‘बाटो छेउको एउटा ठूल्ढुङ्गामाथि मुर्दा बाकस (कफिन ) रहेको थियो। त्यो अतीव सुन्दर बाकस हेर्दा चन्दन वा चाँप काठको भन्नु जस्तो। बाहिर टलक्क टल्किने ऐना जस्तो चिल्लो, दुई तीन ठाउँमा समात्ने पित्तलका कुन्जीसँगको थियो। माथि त्यस्को छातीमा पारेर हिरा जवहरात जस्ता टल्किने अक्षरमा ‘रिप’ लेखेको कति सुन्दर जिनिस ...! ( नयाँ मुगलान पृष्ठ २३ )।‘
मुटु कुँडिने माथिका हरफहरू गोविन्दराज भट्टराईको नयाँ मुगलानबाट साभार गरेकी हुँ। आखिर के हो त नयाँ मुगलान?
अस्थिर राजनीतिक व्यवस्था, नैतिकता, इमानदारी र आदर्शविहीन प्रशासन, सामाजिक विकृति, बेथिति, विसङ्गतिले दुरूह हुँदै गएको समाज र संस्कृतिको साङ्गोपाङ्गो चित्र हो नयाँ मुगलान। अनिश्चितता, भय र भ्रान्तिले चौतर्फी रूपमा गाँज्दै लगेको विकराल समयको चक्रवात हो नयाँ मुगलान।
वैदेशिक रोजगारीले भित्र्याएको नवीन सामग्री हो कफिन। हिरा जडित बाकसबाट आज हामी सबै चिरपरिचित छौं। सुखको आशमा भौंतारिएका छौं। सुख बटुल्नका खातिर भएको एक मुठ्ठी माटो पनि बेचेर उडेका छौं अन्धकार जगतमा। घर छोडेपछि घरआँगनमा चितुवा, दुम्सी, बाँदर आउने अवस्था निर्माण भएको छ। थेग्न नसक्ने ऋण काढेर मुगलान भासिने संस्कृति बढ्दो छ।
यसरी मीठा मीठा सपना देख्ने नवपुस्ताहरू बाकसमा फर्किनुपर्ने अर्को विवशता पनि दिनानुदिन बढ्दो छ। लास ल्याएको बाकसमा अभिभावक निदाउने डरलाग्दो खेल छ। विवशताको डरलाग्दो भूमरी छ। निरीहताको कहालिलाग्दो अवस्था छ। उपन्यासकारले यहाँ बडो अर्थपूर्ण तरिकाले सुतार बालाई सुताएका छन् हिरा जडित बाकसभित्र। जिउँदो बाउ कफिन बाकसमा निदाउन खोज्नु कस्तो बिम्ब हो? मलाई लाग्छ परोक्ष रूपमा राज्य हाँक्नेहरू प्रतिको कटाक्ष हो सुतारबा सुत्ने त्यो मुर्दा बोक्ने हिराजडित बाकस।
पचास वर्षदेखि सुतार बाले मुगलानको भुक्तमान खेपेर आएका छन्। सुतार बा विवश छन् आज फेरि छोरालाई पनि मुगलान पठाउन। लास भएर आएको छोरा खरानी भइसकेपछि पनि छोरो आएको कफिनसँग मोहित हुन्छन् सुतार बा। फाल्न चाहँदैनन् छोराको लास बोकेर ल्याएको बाकस। पात्रको मनोभावमार्फत् उपन्यासकार अर्को झापड हान्छन् राष्ट्र हाँक्ने कथित नायकहरूलाई। नयाँ मुगलानमा आएका कथाहरूले हृदय बाँउडिन्छ। मुटु फुट्ला झैँ हुन्छ। आफ्नो देशको नाङ्गो रूप हेर्दा आँखा फुटाउन मन लाग्छ। आफैलाई चिथोर्ने इच्छा जागृत हुन्छ।
