नसीरुद्दीन शाह अभिनय र विवाद दुवैका लागि चर्चित नाम हो। उनी संवेदनशील मुद्दाहरूमा चुपचाप बस्न रुचाउने बलिउडका धेरै कम कलाकारमध्ये पर्छन् जो मनमा लागेको कुरा बोल्छन्। आफ्नो बोली र मुस्लिम पहिचान भएको कारण उनले पटकपटक सामाजिक सञ्जालमा देशद्रोहीको आरोप खेप्नु परेको छ।
भर्खरै पनि भारतको बुलन्दसहरमा गाई मारिएको विरोधमा भएको आन्दोलनले एक प्रहरी अधिकृतको हत्या गरेपछि उनी बोले। स्वभाविकै हो त्यसले विवादमा तान्यो। जसमा विष घुलिसकेको समाजमा आफू छोराछोरीको लागि चिन्तित रहेको भनेका थिए।
यो अन्तर्वार्तामा उनी आफ्नो अभिव्यक्तिको बचाउ गर्दैनन्। बरु के-के गलत बुझियो त्यसलाई केलाउँछन्। सँगै बढ्दो अन्धदेशभक्तिले कसरी भारतीय समाजलाई कमजोर बनाउँदै छ र आलोचित हुने डरले सत्य बोल्न डराउनेहरूको भिडमा आफू किन बोलिरहेका छन् भन्ने बारे पनि स्पष्ट पारेका छन्। इन्डिया टिभीसँग दिएको भिडियो अन्तर्वार्ताको सुरज सुवेदीले नेपालीमा अनुवाद गरेका हुन्।
बोलेको एक हप्ता भइसक्दा आफ्नो प्रतिक्रियाले ल्याएका धुव्रिकृत विचार देखेपछि पछुतो त भएको छैन? कि आफूलाई गलत बुझियो जस्तो लागेको छ?
जे भनेँ मलाई त्यसमा कुनै पछुतो छैन। पछाडि फर्किएर सुधार्न पनि खोज्दिनँ। मलाई गलत बुझियो भन्ने दाबी पनि गर्नु छैन। जो मलाई पछि तान्न खोजिरहेका थिए, उनीहरूलाई बरु गलत बुझिएको छ। मैले जे भनेको हुँ त्यसलाई सही तरिकाले सम्प्रेशित गरियो। तर नबोलेका अरू केही कुरा छन्, जसलाई मैले भनेको आरोप लगाइएको छ। म त्यसको बारेमा बोल्न चाहन्छु।
‘म मेरा छोराछोरीको लागि चिन्तित छु। उनीहरूसँग कुनै धर्म छैन। भोलि भिडले रोकेर हिन्दु हो कि मुस्लिम सोध्दा जवाफ हुने छैन। समाजमा विष पहिला नै भरिसकिएको छ।’ भनेर नसीरुद्दीन शाहले अल्पसंख्यक समुदायमा डर र असुरक्षा फैलायो भन्ने आरोप लागिरहेको छ नि?
जो आरोप लगाइरहेछन् ती मैले एक मुस्लिम भएर यो देशमा डराएको र असुरक्षित भएको छु भनोस् भन्ने चाहन्छन्। मैले त्यसो भनेको छैन र भन्नेवाला पनि छैन। उनीहरू मेरो डरको महशुस अभिव्यक्त होस् भन्छन्। त्यसलाई फैलाउन उद्दत छन्। जुन हुनेवाला छैन।
फेरि दोहोर्याउँछु, म डराएको हैन तर रिसाएको छु। हरेक सही मानिस रिसाउने अवस्था हो यो। मलाई पाकिस्तान पठाउनुपर्छ भन्नेले यो पनि भनिदिऊन् कि मैले कहिले र कसरी समाजमा घृणा फैलाएँ? धोका कसरी दिएँ? कसरी विभाजन ल्याएँ? जबकि मैले पाकिस्तान भन्ने शब्द उच्चारण गरेको छैन। एक मुस्लिम भएर यो देशमा असुरक्षित छु भनेको छैन। मेरो केटाकेटीको बारेमा बोलेको हुँ। तर संकेत उनीहरूमा मात्र सीमित थिएन। उनीहरूलाई म यो देशको भविष्यको एक हिस्सा भनिरहेको थिएँ।
त्यो रिस केले उठायो? कानुन हातमा लिनेहरू बलियो हुँदै गएको र एक गाईको मृत्यु एक पुलिस अफिसरको मृत्युभन्दा ठूलो भएको अभिव्यक्ति दिनुभएको थियो नि। त्यसमा के भन्न चाहनुहुन्छ?
