वरिष्ठ समाजसेवी शान्तलाल मुल्मीको 'मभित्रको म' पुस्तक लोकार्पण भएको छ।
पूर्वप्रधानन्यायधिस कल्याण श्रेष्ठ, भाषासेवी मल्ल के सुन्दर, मानव अधिकारकर्मी प्रा.कपिल श्रेष्ठ, साहित्यकार सुलोचना मानन्धर, समालोचक केशव दाहालले मुल्मीको आत्मवृत्तान्त संयुक्त रूपमा लोकार्पण गरेका हुन्।
उक्त पुस्तकमा ७८ वर्षीय मुल्मीले जीवनमा भोगेका राजनीतिक, साहित्यिक, मानव अधिकार, अन्तर्राष्ट्रिय सम्बन्ध लगायतका विषय समेटिएका छन्।
कार्यक्रममा प्रमुख अतिथि एवम पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले नछोडी धर्म नतोडी ब्रम्ह, गरेर कर्म नै जीवनको मर्म हो भन्ने सन्देश आत्मवृतान्तले पस्केको बताए। उनले राजनीतिबाट हामी असुरक्षित हुँदै गइरहेको र नेताहरू जितेको अनि जनता हारेको अनुभूति हुन थालेको टिप्पणी कार्यक्रममा गरेका थिए।
भाषासेवी एवम् मानव अधिकारकर्मी मल्ल के सुन्दरले मुल्मीको आत्मवृतान्त आफ्नै कथा जस्तो लाग्ने र आफ्नो जीवनसँग पनि मेल खाएको बताउँदै मभित्रको म पुस्तक पढ्दा आफ्नै कथा व्यथा पढेकोजस्तै हुने बताए।
साहित्यकार सुलोचना मानन्धरले आफूले आफैंलाई ढाँट्न नसक्ने र मान्छेले जीवनमा गलत गरेता पनि सुधार्ने मौका प्राप्त हुने सन्देश इमान्दारितापूर्वक लेखकले लेखेको बताए।
समालोचक केशव दाहालले मभित्रको म आत्मवृतान्तमा शब्दको माधुर्यता रहेको, शब्दको लय मिलेको र मेरो अस्तित्व खोज्न सिक्न सिकाउने खालको रहेको बताए।