पाँचथर जिल्लाको च्याङ्पुको भूगोलबाट उपन्यास आरम्भ भएको छ। त्यही च्याउँदैबाट पचास वर्षअघि सुतार र ठूले डाँडा पारि गएर दार्जलिङ हुँदै बेचिँदै, खिइँदै भुटान पुगेका थिए। आज समय फेरिएको छ आज ठूले, कान्छा मात्र होइन कान्छीहरू पनि मुगलान भाँसिन, बेचिन विवश छन्। आजका कोपिला कहाँ कहाँ चुडिँदै, कुल्चिँदै मुगलान पस्न अभीशप्त छन्। पचास वर्ष अघि काम गर्दागर्दै भुटानमा मृत्युवरण गरेको ठूलेको डरलाग्दो अवस्था आज झन् उग्र हुँदैछ। कतार, दुबई र युक्रेनमा आजका होनाहार पठीत युवाहरू मृत्युवरण गर्दै छन्। पूर्वी नेपालको सेरोफेरोमा बुनिएको कथानकमा हराउन थालेपछि स्पष्ट हुन्छ यो त समग्र नेपालको कथा हो।
विभिन्न पात्रहरूको विभिन्न मनोविज्ञान, भाव, विचार र संस्कारहरूबाट नयाँ मुगलान अगाडि बढेको छ। उपन्यासको मुख्य पात्रको नाम हो कोपिला। कोपिलाको जीवन संघर्ष नयाँ मुगलानको डरलाग्दो आवाज हो। कोपिला वर्तमान समयको आक्रोश हो। मलाई त यस्तो पनि लाग्यो सुतार बा प्रतीक हुन् हाम्रा नेताहरू? हाम्रा नेताहरूले पनि त राजनीतिको मुगलान खिपेकै हुन्। राणा शासनदेखि पञ्चायत व्यवस्थालाई फाल्न कति भुक्तमान खेपे। प्रजातन्त्रको सुन्दर सपना देख्दै आएका नेताहरूले पनि त एक किसिमको मुगलान भोगेरै आएका हुन् तर आज विवश होइनन्, योजनाबद्ध छन् कफिनमा सुत्न। सुतार बा त विभ्रान्त चित्तको प्रलापमा छन्। तर देशका सुतार बाहरू अभिनय गर्दैछन् विभ्रान्त चित्तको प्रलापमा। बेलाबेला सुतार बा झैँ यी पनि त बर्बराउँछन् आफ्नो मुगलाने जीवनको पीडामा ‘हामीले कत्रो संघर्षले लोकतन्त्र ल्यायौँ। कति भुक्तमान खेप्यौँ। जीवनको लामो समय जेल नेल खायौँ। त्यसै आएको हो यो लोकतन्त्र ... ।’ भन्दै तर नेपालीहरूको अवस्था कहाँ छ हेर्न सक्दैनन् यी हिरा जडित कफिनमा सुत्न पल्किएका विवेकहीन बाहरू।
उपन्यासकारले सुतार बालाई छोराको कफिनमै विभ्रान्त अवस्थामा चितुबाले चिथोरेको बडो वीभत्स दृश्य देखाएका छन्। कफिनमा निदाएको सत्तालाई कतै कुनै दिन आफ्नै घर नजिकको जङ्गलबाट चितुवाले चिथोरेर समाप्त पार्ने संकेत होइन यो? निकैबेर अडिएँ यहाँ।
नयाँ मुगलानले धैरै विषयलाई समेटेको छ। सिङ्गो देश यहाँ अटाएको छ। समाज, सम्बन्ध, राजनीति, अर्थशास्त्र, रोजगारी, संस्कृति, मनोभाव, मनोविज्ञानदेखि हरेक क्षेत्रलाई उपन्यासकारले निकै कलात्मक ढङ्गले उठाएका छन्। समेटेका छन्। केही छुटेको छैन।