मलाई थाहा छैन केले यस्तो विस्फोट गरायो। हुनसक्छ यो पहिल्यै तयार थियो र जो बोल्छ ऊतिरै फ्याँकियो। यस्तो भइरहेको छ। भिडले मानिस मारिरहेको छ। कानुन हातमा लिनेहरू बढ्दै छन्। यस्तो कुराले मलाई रिस उठाइरहेको छ। र, तीतो सत्य, यस्तो अवस्था र दूराचार विस्तारै समाजको मूल्य र मान्यता बन्न खोज्दै छ। देशभक्ति र देशप्रेमका कुरा गर्ने बाहेक अरू सबैलाई समाजले निषेध गर्न थालेको छ। देशद्रोही बनाइन सजिलो भएको छ। यो बुझ्नै नसकिने कुरा हो।
पहिला राम्रो थियो वा आउने दिनमा हुनेछ भन्दिनँ। तर पछिल्ला वर्षमा क्रमिक अवस्था खराब बन्दै गएको छ। जे भइरहेको छ यो सारा विश्वसामू छर्लंग छ। तर त्यसलाई देखेर म बोल्नासाथ देशको छवि बिगारेको आरोप यत्रतत्र फैलिएका छन्। मलाई अजिव लागिरहन्छ।
आलोचकहरू भन्छन्, नसीरुद्दीन शाह कास्मिरमा पण्डित निकालिएको, पुलिस अफिसरलाई लक्षित गरी आक्रमण गरिएको वा इसाई अतिवादीहरूबाट सिर्जित डरको बारेमा कहिल्यै बोल्दैन। जब बुलन्दसहरमा गाई मारिएको विरोधमा प्रदर्शन हुन्छ र प्रदर्शनकारीले एक प्रहरी अधिकृतलाई गोली हान्छन्, तब बोलिहाल्छ।
हरेक घटना र विषयमाथि बोल्ने मेरो काम हैन। किनकि म राजनीतिक अभियन्ता हैन। तर यसको मतलब त्यस्ता घटनाबारे महशुस गर्दिनँ भन्ने हुँदैन। केही समय यस्तो आउँछ जतिबेला नबोली बस्न म सक्दिनँ। मैले बुलन्दसहरमा भएको घटनाको बारेमा मात्र केन्द्रित भएर बोलेको हैन। यो त पछिल्ला सात दशकमा भएका अरू धेरै अन्याय पनि त्यो अभिव्यक्तिमा मिसिएका छन्। ती सबै रिस थुप्रिएपछिको आवाज थियो त्यो।
के तपाईंले अल्पसंख्यकप्रति भएको अन्याय र अत्याचारको कुरा भन्नुभएको हो? त्यो अवस्था पहिलाको र अहिलेको राज्य व्यवस्थाभन्दा कुनै फरक छैन भन्नुभएको हो कि २०१४ पछिको मोदी युगलाई संकेत गर्न खोज्नुभएको?
