दंगा, महामारी, निरङ्कुशता यी सबबाट कुनै न कुनै रुपमा प्रभावित हुन्छन्। जलवायु परिवर्तनले ल्याउन सक्ने विनाशको एउटा अत्यासलाग्दो चित्र उनीहरुको भोगाइमा देखिन्छ।
पढ्दै गर्दा घरिघरि लाग्छ, यो कल्पनाको संसार नभएर भावी पुस्ताहरुको भोगाइको दर्पण हो। कहाली लाग्दो भविष्यको चेतावनी हो।
प्रतिवेदनका क्लिष्ट ठेलीहरु र केही भाषणका हरफहरुमा रुमल्लिएको विषयलाई मनछुने गरी ‘अ चिल्ड्रेन्स् बाइबल’ मा आकार दिनसक्नु नै उपन्यासकार मिलेटको विशेषता ठहरिन्छ। भाषा सरल छ र छ अर्थपूर्ण पनि।
अध्यारो प्रलयको वर्णनमा पनि मिलेटका वाक्यहरुमा एउटा मधुरो प्रकाश छ- हाँस्यरस बोकेका जुनकीरीहरुको, व्यङ्गमिश्रित ताराहरुको रिमझिमको, आशाको झिल्को बोकेका तर क्लान्त केटाकेटीको।
एउटा गजबको प्रयोग के भने, मिलेटले कथावाचकको मुखबाट 'हामी' सर्वनामको प्रयोग गरेकी छन्। हामीले यो भोग्यौँ, हामीले यस्तो सल्लाह गर्यौं आदि।
यो बहुवचन सर्वनामको प्रयोगले किशोरावयका र अझ साना केटाकेटीहरुको सामुहिक आवाजको रुपमा उपन्यासको मर्म मुखरित भएको छ। सन् २०१९ सेप्टेम्बरमा संयुक्त राष्ट्रसंघको एउटा भेलामा सहभागी विश्वभरका नेताहरुलाई ग्रेटा थनबर्गले औँला ठड्याउँदै, 'यू आर फेलिङ् अस्!' भनेजसरी।
उपन्यासको अन्तिममा ‘होली स्पिरिट’ को पहेली सुल्झाउँदै इभले भाइ ज्याकलाई भन्छे, सायद त्यो भनेको कला हो। जवाफमा भाइले आत्मविश्वासपूर्वक भन्छ 'आर्ट इज द घोष्ट'- कला नै आत्मा हो।
प्रकृति, विज्ञान र कलाको त्रिवेणीबाट नै जलवायु परिवर्तनको दावानलबाट मोक्ष मिल्छ। मिलेटको उपन्यासको सार, ज्याकले सचित्र बाइबलबाट खिचेको सार यही नै हो।
जलवायु परिवतर्नका विषयहरु कला साहित्यले समेट्नु पर्छ भन्दै गर्दा, पग्लिँदा हिमालहरुको काखमा गत डिसेम्बरमा सम्पन्न नेपाल लिटरेचर फेस्टिभलको त्यो सत्रको सार पनि त त्यस्तै थियो आखिर!