गाउँबाट युवायुवती उडेपछि खाली छन् गाउँघर। आँगनमा कुखुरा, कुकुर, पाठपाठी छुनुमुनु गर्दै नाच्नु पर्ने थलामा नयाँ पुस्ता आगो झोस्न विवश छ। कस्तो समय आएको हो आफ्नै घर खरानी बनाएर जुनसुकै मूल्यमा पनि देश छोडेर हिँड्ने। यस्तो अवस्था सिर्जना हुनुको मुख्य कारण यस्तो छ भनेर उपन्यासकार व्यक्त गर्छन् यसरी, ‘सबैभन्दा भयङ्कर दुःखको कुरा के छ भने भयङ्कर भ्रष्टहरू सत्ताको सिंहासन नछोडी बसेका छन्। देशमा न्याय छैन, यो तस्करहरूको मुठीमा छ। एउटै भुटानी नागरिक काण्डका कारण संसारले नेपाललाई भ्रष्ट शासकहरूको देश भनेर चिनायो ... (पृष्ठ ९ ) फेरि भावुक हुँदै स्रष्टा लेख्छन्, ‘मानिससँगै हावा-पानी, रूख-पात, ढुङ्गा-माटो, इनाम-जमान सबै बेच्यो सरकारले, सर्वाधिक मानिस बेच्यो। हाम्रो एउटै अटल शक्ति भाषा पनि बेच्यो ... ।’ यहाँभन्दा पीडादायी अवस्था के हुन्छ एक संवेदनशील लेखकको हृदयमा। यति कठिन मनस्थितिमा पनि गोविन्दराज भट्टराई आफ्नो नयाँ कृतिबाट सबैलाई सचेत गराउने कोसिस गर्छन्।
साँच्चै देशमा बस्ने अवस्था भए कसले घरमा आगो झोस्छ? मस्तिष्कनेर आँखा भएकाहरू देख्न सक्दैनन् आफ्नो देशको वास्तविक मुहार। भनिन्छ नि विश्वको मुहार हेर्न यी दुई आँखा पर्याप्त छन् तर यी शक्तिशाली लोचनले आफ्नै अनुहार देख्न सक्दैन त्यसैले उपन्यासकारले नयाँ मुगलान रूपी ऐना लिएर आएका छन्। यहाँको सत्ताको आँखाले कहिले नअघाउने भुँडीभन्दा अन्त देख्नै सक्दैन। यो अर्को छापड हो लोकतन्त्रका हिमायतीहरूलाई।
उपन्यासकार बडो शालीन तवरले पुरानो पुस्ता र नयाँ पुस्ताबीचको अवस्था, आदर्श, संस्कार, मूल्यमान्यता, धैर्य, तपस्या, आँट, साहस, परिस्थितिका साथै हिजोआजको नैतिक धरातल नाप्छन्।
घरमा आगो झोसेर हिँडेकी कोपिलालाई खुला आकाशमा पनि ओडारभित्र गुम्सिएको महसुस हुन्छ। र भन्छे ‘...हेर म कति एक्ली भएकी छु। अघि फिदिम क्याम्पसमा सयौँ साथी सँगै हाँसखेल गर्यौँ। नाच्यौँ, गायौँ हिजोआज मलाई कुनै ओडारभित्र छु जस्तो लाग्छ। जीवनले यति अँध्यारो पाटाले ढुकिरहेको होला लागेको थिएन। कैले ता यही इन्द्रावतीलाई यो प्राण बुझाऊँ कि जस्तो लाग्न थालेको छ साथी ... (पृष्ठ ७२ )। हिजो ६०- ७० वर्ष अगाडि सिम्ले भन्ने बेँसीको सिरानमा विशाल ओडारभित्र एउटी आमा आफ्ना ससाना नानीहरूलाई लिएर वर्ष दिनसम्म बसेकी थिइन् रे भनेर पात्रहरूमार्फत् हिजो र आजको परिवर्तित समय र मानवीय संवेदनामा आएको ह्रासलाई देखाउँछन्।
मुगलान नेपालीहरूका लागि नौलो विषय होइन। हाम्रो पुर्खा मुगलान हिँड्न बाध्य थिए। दाल, भात र डुकुका लागि मुगलान भासिने जाति नै हौँ हामी। कोपिला आफ्ना पति मुगलानबाट लास भएर आएपछि ससुरालाई सोध्छे, ‘खासमा यो मुगलान भनेको के हो बुवा?’