मलाई यही आरोप लगाइएको छ र मैले यही कुरा मैले बोलेको हैन। मैले भन्ने गरेको छु कि हामी मुस्लिम सिध्याइँछौ भन्ने डरबाट माथि उठ्नुपर्छ। यो देश हाम्रो पनि हो। त्यसैले मैले अल्पसंख्यकलाई संकेत गरेर त्यस्तो भनेँ भन्ने कुरा आधारहीन छ। यो एक घटनालाई देखेपछि आएको एक फरक धारणा थियो। र, यहाँ हरेक फरक धारणा वा विचारले संकटको सामना गर्नुपर्छ।
उसो भए तपाईंले ‘म छोराछोरीको लागि चिन्तित छु … विष घोलिसकिएको छ’ भनेर भन्नुभएको कुरालाई कसरी बुझ्ने त? यसले ‘समाज साम्प्रदायिक रूपमा धुव्रिकरण हुँदै गइरहेको छ’ भन्ने बुझाइलाई संकेत गर्दैन र?
यस्ता कुरा विगतमा नभएका भए, त्यस्तो आक्रामक भिडले नघेरेको भए, वा मलाई तिम्रो धर्म थाहा छ भनेर नधम्क्याएका भए, नांगै पारेर कसैको धार्मिक पहिचान नखोजिएको भए सायद कुरा अलग हुन्थ्यो। मैले विगतमा भएका कुरामा संकेत गरेको थिएँ तर भोलि पनि यस्तै हुन्छ भनेर भनेको थिइनँ। चिन्ता व्यक्त गरेको भनेको हुँ।
फेरि पनि प्रश्न उतै जान्छ। अहिले पनि इस्लामिक अतिवादीको समस्या बढ्दै छ। भर्खरै पनि आइएसको सदस्य भएको आशंकामा मानिसहरू पक्राउ परेको खबर आएको छ। इस्लाममाथि नै प्रश्न सोधिनु जरूरी छ भन्ने खाले धारणा बढ्दै छन्। नसीरुद्दीन शाह जस्तो व्यक्तिले इस्लामभित्र रहेका यस्ता अतिवादी खतराका बारेमा किन बोल्दैन?
इस्लामिक विश्वमा फैलिरहेको यो पागलपनको विपक्षमा म पनि छु। र, हामी मुस्लिमले आफूलाई विविध पक्षबाट नियालेर प्रश्न गर्नुपर्ने कुरा पनि सत्य हो। ध्यान दिनुपर्ने महत्त्वपूर्ण तत्त्व खोजिनुपर्छ। उनीहरूले विश्वभर नै इस्लामलाई बदनाम गराइरहेका छन्। तर मैले सबै कुरामा आफ्नो विचार वा प्रतिक्रिया दिइराख्नु जरूरी छैन। कुनै घटनाले बोल्ने बनाउनु अलग कुरा हो।
तपाईंलाई अजमेहर लिटरेचर फेस्टिभल दौरान देशद्रोही भनियो। बोल्न पनि दिइएन।
हो। यहाँ एक यस्तो समूह छ जो प्रतिक्रिया दिइहाल्छ र त्यसैलाई अझै उत्तेजित तथा उत्साहित गराउने र सहयोग गर्ने काम पनि भइरहेका छन्। म भन्छु, यदि कतै असहमतिको आवाज छ भने त्यसलाई सुन। असहमत हुन सकिन्छ तर कम्तीमा छलफल गर। उनीहरूले यही कुरा मानेनन्। यदि मैले मेरो परिवार वा छोराछोरीको आलोचना गरेँ भने त्यसको मतलब उनीहरूलाई घृणा गर्छु र मेरो जिन्दगीबाट हटाउँछु भन्ने हुँदैन। कसैले तब मात्र आलोचना गर्छ जब ख्याल गर्छ। यही कुरा यी मानिसहरू बुझिरहेका छैनन्। काल्पनिक र मनगढन्ते आरोप बोकेर बाँचिरहेका छन्। मलाई उनीहरूप्रति हाँसो लागिरहेको छ।
