काठमाडौंको उत्तरी भेग तारकेश्वर नगरपालिकामा अवस्थित फुटुङ्ग क्षेत्रको इतिहास, संस्कृति र पछिल्ला चार दशकको विकासका विभिन्न पक्षलाई समेटेर तयार पारिएको पुस्तक सार्वजनिक भएको छ।
झण्डै दुई दशकदेखि सामाजिक विकास र सञ्चार क्षेत्रमा क्रियाशील श्रीराम फुटुङ्गेले लेखेका ‘फुटुङ्गः इतिहास, संस्कृति र विकास’ नामक पुस्तक सार्वजनिक भएको हो।
पुस्तकमा फुटुङ्गको इतिहास, संस्कृति र विकासका विविध पक्ष तथा बदलिएको जीवन र आगामी दिन गर्नुपर्ने विषय समेटिएको लेखक फुटुङ्गको भनाइ छ। उनकाअनुसार, फुटुङ्गको पहिचानलाई चिनाउने र फुटुङ्गको बारेमा लिखित सामग्रीको अभावलाई पूर्ति गर्ने प्रयास स्वरुपलामो समयको प्रयासपछि पुस्तक तयार भएको हो।
पुस्तकमा फुटुङ्ग गाउँको इतिहास, धार्मिक र सांस्कृतिक पक्ष तथा २०४० को दशकमा गाउँको सामाजिक परिवेश अनि क्रमशः शहरी इलाका बन्दै गएको घटनाक्रमको चित्रण गरिएको छ।
त्यस्तै, जीविकोपार्जन र फुटुङ्गको आधुनिकविकास, त्यसमा स्थानीयतह र विभिन्न संघसंस्थाको योगदानलाई समेत पुस्तकमा व्याख्या गरिएको छ।
पुस्तकको पहिलो खण्डमा उक्त गाउँको ऐतिहासिकता, वस्ती विकास तथा विभिन्न जातिको बसाइसराइपछि आगमनका विविध पक्षलाई उतारिएको छ।
लिच्छविकालमा अस्तित्वमा आएको मानिएको फुटुङ्गमा जातिय विविधतासहितको बसोबास रहेको पुस्तकले चर्चा गरेको छ।
फुटुङ्गको पहिलो रैथाने मानिएका नेवार समुदायको धार्मिक चाडपर्व, जात्रा, संस्कृति, भजनलाई समेत छुट्टै खण्डमा चर्चा गरिएको छ। काठमाडौं उपत्यकाका अन्य ग्रामीण भेग जस्तै फुटुङ्गमा पनि नेवारी समुदायले बर्षभरि मनाउने जात्राका रोचक र ऐतिहासिक पक्ष पुस्तकको एउटा विशेषता हो।
त्यस्तै, उनीहरूको परम्परा र गुठी सम्बन्धी ऐतिहासिक वर्णन पुस्तकमा पढ्न पाइन्छ। फुटुङ्गक्षेत्रमा नेवार समुदायको ६ वटा गुठी प्रचलनमा रहेको विवरण पुस्तकमा छन्। प्राचीनकालदेखिका मठमन्दिर एवम् धरोहर संरक्षणका लागि भएका पहल सम्बन्धी विवरण पुस्तकमा समेटिएको छ। पुस्तकअनुसार फुटुङ्गमा १८ वटा मठमन्दिर छन्।
कुनै समय कृषि पेशामा अगाल्ने यस क्षेत्रका बासिन्दाहरूको जीवनशैलीमा आएको परिवर्तन र परिवर्तित सन्दर्भमा पुस्तान्तरणले पारेको प्रभाव र असरलाई पुस्तकले महत्व दिएको छ।
त्यस्तै, फुटुङ्गमा शिक्षा शीर्षकको खण्डमा फुटुङ्गमा भएको शैक्षिक विकास र औपचारिक शिक्षाको संघर्षपूर्ण छ दशकको रुपमा चित्रण गरिएको छ।
त्यसैगरी स्वास्थ्य क्षेत्रमाभएका परिवर्तनसँगै भौतिक विकासमा भएका उपलब्धी तथा सामाजिक संघ–संस्थाको भूमिकाबारे चर्चा गरिएको पुस्तकले सामाजिक र चेतना विकासमा महत्वपूर्ण पहल भए पनि निरन्तरताको अभाव भएको यथार्थलाई औंल्याएको छ।
फेरिएको फुटुङ्ग शीर्षकको खण्डमा सडक, यातायात सञ्चालनबारे २०५० को दशकपछि भएका परिवर्तन तथा निजी घर र आवासमा भएको वृद्धि र शहरीकरणको घटनाक्रमको व्याख्या गरिएको छ।
पहिला छुट्टै गाउँ विकास समिति भएकोमा संघीय प्रणाली लागू भएपछि अहिले तारकेश्वर नगरपालिकामा परेको फुटुङको स्थानीयविकास, कला संस्कृति र शैक्षिक-सामाजिक क्षेत्रमा योगदान गरेका व्यक्तिहरूको परिचय र कथालाई पुस्तकमा उतारिएको छ।
भौतिक पूर्वाधारमा अघि बढेपनि समग्र विकासका लागि गर्नुपर्ने १७ वटा कामको सूची राखेर पुस्तकलाई सामाजिक विकासको दृष्टिले महत्व दिन खोजिएको छ।
स्थानीय चुनावको सन्दर्भमा आएको यस्तो सूचीले दलहरूलाई आफ्नो विकासको एजेण्डा बनाउनमा सहयोगीहुने विश्वास लेखक श्रीराम फुटुङ्गेको छ।
पुस्तक विमोचन गर्दै इतिहासकार एवम् लेखक प्रा. डा राजेश गौतमले यथेष्ठ विषय पस्केकाले फुटुङ्गको इतिहास र परिवर्तनका विभिन्न पक्षलाई सरल भाषामा चित्रण गरिएको बताए।
विकास अर्थशास्त्री प्रा.डा केशवराज खड्काले पुस्तकले स्थानीय संस्कृति र विकासको पाटो सरल तवरमा प्रस्तुत गरेको जानकारी दिए। उनले विकास र संस्कृतिलाई परिपूरकको रुपमा लिएर अघि बढ्न प्रेरित गर्ने बताए।
यस पुस्तकले स्थानीय विशिष्ट गन्थ्रको रुपमा आएको र अन्य समुदायलाई पनि यस प्रकारको पुस्तक प्रकाशन गर्न उत्प्रेरित गर्ने उनको भनाइ छ।
पुस्तक विमोचन कार्यक्रममा साहित्यकार लबगाउँले र डा.घनश्याम पुडासैनी, उद्यमी हरिकृष्ण रावल, संस्कृतिकर्मी भक्तीनारायण महर्जन, तारकेश्वर नगरपालिकाका प्रशासनिक प्रमुख शिवलम्साल लगायतले पुस्तकबारे चर्चा गरेका थिए।
विमोचनकार्यक्रममा फुटुङ्ग एवम् तारकेश्वरका बौद्धिक वर्ग लगायत, साहित्यकार लेखक, विकास पे्रमी तथा राजनैतिक दलका प्रतिनिधिहरूको उपस्थिति थियो।