बा बडो विवश भएर बोल्छन्, ‘छँदा छँदैको ठाउँमा बस्ता बस्तै मनमा त्यो छोडेर काँ जौँ, काँ जौँ भन्ने चौ-चौ हुन्छ। अनि घर छोडेर मन अनकण्टारतिर लाग्छ। त्यसरी नचिनेको, नजानेको, नदेखेको ठाउँ नै मुगलान भो। त्यहाँ बस्दा हुँदी छोडेको ठाउँतिर फर्कौँ- फर्कौँ लाग्छ, त्यहाँ मलाई भुले कि, बिर्से कि जस्तो हुन्छ। बल्लबल्ल आफ्नो घर फर्कियो फेरि मुगलान जौँ-जौँ हुन्छ। यसरी दोधारे मनको खेल मुगलान हो। मानिसहरू नयाँ नयाँ मुगलान खोज्दै हिँड्ने गर्छन्। ठूलो मुगलान त सोर्गे जाने रहर हो। त्यहाँ पुगेसी फिर्नु पर्दैन भन्छन्। आफू गैया छैन, खै के हुन्छ ... ( पृष्ठ ५८ ) ।
अहो! यी वाक्यहरू पढ्दै गर्दा मुगलान नबुझी हाम्फाल्ने मुगलानेहरूको निर्दोष अनुहार देख्छु। खाडी, इसरायल, कतार हिँडेका युवायुवतीहरू मुगलानको सहज सपना बुनेर उड्दै छन्। आखिर मुगलानमा पक्कै अनुकूल वातावरण छैन भन्ने ज्ञान सबैलाई छ तर पनि भासिन बाध्य छन् मुगलान।
निकैबेर गमिन्छु आज मुगलान विवशताभन्दा बढी आवश्यकता र रहर हुँदै गएको छ। हिजो पनि मदन सुनको बाला किन्न गएकै हुन्। सुतार कान्छा पो नुन खेप्न जाँदा मुगलानको स्वाद चाख्न भौँतारिए तर पनि फिरेर आए घर। बडो भाग्यमानी थिए सुतार बा।
म निकै संवेदशील भएँ नयाँ मुगलान पढेर। २०३२ सालमा मुगलान लेखिसकेका स्रष्टाले ५० वर्षपछि फेरि किन लेख्न विवश हुनुपर्यो नयाँ मुगलान? उपन्यासकार पनि मर्माहत भएरै लेखेका छन्। नयाँ मुगलान साहित्यभन्दा पनि क्रूर समयको क्रन्दन हो। भत्किँदै गएको विकराल सम्बन्धहरूको पहिरो हो।
उपन्यासमा स्रष्टाले घटना, विचार, परिवेश र पात्रहरूमार्फत् मानवताको संहार हुँदै गएको देखाएका छन्। सन्तान रातो कफिनमा घर आउँदा रगतमा मुछिएको रातो पैसा पनि आउँछ। मृत्युको रकममा पनि परिवारले बुनेको योजनाको शृङ्खला पढ्दा चिच्याउन मन लाग्छ। सम्बन्ध कति स्वार्थपूर्ण हुँदैछ। मान्छे किन लालची हुँदैछ?