तपाईंकै बलिउड सहकर्मी अनुपम खेरले महशुस भएर बोल्नुको मतलब सत्य नै बोलेको हुँदैन भन्दै प्रतिक्रिया दिए नि। अझ इन्डियन आर्मीको आलोचना गर्नेसम्मको स्वतन्त्रता देशमा भयो समेत भने।
सत्य जहिल्यै पनि सापेक्ष हुन्छ। उनले आर्मीका बारेमा बोलेको कुरा एकदमै केटाकेटी तर्क भयो। मलाई त्यसमा प्रतिक्रिया दिनुपर्छ भन्ने लाग्दैन। उनको अभिव्यक्ति मैले बोलेको कुरामा सम्बन्धित पनि छैन। मेरो दाजुले आर्मीमा सेवा गर्नुभएको थियो। इन्डियन आर्मीले जे उपलब्धि हासिल गरेको छ त्यसमा मेरो ठूलो श्रद्धा छ।
नसीरुद्दीन शाह हुने खाने परिवारबाट आएको र उसलाई भारतीय सिनेमाले पनि धेरै थोक दिएकाले मुस्लिमहरू यो देशमा भेदभावमा परेका छन् भन्नलाई ऊ उपयुक्त मानिस हैन भन्ने खाले बुझाइ आलोचकहरूमा देखिन्छ। त्यसैले दुई पक्षबीच पुल बन्नुको साटो फाटो ल्याउनमा अग्रसर भएको आरोप आउँछ नि तपाईंलाई।
यो अनौठो कुरा छ। उनीहरू त्यही गर्छन् जुन अरूलाई गरेको आरोप लगाउँछन्। खाडल त उनीहरू खनिरहेका छन्। घृणा फैलाइरहेका छन्। हिंसा छरिरहेका छन्। नसीरुद्दीन शाह को हो? ऊ यो देशको एक नागरिक हो। ऊ त्यो मान्छे हो जसले आफ्नो जिन्दगी यो देशमा बिताएको छ। उसका पाँच पुस्ता यही भूमिमा गाडिएका छन्। उसको परिवारले यहाँ सेवा गरेको छ। उसले मुस्लिम भएको आधारमा भेदभाव महशुस गरेको छैन।
राजनीतिक अभियन्ता हैन एक नागरिकको रूपमा बोलेको भन्नुभयो। पार्टीको रङमा पोतिएर नागरिक समाज नै स्वयं विभाजित भएको अवस्थामा आफूले गरेको वा दिएको प्रतिक्रियाले राजनीतिक रङ लिन्छ भन्ने अनुमान गर्नुभएको थियो कि थिएन?
म यसको बारेमा धेरै सोच्दिनँ। अहिले लाग्छ तयार हुनुपर्थ्यो। समाजमा दूरी बढ्दै छ भन्ने कुराको आकलन गर्न सक्छु। शान्ति र सुव्यवस्था माग्ने निर्दोष फेसबुकको पोस्टमा दुर्व्यवहार र धम्कीको कमेन्ट भरिन्छ। मनमा विभेद बोकेर बस्नेहरू बढ्दै छन्। एउटा विश्वासलाई अर्कोभन्दा ठूलो र उच्च देखाउने होडबाजी छ। मैले हिन्दु र मुस्लिम दुवैलाई संकेत गरिरहेको थिएँ। किनकि यो घृणा दुवै पक्षबाट आइरहेको छ।
उसो भए यी दुईबीच पुल चाहिँ कसरी बनाउने?
आफ्नो व्यक्तिगत जीवनमा उदाहरण बनाउनु आवश्यक छ। म संसार बदल्न सक्दिनँ। तर त्यसको एक हिस्सा भएर आफूलाई बदल्न सक्छु। म धर्मनिरपेक्ष र उदार मूल्यलाई आफूमा अभ्यास गर्न सक्छु। त्यसपछि परिवारमा फैलाउन सक्छु। तर देशको अवस्था यस्तो अनौठो छ कि यहाँ धर्मनिरपेक्ष हुनु भनेको आरोप सहनु हो। उदार हुनु अश्लील हुनु झैं भएको यस्तो अवस्थामा यी कुरा आफूमा लागू नगरी अरूले गर्लान् भनेर अपेक्षा गर्न सकिँदैन।
तपाईंको लागि धर्मनिरपेक्षता र उदारता के हो?
