एक डाक्टर जसले नेपालको सबैभन्दा पुरानो अस्पताल ‘वीर अस्पताल’ शल्यक्रिया विभाग खडा गरे। उनी नेपालका पहिला शल्य चिकित्सक थिए। उनी हुन् प्रा.डा. अञ्जनीकुमार शर्मा।
उनै प्रा.डा. शर्माकी छोरी अनीता ढुंगेलले आफ्ना बुबाको स्मरणमा एउटा पुस्तक लेखिन्– नकोरिएका सन्दर्भहरूः प्रा.डा. अन्जनीकुमार शर्माको जीवनचरित।
शनिबार आयोजित एक कार्यक्रममा डा. शर्माकी श्रीमती अन्नपूर्णा शर्माले उक्त पुस्तक लोकार्पण गरिन्। पुस्तकको मूल्य ५५० रूपैयाँ राखिएको छ। बिक्रीबाट संकलित रकम भक्तपुर क्यान्सर अस्पताललाई प्रदान गरिने बताइएको छ। प्रा.डा. शर्मा भक्तपुर क्यान्सर अस्पतालका संस्थापक मध्येका एक थिए।
लोकार्पण कार्यक्रममा पुस्तकमाथि समीक्षात्मक टिप्पणी गर्दै प्रा.डा. ज्ञानु पाण्डेले प्रा.डा. शर्मा चिकित्सक मात्र नभई प्रेरक समाजसेवी पनि रहेको बताइन्। उनका अनुसार पुस्तकले नेपाली चिकित्सासेवा सम्बन्धमा समाजको अज्ञानता हटाउन डा. शर्माले निर्वाह गरेको भूमिका छर्लङ्ग पारेको छ। पुस्तक लेखाइ कलात्मक र पाठकमैत्री रहेको उनले बताइन्।
लेखनशैली निकै तटस्थ र सन्तुलित रहेको र पुस्तकमा नेपालको स्वास्थ्य क्षेत्रको सग्लो इतिहास पढ्न पाइने उनले बताइन्। प्रा.डा. पाण्डेले नेपाली साहित्यको जीवनी लेखन विधामा उक्त पुस्तकले नयाँ आयाम थप्ने विश्वास प्रकट गरिन्।
पर्यटन व्यवसायी कर्ण शाक्यका अनुसार डा. अञ्जनीकुमार राजादेखि रैतीसम्मका प्रिय थिए। उनले प्रा.डा. शर्माको व्यक्तित्वको चर्चा गरे।
डा. शंकरमान राईका प्रा.डा शर्मा एक चिकित्सकमात्र नभई प्राज्ञिक व्यक्ति पनि थिए। उनी आफू पनि लेख्थे अनि चिकित्सकले रोग तथा स्वास्थ्यसम्बन्धी लेख लेखेर आमजनतालाई जानकारी गराउनुपर्छ भनेर अरूलाई पनि घच्घच्याउँथे।
शल्यचिकित्सक डा. सुदीपकुमार भट्टाचार्यका अनुसार प्रा.डा. शर्मा नेपालको आधुनिक शल्यचिकित्साका जननी थिए।
समाजसेवी पुनमचन्द्र अग्रवालका अनुसार प्रा.डा. शर्माले लाइन्स क्लबमार्फत समाजसेवामा अविस्मरणीय योगदान पुर्याएका थिए। कार्यक्रममा डा. गौरीशंकर लाल दास र डा हेमाङ्ग दीक्षितले प्रा.डा. शर्माले क्यान्सर रोगको रोकथाम, नियन्त्रण तथा उपचारमा पुर्याएको योगदानमाथि चर्चा गरेका थिए।
वि.सं. सन् १९८५ जेठ २७ गते सिरहाको भलुहाईमा जन्मेका प्रा.डा. शर्माले सन् १९५५ मा भारतको कलकत्ता मेडिकल कलेजबाट एमबिबीएस गरेका थिए। उनले भारतकै दरभंगा मेडिकल कलेजबाट मास्टर्स अफ सर्जरी (एमएस) गरेका थिए। उनले बेलायतबाट ‘फेलो अफ रोयल कलेज अफ सर्जन (एफआरसिएस)’ पनि गरेका थिए।
प्रा.डा. शर्मा नेपाल मेडिकल कलेजका पाँच जना संस्थापक मध्येका एक थिए। उनी नेपाल मेडिकल एसोसिएसनका अध्यक्ष पनि भए। उनले एमबिबिएसको अन्तिम परीक्षामा शल्यक्रियातर्फ उत्कृष्ट विद्यार्थीले पाउने गरी सन् २००९ मा ‘अञ्जनीकुमार शर्मा स्वर्ण पदक’ स्थापना गरेका थिए।