अशेष उपन्यासको अर्को महत्त्वपूर्ण पात्र हो। ऊ अमेरिका उड्नका खातिर आफ्नै मामाको विश्वासमा भुटानी शरणार्थीको कागज मिलाउन जान्छ। भ्रष्ट प्रशासन र व्यवस्थाको दलदल भयानक देखिन्छ नयाँ मुगलानमा।
उपन्यासकार अमेरिका उड्ने चानसको खोजीमा लेख्छन्, ‘... एता पथरी क्याम्पस अथवा बेल्डाँगी भुटानी शिविरमा कनेक्शन गर्नु, त्यतै दर्ता गर्नु भोटाङमा बसेर गाउँठाउँ सबै चढाउनु, निस्केको खेदिएको यता शरणार्थी शिविरमा पसेको भत्ता खाएको बनाउनुपर्छ। त्यति मात्र होइन शिविरको छाप्रो नं. तोकेर माथि सिडिओ कार्यालयमा दर्ता देखाउनु ... इत्यादि गर्दा धैरै प्रोसेस छ। माथि प्रधानमन्त्रीसम्म पुर्याउनुपर्छ ... (पृष्ठ ८० ) ।‘ टाउको फुट्ला झैँ हुन्छ समाजभित्रका सजीव पात्रहरूको व्यवहार सम्झेँ। कति अभीशप्त जीवन बाँच्न विवश छन् नेपालीहरू। यहाँ राष्ट्रपिताहरू नै चाहन्छन् जसरी भए पनि, जे गरेर भए पनि देशबाट युवाहरू बाहिरिऊन्। युवाहरू पनि विवश भएर भन्न पुग्छन् ‘कुनै हालतमा पनि म यो देशमा बस्दिनँ।’
यो कस्तो पीडादायी काल। कसले निर्माण गर्यो यो विकराल अवस्था? दुबै मुगलान पढेपछि मेरो मथिङ्गल तरङ्गित भएको छ। ५० वर्ष अगाडिको मुगलानभन्दा अझ भय आक्रान्त पार्ने अवस्था छ नयाँ मुगलानमा। हिजो बरू नुन बेसाउन अथवा दशैँ मनाउन जान्थे मुगलान। भलै हिराजडित बाकस थिएन त्यो मुगलानमा। बाटो खन्दाखन्दै मृत्युवरण गरेका ठूले ढाडिन्थे नालीमा। हिजो समेट्न सक्ने त्यो सानो मुगलान आज फिँजारिएर समेट्न नसक्ने भएको छ। आज हिरा जडित कफिनमा लास सकुशल आकाश मार्गबाट मगमगाउँदै सजिलै आएका छन्, के यही हो त मुगलानमा आएको समृद्धि? बुझ्न सक्दिनँ।
भत्किएको संस्कार र संस्कृतिले बिथोल्छ मलाई। हामी सबै जराविहीन हुँदैछौँ। दाउरा कुहाएर समृद्धिको फुइँ हाँक्न जङ्गलमा नै ग्याँस बाल्छौँ। यो अर्को दनक हो उपन्यासकारको। घर नजिकै प्रशस्त घाँस हुँदा पनि गाईभैँसी नपालेर धूलो दूध किनेर ल्याउँछौँ। घरमा ताल्चा मारेर सहर पस्छौँ। खेतबारी बाँझै छोडेर समृद्धिको श्रीपेच भिर्दै प्लाष्टिकको झोलामा चामल बेसाउछौँ। एउटा बिहेका लागि चार पाँचवटा सारी किनेर घरमा तनाव निम्त्याउँदै सभ्य हुन खोज्छौँ। बिहेमा अनावश्यक खर्च गरेर समाजमा प्रतिष्ठा कमाउन चाहन्छौँ। देखाउने संस्कृतिले समाजलाई कसरी न्याकेको छ नयाँ मुगलानमा छर्लङ्ग देखाएका छन्।