अरूको धारणा सुन्नु र फरक दृष्टिकोणको सम्मान गर्नु। विवेकपूर्ण तर्कको सुरूआत गर्नु। पछाडि फर्किने भन्दा पनि विभेद नगरी अगाडि बढ्ने सोच्नु। सबैलाई अटाउनु।
बलिउडलाई चाहिएको बेला नबोलेको आरोप लागिरहन्छ। ‘पद्मावत’ जस्तो फिल्म निशानामा पर्दा, फिल्म निर्देशक असुरक्षित हुँदा, पाकिस्तानी कलाकार छानिएका फिल्म आक्रमणमा पर्दा पनि हत्तपत्त कोही बोल्दैनन्। तपाईंको क्षेत्रका मानिसहरूले बोल्ने समय आएको हो? वा तपाईं जस्तो बोल्नासाथ समस्यामा परिहाल्ने अवस्था देखेर अझै डराएका छन्?
उनीहरूले बोल्न सक्थे तर समय धेरै बितिसकेको छ। हामी पाकिस्तानका कलाकारलाई निषेध गर्छौं तर फिल्मलाई पैसा कमाउन भनेर पाकिस्तान पठाउँछौं। कस्तो अनौठो विरोधाभास। यहाँ व्यक्ति र व्यक्तिबीचको सम्बन्ध निषेध भए पनि व्यापार व्यवसाय चलिरहेको छ। यदि पाकिस्तान शत्रु राष्ट्र हो भने हामीले व्यापार पनि गर्न हुँदैन। त्यता जाने बाटो नै बन्द गरिनुपर्छ। हैन भने यो दोहोरो चरित्र देखिनु हुँदैन। मलाई फिल्म उद्योग मेरो पक्षमा बोल्ला भन्ने अपेक्षा थिएन। सबैका आफ्नै प्राथमिकता छन्।
के त्यो मौनता तोड्ने बेला आएको हो त?
अब त केबल आफूलाई के मा विश्वास छ भन्ने कुरा निश्चित गर्ने बेला आएको छ। जसले विश्वास गरेका थिए उनीहरू धेरै पहिला नै बोल्नुपर्थ्यो।
मानिसहरू बाबरी मस्जिद भत्काइँदा वा ‘अवार्ड फिर्ता क्याम्पेन’ चलाइँदा तपाईं कहाँ हुनुहुन्थ्यो? किन बोल्नुभएन? भनेर प्रश्न गरिरहेका हुन्छन्। के भन्न चाहनुहुन्छ?
म सबैको सजिलो निशाना भएको छु। आरोप लगाउने सबैलाई सोध्न चाहन्छु यी सबै कुरा हुँदा तपाईंहरू चाहिँ कहाँ हुनुहुन्थ्यो? मलाई किन नबोलेको भनेर प्रश्न उठाइरहँदा तपाईंहरूको आवाज चाहिँ बोलेको किन सुनिएन?
अहिले कसको लागि बोल्नुभएको थियो साधारण मुस्लिम वा सभ्रान्त मुस्लिम।
म मुस्लिमको रूपमा बोलिरहेको थिइनँ। मेरो मुस्लिम पहिचान र संस्कृतिसँग छुट्टिन सक्दिनँ किनकि जन्मिँदै लिएर आएँ। तर मेरो जन्मजात मुस्लिम पहिचानलाई म कुनै फाइदा वा बेफाइदाको रूपमा प्रयोग गर्दिनँ। म तिनका लागि बोलिरहेको थिएँ जो मैले जस्तै महशुस गर्छन्। जो असहमति राख्ने हिम्मत गर्छन् र जसलाई यस्ता घटनाहरू हुँदा मलाईझै पीडा महशुस हुन्छ। त्यो पीडा एक भारतीय भएर आएको हो, मुस्लिम भएर हैन।
केही समय अगाडि तपाईंले भारतीय क्रिकेट कप्तान विराट कोहलीले अस्ट्रेलियामा देखाएको व्यवहारको पनि आलोचना गर्नुभएको थियो। उनीसँग राम्रो व्यवहार गर्ने संस्कार नदेखिएको बताउनुभएको थियो। उनका फ्यानले यदि भातीय ब्याट्सम्यान मनपर्दैन भने देश छोडेर गए हुन्छ भनेका थिए।
(हाँसो) म एक खेलाडीको रूपमा विराटको प्रशंसा गर्छु। तर उनले खेल दौरान मैदानमा देखाउने व्यवहार आलोचना लायक छ। उनी राम्रो उदाहरण प्रस्तुत गर्दैछैनन्। उनले ‘अष्ट्रेलियनहरूले गर्छन् भने हामी पनि गर्छौं’ भन्न सुहाउँदैन। र त्यसबारे बोल्दा जति मात्रामा मैले गाली फिर्ता पाएँ त्यसले त छक्कै परेको छु। यसले जुन प्रकारको अन्ध-राष्ट्रियतालाई संकेत गरिरहेको छ त्यो खतरापूर्ण छ। जो मलाई विराट कोहलीको पक्ष लिएर गाली गरिरहेका छन् भोलि टिम हार्दा खेलाडीको घरमा ढुंगा हान्ने पनि तिनै हुन्। यस्तो कुरा किन भइरहेको छ धेरै बुझ्दिनँ। तर राष्ट्रिय र अन्तर्राष्ट्रिय भनेर जुन वादविवाद अन्धराष्ट्रियताको बलमा भइरहेको छ यसले मलाई दु:ख लाग्छ।
मानिसहरू भन्छन् बोल्न र नबोल्न पनि समय चाहिन्छ। सानो टिप्पणी पनि गलत मनसायले भाइरल हुन सक्ने र विभाजन निम्तिन सक्ने यो अवस्थामा बोल्नु उचित हो त?
चेतनालाई अभिव्यक्त गर्न समय जहिल्यै पनि सही हुन्छ। आफूले विश्वास गरेको कुरा नडराई बोल्नुपर्छ। म कसैलाई उकास्न सक्दिनँ, कुनै विद्रोह जन्माउन सक्दिनँ, राजनीतिज्ञ बन्न पनि सक्दिनँ। तर यदि कुनै कुराले मलाई छोएर मन र मस्तिष्क हल्लाइदिन्छ भनेँ मैले बोल्नुपर्छ। यो मेरो जिम्मेवारी पनि हो र अधिकार पनि। मलाई लाग्छ सबैले यो कुरा सोच्नुपर्छ, गर्नुपर्छ। अरूले ट्रोल बनाउलान्, नराम्रो भन्लान् भन्ने डरबाट माथि उठ्नुपर्छ। यस्तो भइरहन्छ। सबैलाई खुसी बनाउन सकिन्न। यसको औषधि नै त्यसलाई बेवास्ता गर्नु हो।
आफूविरूद्ध खनिएका वा चुप बसेका सबैलाई के भन्न चाहनुहुन्छ?
के भनुँ? असहमतिका आवाजलाई सुन। कसैलाई देशद्रोही बनाउन हतार नगर। सबै जना देशद्रोही हुँदैनन्। र बुझ, देशको चिन्ता कसैले अभिव्यक्ति गर्छ भने ऊ देशलाई माया गर्छ। असहमतिलाई स्वागत नगरे हामी कतै पनि पुग्दैनौं।