संस्कृति, चाडपर्वमा भित्रिएको नौलो संस्कारलाई उपन्यासकारले बडो सान्दर्भिक र कलापूर्ण तरिकाले उठाएका छन्। नेताहरू युद्धमा पनि नेपालीहरूलाई बिक्रीमा राख्छन्। युक्रेन र रूसको युद्धमा आफ्ना नागरिकहरूलाई कसरी वस्तु सरह बेचेका छन्। नयाँ मुगलान पढ्दै जाँदा हृदय हल्लाउँछ। कति अन्योलग्रस्त छ समय। कति अनिश्चित छ वर्तमान अनि भविष्य। कति असुरक्षित छौँ हामी। केही पनि सुनिश्चित छैन यहाँ। यहाँ जे पनि हुनसक्छ। सत्ताको घिनलाग्दो खेल कसरी बुझ्नु। यो यथार्थ बोध भएपछि म निकैबेर घोत्लिएँ।
५० वर्षपछि यो किसिमले नयाँ मुगलान लेखिएकोमा म हर्षित हौँ कि विलाप गर्यौ ... ? शुभकामना दिऊँ कि संवेदना? केही मेलो पाउन सकिनँ। अनि प्रश्नहरूको भूमरीमा रूमलिएकी छु। इतिहास किन पढ्ने? क्लासिक साहित्यबाट के सिक्ने? किन लेख्ने समय? नयाँ मुगलान पढ्दै जाँदा बारम्बार मन हतासिन्छ। इतिहास र साहित्य सत्ता हाँक्नेले किन नबुझेको? किन नपढेको? किन केही नसिकेको? किन केही कुरा अवलम्बन नगरेको? उदेक लाग्छ।
परबाट देखेको देशको अनुहार सफा नै लाग्थ्यो तर नयाँ मुगलान रूपी म्याग्निफाइन ग्लासबाट देश, समाज र सम्बन्धलाई हेर्दा बौलाउने अवस्था रहेछ। विकलताको भयले म निस्सासिएकी छु। देशको वास्तविक अवस्था देखेर डराएकी छु।
घरमा आगो सल्काएर हिँड्ने अवस्था सिर्जना हुनु भनेको सानो सङ्केत होइन। प्रमुख पात्र कोपिलाले घरमा बस्ने वातावरण नभएपछि झोसेकी हो आगो। यो बिम्व भट्टराई सरले उपन्यासलाई रोचक बनाउनलाई मात्र लेखेका पक्कै छैनन्। आम नेपालीको हृदयमा उठ्दै गएको विक्षिप्तताको कालो आँधी हो। आक्रोश हो। विरोध हो। देशलाई समृद्ध पार्छौं भनेर कुर्लिएका नालायकहरूको मुखमा दह्रो झापड हो। कोपिलाको विद्रोह सबै युवाहरूको आवाज हो। विद्रोहको मसाल बोकेर हिँडेका युवाहरू साँच्चै विभ्रान्त छन् त? मनमा प्रश्नहरूको पहाड खडा भएको छ।
बाबुराम आचार्यले अब यस्तो कहिले नहोस् भनेर इतिहासमा घटेका कालो दिनहरूलाई अक्षरमा सुरक्षित गरे। के बाबुराम आचार्यले इतिहासमा घटेका घटनाहरू पढ्नका लागि मात्र त्यो पुस्तक लेखेका हुन् त? कि ती घटनाहरूबाट नयाँ पुस्ताले केही सिकोस् भन्ने वाञ्छा थिए नर? इतिहासमा घटेका नराम्रा घटनाहरू पुनः नदोहोरियोस् भनेर लेखेका पनि त थिए कि?
म सोच्छु, इतिहासबाट त हामीले ठूलो पाठ पो सिक्नुपर्ने होइन र! इतिहासमा घटेका नराम्रा घटनाहरूबाट नयाँ पुस्ताले केही नसिक्ने भए किन पढ्नु इतिहास। इतिहास मनोरञ्जनका लागि पक्कै पढिँदैन। इतिहास किताबमा सजाएर सीमित राख्ने मात्र हो भने त केही छैन। विगतमा नघट्नु पर्ने घटनाहरू घटेका छन् अनि उनै घटनाहरू किन दोहोरिन्छन् ... ? कस्तो विडम्बना।
रित्तो छ गाउँ। खोक्रो छ सहर। उजाड छ घर। भत्किँदो छ सम्बन्ध। अस्तव्यस्त छ रीतिरिवाज, परम्परा र संस्कृति। बाकसमा आएका आफ्नै साथीहरूको लास देख्दादेख्दै पनि सपना साकार पार्न विवशताले मुख छोपेर उड्दै छन् हाम्रा कलिला युवाहरू। देश छोडेर उड्दै गरेका युवाहरूको भीड देखेर सत्ता आनन्दको खित्का छोडेर हाँस्दो छ। रेमिट्यान्सको तापमा प्रसन्न छ अर्थतन्त्र। देखिन्छन् हवाईअड्डामा बिछोडका विलाप। मलामी नपाएर यता आफन्तको लास बेवारिसे छ। सन्तान फर्किने आशमा चिहानघारी कुरेर बसेका छन् अभिभावकहरू। अनिश्चित भविष्यको डरलाग्दो दृश्य छ जतात्यतै।
हृदयमा देश बोकेर विश्वभरि छरिएका छन् ऊर्जावान नेपालीहरू। देशका कर्णधारहरूको मुखबाट सुन्नुपर्छ ‘देशमा बस्ने वातावरण नै छैन। काम गरेर खाने अवस्था छैन। पढ्ने राम्रो व्यवस्था छैन। पढेर पनि कामको सुनिश्चितता छैन। केही सुविधा छैन। कुनै वातावरण नै छैन यहाँ काम गरेर खाने। यहाँ बस्न कि त नेताको झोले हुनुपर्यो, कि त डन, माफिया या भ्रष्ट। यहाँ इमानदार व्यक्ति कुनै हालतमा बस्न सक्दैनन्। बस्न दिँदैनन् पनि। सन्तानको चिन्ता छ बाआमालाई। आफ्ना सन्तानलाई तार्नुछ। सन्तानको भविष्य सुनिश्चित गर्नुछ। जसरी भए पनि उड्नु छ देश बाहिरै ... । कति दुरूह छ मेरो देशको अवस्था।
अन्त्यमा नयाँ मुगलान के हो त!
सत्ता परिवर्तन भएको लामो समय भइसक्यो। देखिने गरी त कतै छैन कुशासन। गणतन्त्र जवान हुँदैछ तर पनि दिनदिनै खस्कँदो छ नेपालीहरूको अवस्था। देश छोडेर हिँडेका कामदार मात्र हैन पढ्न गएका होनाहार युवाहरू पनि देशको वास्तविक अवस्था बुझ्दैछन् देश छोडेर हिँडेपछि। गणतान्त्रिक मुलुकका संवाहकहरूको नालायकीपनबाट सिर्जना भएको देशको वर्तमान अवस्थाको खुला किताब हो नयाँ मुगलान। सत्तास्वार्थ, भ्रष्ट आचरण, लोभलालच र विवेकको हत्या गरेर मानवता नष्ट भएको कहालिलाग्दो अवस्थाको क्यानभास हो नयाँ मुगलान।
रक्षकहरू नै मानव तस्करको रूपमा उभिएर रावणराज्यको शङ्खघोष गर्दैछन्। उर्वर भूमिमा आगो झोसेर अज्ञात वासतिरको दौड छ। ओडार हुँदै गएको गाउँ, सद्भाव मर्दै गरेको सम्बन्ध र प्राप्तिको लागि लम्किएका सीमाहीन पाइतालाको सामूहिक आवाज छ। रेमिट्यान्सको मुर्दाबाकसमा समृद्धिको दिवासपना देख्ने नालायक सरकारहरूको विद्रूप अनुहार छ। इमानदारी, जिम्मेवारी र सम्झदारीलाई निमोठेर कृष्णविवरको (ब्ल्याकहोल) अत्यहीन मार्गमा छट्पटाएको सुशानको रोदन छ। नेपालीहरूको विवशताको अत्यासलाग्दो समय सङ्केतको साविती बयान छ। अतीतदेखि वर्तमानसम्म नेपालीहरूलाई मुगलान भासिन बाध्य पार्ने राज्यसत्ताको घिनलाग्दो मुहार छ। कहिले नटुङ्गिने नेपालीहरूको हृदयविदारक कथा र व्यथाको अविश्रान्त यात्रा छ ‘नयाँ मुगलान’मा।